सुर्खेत ।
सुर्खेत विमानस्थलबाट रात्रिकालीन उडानका लागि भौतिक पूर्वाधारको काम अगाडि बढाइएको छ ।
विमानस्थलबाट तीन महिनाभित्रै रात्रिकालीन उडान थाल्ने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको हो । नागरिक उड्डयन प्राधिकरणको आठ करोड लगानीमा अहिले विमानस्थलको रनवेमा काम भइरहेको छ ।
विमानस्थल प्रमुख राजन ढुंगेलका अनुसार आइकाओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान हुनेछ । यसका लागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरिसकेको छ । सुर्खेत विमानस्थललाई प्राधिकरणले बत्ती जडानका लागि भनेर चालु आर्थिक वर्षमा बजेटको व्यवस्था गरेको थियो ।
‘ठेक्का प्रक्रिया अगाडि नै सुरु भएको हो । चालु आर्थिक वर्षमा बजेट विनियोजन हुने समयमा नै बजेट आएको हो,’ विमानस्थल प्रमुख ढुंगेलले भने, ‘यो बजेट अहिले तत्काल आएको होइन ।’
काम गर्ने जिम्मा प्राधिकरणले नै लिएको बताउँदै बत्ती जडानबारे सिंगल या डबल कुन सर्किट बनाउने भन्ने अहिले नै भन्न नसकिने उनले बताए । पूर्वाधार नहुँदा विमानस्थलबाट दिउँसोको समयमा मात्र उडान अवतरण हुने गरेको छ । विमानस्थलबाट काठमाडौँ र कर्णालीका हिमाली जिल्लामा उडान हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्