काठमाडौँ ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाको भोटो आज देखाइएकाे छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।
हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा शनिबार अपराह्न भोटो देखाइएको हो ।
रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मंगलबजार, टंगाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार यस वर्षको रथयात्रासमेत सम्पन्न भएको छ । यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ ।
मच्छिन्द्रबहालस्थित मन्दिरबाट मूर्ति बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । करिब एक हजार ६०० वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म चल्छ । भोटो देखाएकै दिन मूर्तिलाई खटमा राखी बुंगमती पुर्याउनुपर्ने परम्पराअनुसार आजै त्यहाँ पुर्याइनेछ ।









प्रतिक्रिया दिनुहोस्