21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

स्त्री शरीर : युद्धमा सधैँ ‘हतियार’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०८०  

संगीता श्रेष्ठ ।

दुई देशबीच होस् वा दुई समुदायबीचको द्वन्द्व, त्यसको नकारात्मक परिणाम महिलाले नै भोग्नुपर्छ । रिस साँध्ने माध्यम महिलालाई बनाइन्छ । भूगोल, धर्म, जाति, समुदायको युद्धमा स्त्रीको शरीर ‘हतियार’ बन्छ । अनि बलात्कार र यौनहिंसाको भयावह अवस्थामा तिनै महिला पर्न विवश हुन्छन् ।

शक्ति, सत्ता र प्रतिष्ठाका लागि हुने युद्धमा प्रायः प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् पुरुष । अनि तारो बनाइन्छ महिलालाई । पुरुषसत्तात्मक समाजमा युद्धमा पुरुषत्व देखाउनुपर्ने हुन्छ । युद्धभूमिमा पराक्रम देखाउन दुई पक्षले आ–आफ्नो तर्फबाट भरपुर प्रयास गर्छन् ।

शक्ति र घृणाको लडाइँमा जघन्य हिंसा हुन्छ । जसको मूल्य महिलाले चुकाउनुपर्छ । महिलाविरुद्ध यौनहिंसा गरेर युद्धमा एक पक्षले आफूलाई बलियो र विजेता साबित गर्न चाहन्छ । युद्ध र हिंसामा स्त्री शरीरलाई निसाना बनाइएका घटना असंख्य छन् । त्यसको पछिल्लो उदाहरण हो भारतको मणिपुर राज्यमा भएको घटना ।

मणिपुरमा मे महिनादेखि मैतई र कुकी समुदायबीच जातीय हिंसा सुरु भयो । हिंसा अझै जारी छ । जुलाई १९ मा मणिपुरमा महिलाविरुद्ध भएको यौनहिंसाको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । हिंसा सुरु भएको भोलिपल्टको त्यस घटनामा कुकी समुदायका दुई महिलालाई निर्वस्त्र बनाई लखेटिएको छ ।

मणिपुरको कांगपोकपी जिल्लाको बी फैनोम गाउँमा यौन दुव्र्यवहारको त्यो घटना भएको थियो । घटनासँग सम्बन्धित उजुरीमा एक युवतीसँग सामूहिक बलात्कारसमेत भएको बताइएको छ । भिडिओेमा मैतई समुदायका सयौँ पुरुषले ती महिलालाई खेदिरहेका छन् । केही पुरुषले नग्न महिलालाई छोएको पनि देख्न सकिन्छ । भिडियोेले युद्धको त्यो भयावह रूप देखाएको छ, जसमा महिलालाई हतियारका रूपमा प्रयोग गरिन्छ भन्ने स्पष्ट हुन्छ ।

जातीय हिंसामा महिलाविरुद्ध भएको यो एउटा मात्र घटना होइन । यौनहिंसाको भिडियोे बाहिरिएपछि मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले महिलाविरुद्ध यस्ता थुप्रै घटना भएको जानकारी दिए । ‘यस्ता सयौँ घटना भएका छन्,’ भारतीय सञ्चारमाध्यमसँग उनले भनेका छन्, ‘त्यसैले हामीले इन्टरनेट बन्द ग¥यौँ ।’

० ० ० ० ०

युद्धमा बलात्कार र यौनहिंसा गरेर महिलालाई प्रताडित गरिएको यो पहिलो घटना भने होइन । इतिहासमा भएका हरेक युद्धमा महिला यसैगरी यौन दुव्र्यवहारमा परेका छन् । फ्रान्सका फ्रेबिस भर्जिलको एउटा लेख ‘सेक्सुअल भ्वाइलेन्स इन टाइम्स अफ वार’ले युद्धमा महिलाविरुद्ध भएका यौनहिंसाबारे जानकारी दिन्छ ।

लेखक, इतिहासकार र शोधकर्ता भर्जिल लामो समयदेखि लैंगिक हिंसाबारे अनुसन्धान गर्दै आएका छन् । यौनहिंसामा आधारित उनका अध्ययन मार्मिक मानिन्छन् । संसारभर भएका हरेक युद्धमा महिलाविरुद्ध यौन दुव्र्यवहारका घटना भएको उनको निष्कर्ष छ । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका पूर्वकमान्डर मेजर जनरल प्याट्रिक क्यामर्टले युद्धमा हुने शारीरिक शोषणलाई ‘चिप’ हतियार भनेका छन् ।

‘चिप’ अर्थात् तुच्छ । ‘सशस्त्र द्वन्द्वमा महिला हुनु सिपाही हुनुभन्दा खतरनाक हुन्छ । युद्धमा हुने यौनहिंसाले महिलालाई त्रसित बनाउँछ । उनीहरूलाई सामाजिक जीवनबाट वञ्चित गर्छ ।’ इतिहासदेखि वर्तमानसम्म युद्धमा भएका महिलाविरुद्ध हिंसाका घटनाले उनको त्यस भनाइलाई सत्य साबित गरिरहेका छन् । जर्मनी, अमेरिका, जापानलगायत विश्वभरिका सेनाले युद्धका क्रममा यौनहिंसालाई हतियारका रूपमा प्रयोग गरेका छन् ।

राष्ट्रसंघको तथ्यांकअनुसार बंगलादेश मुक्ति आन्दोलनमा दुईदेखि चार लाखसम्म महिलाको शारीरिक शोषण भएको थियो । सन् १९९० मा भएको बोस्नियाली युद्धमा पनि बलात्कारलाई हतियारका रूपमा प्रयोग गरिएको थियो । त्यस सशस्त्र द्वन्द्वमा हिंसा नीतिअन्तर्गत महिलाविरुद्ध यौनहिंसाका घटना भएका थिए । एउटा समुदाय सखाप पार्ने उद्देश्यले बलात्कारलाई आतंक र मुख्य रणनीतिको रूपमा प्रयोग गरियो । युद्धमा १० हजारदेखि ५० हजार महिला बलात्कृत भएको राष्ट्रसंघको अनुमान छ ।

रुवान्डामा नरसंहारका क्रममा तुत्सी महिलामाथि नियोजित ढंगले बलात्कारका घटना भएका थिए । सन् १९९४ मा रुवान्डामा तीन महिनासम्म चलेको नरसंहारमा २ लाख ५० हजार महिलामाथि यौनहिंसा भएको थियो । तुत्सीहरूको विनाश गर्न हुतु समुदायका राजनीतिक र सैन्य नेताहरूद्वारा मिलिसियालाई यौनहिंसाका लागि निर्देशित गरिएको थियो ।

राष्ट्रसंघको एक रिपोर्टमा सन् १९९१–२००२ भएको सिएरा लिओन गृहयुद्धमा ६० हजारभन्दा बढी, सन् १९८९–२००३ लाइबेरियामा ४० हजारभन्दा बढी, सन् १९९२–१९९५ पूर्व युगोस्लाभियामा ६० हजारभन्दा बढी र सन् १९९८ मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा २ लाखभन्दा बढी महिलाको बलात्कार युद्धका क्रमा भएको थियो ।

एक वर्षयता चलिरहेको रुस–युक्रेन युद्धमा पनि महिलाहरू यौनहिंसाका सिकार भएका छन् । बेलायती पत्रिका ‘द गार्जियन’मा प्रकाशित समाचारअनुसार युक्रेनको राजधानी किएभमा रुसी सेनाद्वारा हत्या गरिएका युक्रेनीहरूको पोस्टमार्टम गर्ने चिकित्सकीय टोलीले हत्याअघि महिलामाथि शारीरिक शोषण भएको खुलाएका थिए ।

भारत–पाकिस्तान विभाजनका बेला ७५ हजारभन्दा बढी महिलाको यौनशोषण भएको तथ्यांक छ । दुई नयाँ राष्ट्रको निर्माणका बेला पनि स्त्री शरीर पुरुषको ‘टार्गेट’ बन्यो । त्यस्तै, कस्मिरमा सेनाद्वारा छानबिनका नाममा महिलाहरूमाथि दुव्र्यवहार गरिएका घटना कति छन् कति । सन् २००२ को गुजरात दंगामा पनि यौनहिंसाका थुप्रै घटना भए ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको एक प्रतिवेदनअनुसार २०५२ देखि २०६३ सम्म भएको नेपालको सशस्त्र द्वन्द्वका बेला महिलामाथि अनेकौँ यातना, बलात्कार र यौनजन्य हिंसाका घटना भए ।

अन्तर्राष्ट्रिय मानवअधिकार कानुन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनले गरेको विश्लेषणमा यौनहिंसाका बहुसंख्यक घटना सुरक्षाफौजले गरेको देखाएको छ । प्रतिवेदनअनुसार सूचीकृत १ सयभन्दा बढी घटनामध्ये १२ वटा घटनामा पीडकहरू माओवादी भएको भनिएको छ । सुरक्षाफौजद्वारा गरिएको भनिएका घटनामध्ये नेपाल प्रहरी र सेनाको संख्या लगभग बराबर छ ।

प्रतिवेदनमा उपलब्ध तथ्यांकअनुसार १८ वर्षमुनिका बालिका द्वन्द्व अवधिभर जोखिममा रहे । यौनहिंसाका पीडितमध्ये एक तिहाइभन्दा बढी बालिका थिए र तीमध्ये पनि धेरैजसो १५ वर्षमुनिका । दस वर्षभन्दा कम उमेरका पीडित भएका घटना पनि छन् । सुरक्षाफौजका कर्मचारीद्वारा प्रायः खानतलासका क्रममा गरिएको भनिएको यौनहिंसाका घटनाले थुप्रै पीडितलाई असर पु¥यायो । गर्भवती तथा मनोरोगी महिलामाथि यौन दुव्र्यवहार गरिएको घटना पनि रहेको प्रतिवेदनमा लेखिएको छ ।

‘आवर बडिज, देअर ब्याटलफिल्ड ः ह्वाट वार डज टू वुमेन’ किताबमा लेखक क्रिस्टिना ल्याम्बले युद्धमा महिलाविरुद्ध भएका हिंसाका घटनालाई समेटेकी छन् । ‘सन् १९१९ मा बलात्कारलाई एक अन्तर्राष्ट्रिय युद्ध अपराध घोषित गरिएको थियो,’ किताबमा उनले लेखेकी छन्, ‘तैपनि अन्तर्राष्ट्रिय अपराध न्यायालयले कसैमाथि मुद्दा नचलाउनु दुःखद हो । यसबाट स्पष्ट हुन्छ, कसरी महिलामाथि जानाजान युद्ध रणनीतिअन्तर्गत यौनहिंसा हुनेगर्छ ।’

सन् १९९३ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले ‘सिस्टमेटिक रेप’ र ‘आम्र्ड सेक्सुअल स्लेभरी’लाई मानवताविरुद्ध अपराधको श्रेणीमा राखेको छ । महिलाको मानवअधिकार उल्लंघनका रूपमा दण्डनीय घोषित गरेको छ । सन् १९९५ मा चौथो विश्व महिला सम्मेलनमा राष्ट्रसंघले ‘युद्धका क्रममा सशस्त्र समूहद्वारा गरिएको बलात्कार युद्ध अपराध हो’ भनेर घोषणा गरेको छ ।

मानवअधिकार क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ह्युमन राइट वाच’ को एक रिपोर्टअनुसार अन्तर्राष्ट्रिय कानुनले मानवअधिकार उल्लघंनका घटनामा रोक लगाएको छ । साथै दण्डको प्रावधान पनि राखेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत बलात्कार स्पष्ट रूपले प्रतिबन्धित छ ।
भारतको दिल्लीस्थित ‘अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’को रिपोर्टअनुसार युद्धमा हुने लैंगिक हिंसाका विषयमा अहिले पनि सबैको ध्यान गएको छैन । युद्ध र हिंसा भएको ठाउँलाई युद्धको कारकका रूपमा मानिन्छ । त्यहाँ भएका यौनहिंसाका घटनाका अपराधीलाई सायदै दण्डित गरिन्छ । त्यसैले अहिले पनि दुई देश, समुदायबीच हिंसा हुँदा नारीको शरीरलाई निसाना बनाइन्छ ।
सन् २०१३ मा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का बैठकमा बेलायतका विदेश सचिव विलियम हेगले भनेका थिए, ‘बलात्कार युद्धको एउटा हतियार हो भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायले बुझ्नु आवश्यक छ । जसको प्रयोग जीवनलाई नष्ट गर्न, एउटा समुदायलाई सखाप पार्न र सैन्य उद्देश्यलाई प्राप्त गर्न त्यसैगरी गरिन्छ, जसरी गोली र ट्यांकर प्रयोग गरिन्छ ।’

सन् २००९ मा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एमनेस्टी इन्टरनेसनलले बलात्कारलाई गोलीभन्दा पनि सस्तो घोषित गरेको थियो । बेलायती कूटनीतिज्ञ मार्क ब्राउनले यौनशोषण पारम्परिक तोपखानाजस्तै प्रभावी भएको बताएका थिए । ‘यस हतियारलाई प्राप्त गर्न सजिलो छ,’ उनले भनेका थिए, ‘मिसाइल, बारुद जसरी किन्नु पर्दैन । युद्धमा यो सबैभन्दा सस्तो हतियार हो । युद्धमा महिलाको शरीरलाई वस्तुका रूपमा हेरिन्छ । बलात्कारलाई गोली र लैंगिकतालाई बन्दुकका रूपमा प्रयोग गरिन्छ ।’ (साभारः हिमाल प्रेस)

प्रकाशित मितिः आइतवार, कार्तिक १२, २०८०     10:57:51 AM  |