शिवशिखर सहकारीको ठगी : बाँकेमा एउटै बचतकर्ताको ७३ लाखसम्म ठगी



बाँकेमा नौ जनालाई प्रतिवादी बनाएर ३२ सय ९७ जनाले ठगीको उजुरी दिएका छन् । शिवशिखरविरुद्ध ठगीको उजुरी गरेकाहरूले ४८ करोड ७८ लाख ६४ हजार रुपैयाँको बिगो दाबी गरेका छन् । प्रहरीका अनुसार बचतकर्ताले ५ हजारदेखि एउटै व्यक्ति ७३ लाख रुपैयाँसम्म ठगिएको भन्दै उजुरी दिएका छन् ।

नेपालगन्ज ।

बाँकेमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले एउटै व्यक्तिको ७३ लाख रुपैयाँसम्म ठगेको छ । धेरै ब्याज दिने प्रलोभन दिएर उक्त सहकारीले सर्वसाधारणदेखि ठूला व्यवसायीबाट निक्षेप संकलन गरेको थियो । तर फिर्ता गर्नु त कहाँ हो कहाँ सहकारी नै बन्द गरेर हिँडेपछि निक्षेपकर्ताहरू ‘घर न घाट’को अवस्थामा पुगेका छन् ।

निक्षेपकर्ताको पैसा ठगी गर्ने सहकारीविरुद्ध कानुनी प्रक्रिया चलिरहेको छ । बाँकेमा नौ जनालाई प्रतिवादी बनाएर ३२ सय ९७ जनाले ठगीको उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार हालसम्म शिवशिखरविरुद्ध ठगीको उजुरी गरेकाहरूले ४८ करोड ७८ लाख ६४ हजार रुपैयाँको बिगो दाबी गरेका छन् ।

डाँगीका अनुसार ५ हजारदेखि एउटै व्यक्ति ७३ लाख रुपैयाँसम्म ठगिएको भन्दै उजुरी प्राप्त भएको छ । ‘केन्द्रीय अध्यक्षसहित नौ जनाविरुद्ध उजुरी परेको छ । हामीले यो विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी डा“गीले भने ।

उनका अनुसार पहिलो चरणमा उजुरी आह््वान गरिएकोमा उजुरी प्राप्त भएको छ भने अब थप अनुसन्धान भइरहेको छ । अब पनि उजुरी गर्न मिल्ने उनले जानकारी दिए ।

बा“केमा नेपालगन्जको न्युरोड र कोहलपुरलगायतका ठाउ“मा शाखा खोलेर शिवशिखरले कारोबार गर्दै आएको थियो । तर बचत फिर्ता गर्न नसकेपछि उक्त सहकारीमा तालबन्दी गरिएको छ । हालसम्म पनि सहकारी सञ्चालनमा छैनन् ।

ठूलो आर्थिक अपचलन भएपछि अहिले उक्त सहकारी टाट पल्टिएको छ । बचतकर्ताहरूको लाखौँ करोडौँ रुपैयाँ गुम्ने भन्दै बचतकर्ता आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । आर्थिक अनियमिततासँगै कारोबार सबै डामाडोल भएपछि यतिबेला नेपालगन्जको न्युरोडमा सहकारीमार्फत सञ्चालित शिवशिखर मार्ट र कार्यालयमा ताला लगाइएको छ ।

सुनौलो भविष्यका लागि आफूहरूले खाइनखाई गरी कमाएर जम्मा गरेको पैसा सहकारीले फिर्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बचतकर्ता बताउँछन् ।

‘वर्षौं लगाएर जम्मा गरेको रकम परेको बेला काम लाग्ला ठानियो,’ पीडित कोहलपुर–१ का बिक्रम खड्काले भने, ‘अब अहिले त्यही पैसा पाउन प्रहरीकोमा धाइरहनुपरेको छ ।’ सहकारीले आफ्ना बचतकर्तालाई आफ्नो ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’बाट पैसाबराबरको सामान लैजानसमेत दबाब दिइरहेको थियो ।

कतिले त सामान पनि लगे तर धेरै पैसा जम्मा गरेकाहरूले त्यसो पनि गर्न सकेनन् । शिवशिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको यो सहकारीका देशभर ३३ भन्दा बढी शाखा छन् ।

उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ । शिवशिखर सहकारीमा सामान्य आम्दानी भएका, साना व्यवसायी, अटो रिक्सा चालकलगायत मध्यम स्तरका व्यवसायीले बचत गर्दै आएका थिए । तर पैसा नपाउँदा उनीहरू निराश छन् ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परिसकेका छन् । भारतीय प्रहरीको सहयोगमा उनलाई मुम्बईबाट पक्राउ गरिएको हो । काठमाडौँमा उनीलगायतका विरुद्ध मुद्दा दर्ता भई कानुनी प्रक्रिया अघि बढेका कारण जिल्लामा अब मुद्दा चल्ने सम्भावना छ ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार