कमल डाँगी । नेपालगन्ज।
स्थापनाको लामो समय बित्दासमेत बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्र्याउन सकेको छैन । हालसम्म आन्तरिक पूर्वाधार निर्माणमा मात्रै ध्यान दिइरहेको निकुञ्ज प्रशासनले अब भने पर्यटक बढाउने ‘रोडम्याप’ अनुसार अघि बढ्ने जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाह भन्छन्, ‘बाँके निकुञ्जमा पर्यटकलाई जाउँ–जाउँ लाग्ने बनाउँदै छौँ ।’ देशकै कान्छो निकुञ्ज स्थापनाको एक दशकपछि पर्यटक तान्ने रणनीति बनाइएको हो । बर्दिया निकुञ्जपछि बाँके निकुञ्ज लुम्बिनी प्रदेशको दोस्रो निकुञ्ज हो ।
बर्दियामा पर्यटकीय गतिविधि बढिरहेको भए पनि बाँके निकुञ्ज भने बामे सर्दै छ । अब भने पर्यटकीय गतिविधि बढाउने गरी काम भइरहेको निकुञ्ज प्रमुख शाह बताउँछन् । बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय पूर्वाधार नभएको पनि होइन । होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिका पूर्वाधार तयारी अवस्थामा छन् । तर त्यसलाई परिस्कृत गरेर पर्यटक तान्न सकिएको छैन ।
निकुञ्ज प्रमुख शाह भन्छन्, ‘हालसम्म जे जस्तो भए पनि अबको दुई वर्षभित्र चुरेको बाटो खोल्ने, सम्भावना भएका सबै प्रवेशद्वारबाट पर्यटनको गतिविधि सञ्चालन गर्ने योजना बनाएका छौं ।’ उनले ओभरीबाट पर्यटकीय गतिविधि, वनपथ, पानी, घाँसेमैदान सुधार र सञ्चालनमा आउन बाँकी पोष्ट तत्काल सञ्चालन गरिने बताए ।बाँके निकुञ्जसँगै जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने जग बसालेका कृष्णलाल चौधरीले बाँकेका लागि सबैभन्दा बढी पर्यटक तान्ने ठाउँ छिमेकी देश भारत भए पनि त्यहाँबाट आउनेहरूलाई सीमामा अनेक अड्चन खडा गरिने गरेको बताए ।
‘भारतीय पर्यटकलाई आर्कषक गर्ने गरी कामहरू गर्नुपर्नेमा अनेक अड्चन गरिने गरिएको छ,’ उनले भने । गाभरमा मात्रै वार्षिक २५ हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । त्यहाँ आउने पर्यटकलाई निकुञ्जसम्म ल्याउने गरी काम हुने निकुञ्ज प्रमुख शाह बताउँछन् । बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउने, घाँसे मैदानहरू व्यवस्थित गर्ने, पानी पोखरी निर्माण गर्ने, अग्निरेखा निर्माण गर्नेलगायतका कामहरू भइरहेका छन् । बाघसँगै दुर्लभ मानिने चौका निकुन्जमा प्रशस्त छन् ।
११ किसिमका दुर्लभसहित ३४ किसिमका स्तानधारी, ५० दुर्लभसहित ३ सय किसिमका पन्छी, २ दुर्लभसहित २४ घस्रने, ५ दुर्लभसहित ५५ बढी प्रजातिका माछा गरी ४ सय २२ भन्दा बढी प्रजातिका जीवजन्तु निकुञ्जमा छन् ।
निकुञ्ज तराई, भावर र चुरे क्षेत्रमा फैलिएकाले तीनै किसिमको हावापानी र वनस्पति भएको क्षेत्र हो । निकुन्जमा पर्ने चुरे पहाडमा चुरेमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेको प्रमुख संरक्षण अधिकृत शाहले बताए ।
निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र ¥याफटिङको व्यवस्थाका लागि सम्भाव्यता अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै, ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ । गिद्देनीचौरमा मचान निर्माण गरी जंगल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जंगल ड्राइभको व्यवस्था गरिएको छ ।
गाभर भ्याली होमस्टे क्षेत्रका रूपमा विकास हुँदै छ । गाभरमा थारू, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्ने क्रममा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनःस्थापना गराइएको थियो । रैथाने थारू समुदाय पनि ४० सालदेखि यहाँ बस्दै आएका छन् ।
वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । पारिवारिक बसाइ र सार्वजनिक कार्यक्रमका लागि होमस्टेको लोकप्रियता बढदै गएको छ । हाल पाँचवटा घरमा होमस्टेको सुविधा रहेकोमा यो वर्षभित्रै थप दशवटा घरमा होमस्टे विस्तार गर्ने योजना रहेको होमस्टे सञ्चालक कृष्ण चौधरी बताउँछन् ।
होमस्टेमा हिमाली फापरको रोटी, कोदोको ढिँडो र सिमीको दाल तथा थारू समुदायको सिद्रा, ढिक्री, घोँघी उपलब्ध छ । होमस्टे सञ्चालकले बाँके र बर्दिया निकुञ्जमा जंगल सफारीको प्याकेज सञ्चालन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्