महेन्द्रनगर (धनुषा) ।
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रभावकारी सञ्चार प्रणाली र दक्ष जनशक्ति निर्माण बिना लोकतान्त्रिक शासन प्रणाली सुदृढ हुन नसक्ने बताएका छन् । बर्दिबासमा आमसञ्चार प्राधिकरण मधेस प्रदेशद्वारा आज आयोजित प्रशिक्षक प्रशिक्षण टिओटी कार्यक्रममा मन्त्री महतोले सूचना प्रवाहलाई व्यवस्थित, विश्वसनीय र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।
उनले सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि गरी गलत सूचना नियन्त्रण, सुशासन प्रवर्द्धन र नागरिक सशक्तिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । मन्त्री महतोले प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धिका लागि आवश्यक नीति, कार्यक्रम र सहयोग निरन्तर अघिबढाइने जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति९रासस०का पूर्वअध्यक्ष धर्मेन्द्र झाले सञ्चार क्षेत्रको विश्वसनीयता कायम राख्न तथ्यमा आधारित समाचार सम्प्रेषण अनिवार्य रहेको बताए । उनले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारिता थप जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए । त्यसैगरी, आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले प्रदेशमा सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन प्राधिकरण सक्रिय रूपमा लागेको बताए । उनले प्रशिक्षक उत्पादनमार्फत दीर्घकालीन रूपमा सञ्चार क्षेत्रको गुणस्तर सुधार गर्ने लक्ष्य लिइएको स्पष्ट पारे।
तीन दिनसम्म सञ्चालन हुने सो तालिममा विभिन्न जिल्लाबाट सहभागी सञ्चारकर्मी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सञ्चार नीति, सूचना व्यवस्थापन, तथ्य जाँच फ्याक्ट–चेक, डिजिटल मिडिया प्रयोग तथा प्रशिक्षकका रूपमा दक्षता विकाससम्बन्धी विषयमा प्रशिक्षण हुनेछ । रासस









प्रतिक्रिया दिनुहोस्