महासचिव गुटेरेसको नेपाल भ्रमणको औचित्य



विश्वका शक्ति राष्ट्रहरूको अति महत्वाकांक्षा र निरन्तर बदलिँदै गएको शक्ति सन्तुलनको मारमा अहिले स्वयम् संयुक्त राष्ट्रसंघ कतै आफैँ निकै निरीह हुँदै गएको त होइन भन्ने प्रश्न उठेको छ । हालैको युक्रेन संकट र मध्यपूर्वमा यो संस्थाले आफ्नो भूमिकालाई अपेक्षित रूपमा देखाउन नसकेको कुरा जगजाहेर छ । कतिपय अवस्थामा संयुक्त राष्ट्रसंघले गरेका अनुरोध र आह्वानलाई शक्ति राष्ट्रहरूले बेवास्ता नै गरेको देखिन्छ । नवउदारवादी शक्तिहरू पनि त्यहाँ आफ्नो भूमिकालाई लिएर अलमलमा परेको देखिन्छ ।

सागर गैरे ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस यतिबेला नेपाल भ्रमणमा छन् । चारदिने नेपाल भ्रमणका क्रममा आइतबार शनिबार राति उनी नेपाल आइपुगेका हुन् ।

उनले चारदिने भ्रमणका क्रममा नेपालका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने र कात्तिक १४ गते नेपालको संसदलाई सम्बोधन समेत गर्ने कार्यक्रम छ । त्यस्तै भ्रमणका अवसरमा उनले नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै उनले बुद्ध जन्मभूमि लुम्बिनीको समेत यो अवसरमा भ्रमण गर्ने छन् ।

यो नेपालका लागि शौभाग्यको कुरा हो । विश्वका उच्च कूटनीतिक व्यक्तित्वको भ्रमणले विश्वमा नेपालको सान अवश्य बढाएको छ । उनको नेपाल आगमनले कुनै पनि नेपाली खुसी नहुनुपर्ने कारण छैन । उनको आगमनबाट नेपालले आयामिक रूपमा फाइदा लिन सक्नेछ ।

तर एउटा विश्व नागरिकको आँखाबाट हेर्ने हो भने महासचिव गुटेरेसको यो भ्रमणको कति औचित्य रहला विवेचनाको विषय हुनसक्छ । विश्व राजनीतिक रङ्गमञ्चमा विश्वयुद्धको खतरा मडारिइहेको वर्तमान परिवेशमा राष्ट्रसंघका महासचिवको कुनै मुलुकको पर्यटकीय भ्रमणले विश्वमा कस्तो सन्देश प्रवाह गर्ला ? प्रश्न उठ्नु स्वाभाविक छ ।

यतिबेला इजरायल–हमास युद्व चर्किएको छ । युक्रेन–रुस लडिरहेका छन् । युद्धरत् कुनै पनि राष्ट्र युद्धबाट पछि हट्ने संकेत देखाएका छैनन् । अझ शक्ति राष्ट्रहरूले यो युद्धमा आगोमा घिऊ थप्ने काम गरिरहेका छन् । आफ्नो स्वार्थमा उनीहरू युद्धलाई नै मलजल गरिरहेका छन् । विश्वयुद्वको खतरा बढेर गएको छ ।

यस्तो बेला संयुक्त राष्ट्रसंघका महासचिव नेपालमा पर्यटकीय घुमघाममा व्यस्त छन् । नेपालजस्तो कमजोर मुलुकमा यहाँका राजनीतिक दलका नेता, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर उनी के सन्देश दिन चाहन्छन् ? प्रश्न गम्भीर छ ।

महासचिव गुटेरेस विश्व राजनीतिमा देखिएको पछिल्लो तनावप्रति निश्चिन्त देखिन्छन् । उनले इजरायलले प्यालेस्टाइनमा नरसंहार गरेको वक्तव्य त दिएका छन् । तर के यत्तिकैमा संयुक्त राष्ट्रसंघको महासचिवको कूटनीतिक पहल सकिन्छ र ?

संयुक्त राष्ट्रसंघको स्थापना

संयुक्त राष्ट्रसंघको स्थापना नै प्रमुख रूपमा विश्वमा स्थायी शान्ति स्थापनार्थ भएको हो । दोस्रो विश्वयुद्धको समाप्तिपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको गठन भएको हो । यसका संस्थापक देशहरूमा चीन, फ्रान्स, सोभियत युनियन, बेलायत र अमेरिका हुन् ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्युयोर्क सहरमा अवस्थित छ । यसको निर्माण १९५१ मा भएको हो । संयुक्त राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र रहेका छन् । प्रत्येक सदस्य राष्ट्रले जनरल एसेम्ब्लीमा एउटा सिट पाउँछ । संयुक्त राष्ट्रसंघले आफ्नो अफिसियल भाषाको रूपमा ६ वटा भाषा चिनियाँ, अंग्रेजी, फ्रेन्च, रसियन र स्पेनिसलाई मान्यता दिएको छ ।

संयुक्त राष्ट्रसंघको आफ्नै सैनिक छैन ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली एजेन्सी सुरक्षा परिषद् हो ।

सुरक्षा परिषद्का पाँच राष्ट्र जसले भिटोपावर प्रयोग गर्छन् । चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र हुन् । कुनै पनि विवादमा भोटिङ गर्दा कुनै एक भिटोपावर मुलुकले मुद्दाको विपक्षमा मतदान गर्नेबित्तिकै उक्त प्रस्ताव स्वतः बदर भएको मानिन्छ ।संयुक्त राष्ट्रसंघको आफ्नै अलग्गै आयस्रोत नभएकाले सदस्य राष्ट्रहरूले नै यसको व्ययभार व्यहोर्दछन् ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो दाता अमेरिका हो जसले खर्चको २२ दशमलव ५ प्रतिशत योगदान गर्छ । त्यसरी नै जापानले ९ दशमलव ६८५ र चीनले ७ दशमलव ९२ प्रतिशत योगदान दिन्छन् । क्रमशः जर्मनी, फ्रान्स, बेलायत, ब्राजिल, इटली, रुस र क्यानडा थप ठूला दाता रहेका छन् ।

विश्वका ठूला २० सदस्य राष्ट्रले संयुक्त राष्ट्रसंघको झन्डै ८४ दशमलव ५ प्रतिशत खर्चको दायित्व बहन गर्दछन् ।

भारत संयुक्त राष्ट्रसंघलाई सहयोग गर्ने २४औँ राष्ट्र हो ।

युएनको झण्डाको रङ नीलो हुन्छ । नीलो रङ शान्तिको प्रतीक हो । रातो रङले खतरा र युद्धको संकेत गर्दछ भने नीलो रङले शान्तिको ।
विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरूमा शान्ति स्थापनाका लागि शैन्य सहयोग, त्यहाँका द्वन्द्वपीडितहरूलाई खाद्य,औषधि, शुद्व पानीलगायत अन्य मानवीय राहत सामग्री उपलब्ध गराउनेजस्ता कार्यमा पनि यो संस्था स्थापनाकालदेखि लागिपरेको छ ।

स्वास्थ्य, वातावरण र खाद्यान्नमा पनि संयुक्त राष्ट्रसंघको भूमिका प्रभावकारी मानिन्छ ।

संयुक्त राष्ट्रसंघ र नेपाल

नेपालले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो । सदस्यता पाएलगत्तै नेपालले सन् १९५६ मा संयुक्त राष्ट्रसंघको साधारण सभामा पहिलोपटक भाग लिएको थियो ।

सन १९६९–७० र सन् १९८८–८९ गरी दुई पटक नेपाल संयुक्त राष्ट्रसंघको अस्थायी सदस्य राष्ट्रको रूपमा समेत निर्वाचित भएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त राष्ट्रसंघको शान्तिसेनामा कैयौँ वर्षदेखि भाग लिँदै आएका छन् । राष्ट्रसंघको शान्ति मिसनमा सन् १९५८ देखि नै नेपालले भाग लिँदै आएको हो ।

संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको रूपमा नेपालले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निभाएको छ । नेपालमा चलेको एक दशक लामो माओवादी सशस्त्र द्वन्द्व अन्त्य भएलगत्तै नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रसंघले विशेष भूमिका निभाएको थियो । उसको नियोग अन्मिन नेपालमा सन् २००७ सालदेखि २०११ सम्म क्रियाशील रहेको थियो ।

राष्ट्रसंघले गुमाउँदै गएको साख

त्यसो त युएनलाई जेन्टलम्यानहरूको क्लबसमेत भन्ने गरिन्छ । उसले सुझाव मात्रै दिन सक्छ, आदेश दिन सक्दैन ।

स्थापनाकालमा संयुक्त राष्ट्रसंघले विश्वभरि छरिएर रहेका ठूला–साना, कमजोर–शक्तिशाली सम्पूर्ण राष्ट्रहरूको आत्मरक्षा, सार्वभौमसत्ता, मानवअधिकारलगायत भाषाभाषी, लोपोन्मुख समुदायको हकहितको न्यायोचित संरक्षण तथा विश्व परिदृश्यमा उनीहरूको संरक्षण र दिगो विकासमा निर्णायक भूमिका खेल्ने अपेक्षासहित यसको स्थापना गरिएको हो ।

विश्वका शक्ति राष्ट्रहरूको अति महत्वाकांक्षा र निरन्तर बदलिँदै गएको शक्ति सन्तुलनको मारमा अहिले स्वयम् संयुक्त राष्ट्रसंघ कतै आफैँ निकै निरीह हुँदै गएको त होइन भन्ने प्रश्न उठेको छ । हालैको युक्रेन संकट र मध्यपूर्वमा यो संस्थाले आफ्नो भूमिकालाई अपेक्षित रूपमा देखाउन नसकेको कुरा जगजाहेर छ ।

कतिपय अवस्थामा संयुक्त राष्ट्रसंघले गरेका अनुरोध र आह्वानलाई शक्ति राष्ट्रहरूले बेवास्ता नै गरेको देखिन्छ । नवउदारवादी शक्तिहरू पनि त्यहाँ आफ्नो भूमिकालाई लिएर अलमलमा परेको देखिन्छ ।

संयुक्त राष्ट्रसंघको विकल्प भनेको संयुक्त राष्ट्रसंघ नै हो । योभन्दा अझै जिम्मेवार र पारदर्शी संयुक्त राष्ट्रसंघ । झट्ट हेर्दा प्रत्येक वर्ष वार्षिक साधारणसभा आयोजना गरेर आफूलाई सक्रिय देखाउने प्रयास गरे पनि क्षेत्रीय रूपमा उदाएका जी ७, बिआरआई, नेटो, क्वाड, इन्डोप्यासिफिक सैन्य गठबन्धन जस्ता विभिन्न सुरक्षा समूहहरूले संयुक्त राष्ट्रसंघका घोषित उद्देश्यहरूलाई बिस्तारै यसको उपादेयता र औचित्यमाथि नै प्रश्न उठाइरहेजस्तो पनि देखिन्छ ।

हामी केही वर्ष पहिलेसम्म पनि संयुक्त राष्ट्रसंघका महासचिवहरू बुत्रोस बुत्रोस घाली, कोफी अन्नान, बान्की मुनका नाम चाहेर नचाहेर रेडियोमा सुन्थ्यौँ । यस्तो लाग्थ्यो, संयुक्त राष्ट्रसंघले जस्तोसुकै विश्व परिस्थितिमा भिटोपावर देशलाई समेत आफूमाथि हावी हुन रोकेको जस्तो लाग्थ्यो ।

अहिलेको अवस्था त्यस्तो छैन । संयुक्त राष्ट्रसंघ आफैँमा विभाजित मानसिकताले ग्रसित जस्तो देखिन्छ ।

को हुन् गुटेरेस ?

एन्टोनियो गुटेरेस पोर्चुगिज राजनीतिज्ञ र कूटनीतिज्ञ हुन् । उनी सन् २०१७ देखि राष्ट्रसंघको नवौँ महासचिवका रूपमा रहेका छन् । महासचिवको कार्यकाल पाँच वर्षको हुन्छ ।

७४ वर्षीय गुटेरेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्री रहेका थिए । संयुक्त राष्ट्रसंघको स्थापना हुँदा उनी मात्र चार वर्षका थिए ।
यसअघि संयुक्त राष्ट्रसंघकै उ थान्त, कोफी अन्नान, बान्की मुनलगायत ६ जना महासचिवहरूले नेपालको भ्रमण गरेका थिए ।

नेपालजस्ता अल्पविकसित र साना देशहरूका लागि संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय संघसंगठनको विशेष महत्व हुन्छ । यति ठूलो संस्थाका महासचिव नेपाल आउनु पक्कै पनि महत्वपूर्ण कुरा हो ।

नेपालको अपेक्षा

संयुक्त राष्ट्रसंघका महासचिवसँग हाम्रा खासै ठूला अपेक्षा छैनन् ।

नेपालजस्तो पहाडी मुलुक जो संवेदनशील भूगोलमा छ । हाम्रा हिमाली डाँडा हिँउविहीन भएका छन् । केही वर्षअगाडि पोखरामा अचानक आएको बाढी र क्षति हामीले बिर्सिएका छैनौँ । गत महिना मुस्ताङमा बाढीले पु¥याएको विनाश होस् या गत वर्ष सिक्किममा हिमताल फुटेपछि आएको बाढी र विनाश हाम्रासामु ताजै छन् ।

जलवायु परिवर्तनको असरबाट हामीले हाम्रो भूगोललाई कसरी जोगाउन सक्छौँ ? भूराजनीतिक जटिलतामा नेपालजस्ता कमजोर राष्ट्रले आफूलाई कसरी सुरक्षित राख्न सक्छौँ ? भन्ने कुरा नै प्रमुख विषय हुन् । राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण नेपाली नागरिकका लागि सुखद् विषय हो । उनको नेपाल यात्रा सफल रहोस् । नेपालजस्ता साना र अल्पविकसित राष्ट्रहरूले भोगिरहेका समस्यामा राष्ट्रसंघको नेतृत्वको ध्यान पुग्न सकोस् ।

साथै विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमिको भ्रमणबाट संयुक्त राष्ट्रसंघका महासचिवलाई विश्व राजनीतिक रङ्गमञ्चमा अहिले देखिएका युद्धहरूलाई रोक्ने र विश्वमा शान्ति स्थापना गर्ने शक्ति प्राप्त होस् । शुभकामना !

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार