13 July 2024  |   शनिबार, असार ३०, २०८१

दसैँको योजनादेखि देशको योजनासम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०  

जीतबहादुर शाह ।

मुगुमा सुपथ मूल्य पसलले त्यहाँका नागरिकहरूलाई निकै राहत पुगेको कुरा मिडियामा आइरहेको छ । खाद्यान्नको समस्या हुने बझाङमा सरकारी तवरबाट सुपथ मूल्यको पसलको व्यवस्था नहुँदा दसैँको समयमा पनि नागरिकको चुल्होमा आगो नबल्ने हो कि भन्ने पिरलोलाई पनि मिडियाले सम्प्रेषण गरिरहेको छ । दसैँको मौका छोपेर प्लेन र गाडीवालाहरूले नागरिकबाट राम्रोसँग दसैँ मनाउन नपाउने गरी दोहन गरेका कुराहरू पनि सामाजिक सञ्जाल र मिडियामा देख्न र पढ्न पाइन्छ ।

भन्नुको मतलब, दसैँको तामझाम सुरु भएको छ, नेपाली र त्यसमा पनि हिन्दूहरूको माझमा । सरकारले पनि अरू चाडपर्वको तुलनामा यो चाडपर्वमा अलि बढी दिन बिदा दिने गरेको छ शिक्षक र कर्मचारीहरूलाई । विद्यालयहरू त छुट्टी भइसकेका छन् । सरकारी कार्यालयहरू पनि छुट्टी हुने क्रममा छन् । यो सबै छुट्टी मानिसहरूले दसैँका निम्ति लगानी गर्दै छन् । छुट्टीमात्र नभई अलिअलि जोहो गरेको बचत पनि यसैमा लगानी गर्दै छन् र बचत गर्न नसकेकाहरूको हकमा ऋणसापट पनि दसैँ मान्ने आधार हुने गरेको छ । ऋणसापट गरेर दसैँ मनाउनेहरूको निम्ति राम्रोसँग योजना बनाउन सक्ने होइन भने दसैँ दसैँजस्तो नभइ दशा हुने कुरा पनि भुक्तभोगीहरू बताउँछन् ।

दसैँलगायतका चाडपर्वको सन्दर्भमा चिकित्सा मनोविद् डा. पशुपति महतको भनाइ छ– ‘दसैँमा अलि बढी दिन बिदा हुने भएको कारण मानिसहरू दसैँ मनाउने क्रममा सहरबाट आफन्तहरू भएको घरगाउँसम्म फर्कन्छन् । मानिसहरूको बीचको सम्बन्ध सुमधुर बनाउने सवालमा यो दसैँले अद्वितीय भूमिका निर्वाह गर्दछ । यत्तिमात्र नभई मानिसहरूभित्र रहेको आफ्नो जन्मभूमि, थातथलो, गाउँसमाज, रहनसहन र संस्कृतिप्रतिको मनको अन्तरकुन्तरमा रहेको अपनत्वको भावले यतिबेला अङ्कुराउने अवसर पाउँछ ।’ डा. पशुपतिले भनेझैँ यही नै दसैँको सबैभन्दा उच्च तहको सकारात्मक पक्ष हो ।

यसले मानिसहरूको बीचमा सद्भाव, सहसम्बन्ध र सहकार्यको विस्तार गर्न योगदान गर्दछ । मनहरू माझ्नका लागि मिलनको खाँचो पर्ने गर्दछ जुन खाँचोलाई दसैँ पर्वले सम्बोधन गर्दछ । यो पर्वले वर्षौं टाढा रहेका मानिसहरूको बीचमा पुनर्मिलन गराउँदा सुक्न थालेको सामिप्यता र अस्ताउन थालेको आत्मियताले झाँङ्गिने र फक्रिने मौका पाउँछ । दसैँका उल्लिखित सकारात्मक पक्षलाई डग्मगाउन नदिनका लागि केही सावधानी र होसियारी भने अवश्य पु¥याउनुपर्ने हुन्छ ।

पहिलो कुरो त जीवन बनाउन र देश बनाउन योजनाको आवश्यक परेजस्तै दसैँ मनाउन पनि व्यवस्थित योजना हुनुपर्दछ । आफू हाँस्नका लागि आफूसँग भएको अर्को मान्छे पनि हाँस्ने वातावरणमा हुनुपर्दछ । आफूसँग भएको अर्को मान्छे दुःखी छ भने आफू खुसी हुन सकिँदैन । त्यसैले घरपरिवारमा दसैँमा के गर्ने, के खाने, कहाँ जाने आदि कुरामा परिवारका सदस्यहरूको बीचमा राम्रो सहमति र सहकार्य बनाउनु आवश्यक
छ । सहमति र समझदारीबिना नै एउटाको मन दुखाएर परिवारमा कुनै काम गर्न थालियो भने त्यो अवस्थाले कतिपय परिवारका सदस्यका निम्ति दसैँ नै नआएको जस्तो अनुभूत हुन सक्छ ।

त्यसैले आवश्यक परेमा पारिवारिक बैठकसमेत बसेर दसैँैमा के गर्ने, कहाँ जाने, खानपिनको व्यवस्था के गर्ने, स्रोत के कति र कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा परिवारमा समेत पारदर्शिता अपनायौँ भने यसले सबैमा जिम्मेवारीबोधका साथै अपनत्व र खुसी प्रवद्र्धनमा सहयोग गर्दछ । यो वातावरणले विशेष गरी परिवारमा भएका बालबालिकालाई समेत यो घरमा मेरो पनि इज्जत र सम्मान हुने गर्दछ भन्ने कुराको महसुस हुने गर्दछ जुन कुरा बालबालिकालाई सानैदेखि परिवारप्रति जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
सावधानी पु¥याउन सकिएन भने दसैँ नै कतिपयका लागि दशा र दुर्घटनाको केन्द्र पनि बन्न सक्छ ।

मानिसहरू शरीरले थेग्न नसक्ने गरी मदिरापान गर्छन्, आर्थिक हैसियतले धान्न नसक्ने गरी खानपान र लत्ताकपडामा खर्च गर्छन्, दुव्र्यसनकै रूपमा जुवा, तास र लागू पदार्थको सेवन गर्दछन् । छिमेकीको एउटा घरले अनावश्यक फूर्तिफार्ति देखाएको कारणले छिमेकीको अर्को घरमा तनाव र झैझगडाको सिर्जना भइरहेको हुन्छ । बालबालिकाले पल्लो घरको जस्तो विद्युतीय झिलीमिली हामीलाई पनि चाहियो, खानेकुरा, लुगा पनि त्यस्तै चाहियो भनेर घरमा रडाको मच्चाइरहेका हुन सक्छन् ।

त्यसैले अरूको खुसीमा आघात नपर्ने गरी आफूले खुसीको महोत्सव मनाउन सके बुद्धिमानी ठहर्छ । अन्यथा दसैँमा हुने बलिप्रथाले नै एकप्रकारको हत्याहिंसाको वातावरण त पशुपन्छी जगत्मा निम्त्याएको हुन्छ नै । हाम्रा गलत बानी, स्वभाव र प्रवृत्तिहरूले मानव जगत्मा पनि त्यो प्रकारको अप्रिय वातावरण निम्त्याइरहेको अवस्था हुन्छ ।

बलिप्रथालाई पनि पशुपन्छीको बलि दिने प्रयोजनको निम्ति भन्दा पनि आफूभित्र रहेको काम, क्रोध, लोभ, मोह र अहङ्कारलाई बलि दिने प्रयोजनका निम्ति अभ्यस्त गर्न सके हाम्रा चाडपर्वहरू मानवता प्रवद्र्धनमा प्रवृत्त हुने देखिन्छ । त्यही हो, यसका लागि दसैँ मात्तिने किसिमको भन्दा पनि योजनाबद्ध किसिमको हुनु आवश्यक छ ।

सिमानाकातिर हेर्ने हो भने दसैँ हामीलाई भन्दा भारततिरका बजारहरूमा बढी आएको देखिन्छ । सिमानाकामा खटिएका दुवै देशका सुरक्षाकर्मीहरूले केरकार पनि गरेकै हुन्छन्, लाइनमा लगाएर सास्ती पनि दिएकै हुन्छन्, तर पनि नेपालीहरू सीमा जोडिएका भारतीय बजारतिर तानिएकै देखिन्छन् ।

सास्तीलाई भन्दा पनि सस्तोलाई महत्व दिएकाले त्यस्तो भएको होला । यसको अर्को कारण मुलुकप्रतिको मायामा गडबडी भएर पनि होला । यसको दोस्रो कारण मुलुकलाई गरिएको मायाको उचित मूल्याङ्कन नभएको कारणले पनि होला । तेस्रो कारण सत्ताको बागडोर सम्हालेकाहरूबाट उदाहरणीय काम गर्नुको सट्टा आफ्नो निम्ति मात्रै काम गरेको दृष्टान्त टुलुटुलु देखेर पनि होला ।

मुलुकका नागरिकमा देखिएको राष्ट्रप्रतिको अविश्वास र आशङ्काको बादललाई हटाउन केही त गर्ने पर्ने भएको छ । अहिले मुलुक र प्रदेशहरू नयाँ पञ्चवर्षीय योजनाको संघारमा उभिएको अवस्था छ । त्यसकारण पनि मौकामा चौका हान्नुपर्ने अवस्था पनि यही हो जस्तो लाग्छ ।
देशका नीति, योजना र कार्यक्रमहरू तर्जुमा गर्दा चोर दैलोबाट छिर्ने र छिराउने प्रकृतिको नभई व्यापक जनसहभागिताको बीचबाट गरिनुपर्दछ ।

यसकारण कि योजनाको कार्यान्वयनको सवालमा समेत नागरिकको संलग्नता र निगरानी स्वाभाविक रूपले उर्लने गरोस् । कुनै कुनै विद्यालयको विद्यालय सुधार योजनाजस्तो पनि नबनोस् जसमा के गर्ने भनिएको छ र के लेखिएको छ भन्ने कुरा सोध्यो भने पाना पल्टाएपछि मात्र बोध हुने गर्दछ ।

यसका लागि स्थानीय तह, प्रदेश र संघले आफ्नो नीति, योजना र कार्यक्रममा समेटिने योजनाहरू बस्तीहरूबाट आउनुपर्छ । बस्तीका विभिन्न तह र तप्काका बासिन्दाहरूको उपस्थितिमा छानिएका योजनाहरू पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै अघि बढ्नुपर्छ ।
यसरी आउने योजनाहरू कुल योजनाको कम्तिमा साठी प्रतिशत र ती बाहेकका चालीस प्रतिशत योजनाहरू क्रमागत, दिगो विकास, राष्ट्रिय मुद्धा र अन्तर्राष्ट्रिय सन्धी र सहमतिसँग जोडिएका हुनु जरुरी छ । बस्तीबाट आएका योजनाहरू किन छनोटमा परे वा किन परेनन् भन्ने सवालमा नागरिकले समेत उपयुक्त जवाफ पाउने गरी योजनाको तर्जुमा गर्नुपर्ने हुन्छ ।

योजनाको कार्यान्वयनपछि हुने विकासबाट लाभान्वित हुने मानिसहरू अधिकमात्रामा विपन्न समुदाय हुन सक्यो भने त्यसले मुलुकको समुन्नतिमा सकारात्मक प्रभाव पार्दछ । तर हाम्रा कतिपय योजनाहरूबाट लाभ लिनेहरू विपन्न होइन कि सम्पन्न नागरिकहरू हुने गर्दछ । सडक बनाउदा ठेकेदारलाई फाइदा हुने, सिमेन्ट, गिट्टी, सरिया र डोजरका मालिकहरूलाई फाइदा हुने, त्यसपछिको फाइदा सडक वरपर घडेरी खरिदबिक्री गर्ने र होटलका लागि महल बनाउने हैसियत भएकालाई मात्र हुने हो भने सामान्य नागरिकहरू त सडक वरिपरि बसेको भए पनि सस्तोमा बेचेर फेरि पाखातिर लाग्नुपर्ने हुन्छ ।

कि त भने मुग्लानतिर भासिनुको अर्को विकल्प हुँदैन । यस्तो अवस्थामा विकासले गरिबलाई झन् गरिब बनाउने र धनीलाई झन धनी बनाउने काम गर्दछ जुन सामाजिक न्याय र समताको विरुद्धमा हुन्छ । यसो हुन नदिनका लागि त्यहीकै रैथानेहरूलाई शेयर बाँडेर हुन्छ कि, उनीहरूलाई रोजगारी दिएर हुन्छ कि ? आदि विकल्प प्रयोग गरी उनीहरूलाई विकासबाट हुने लाभमा हिस्सेदार बनाउन सक्नुपर्दछ ।
अहिलेको विकासलाई नागरिकहरू डोजरे विकास भन्न थालिसकेका छन् ।

यसले वातावरण संरक्षण र सन्तुलनलाई पनि धरापमा पारेको छ भने अर्कोतिर बेरोजगारी पनि त्यत्तिकै बढाएको छ । सडक र बाटो निर्माणमा डोजर र त्यसको मालिकले काम पाएँ तर सडक छेउमै भएको बेरोजगारले रोजगारीका लागि कालापहाडतिर लाग्नुपर्ने भयो । यस्तो अवस्थामा हामीले विशेष अवस्थामा बाहेक अन्य अवस्थामा डोजरको प्रयोगलाई निषेध ग¥यौं भने गाउँमा सडक निर्माण गर्दा त्यही गाउँको नागरिकले काम पाउँछ । त्यसरी बनाएको सडकले वातावरणीय सन्तुलनमा पनि धावा बोल्दैन र विकास दिगो हुन्छ ।

नागरिकमा निर्माण प्रतिको अपनत्वको विकास हुन्छ । भएको विकासबाट डोजर मालिक एवम् ठेक्का लिने र ठेक्का दिने मात्र लाभान्वित हुने पद्धतिको अन्त हुन्छ । संघले डोजरको प्रयोगलाई निषेध गर्न नसके पनि प्रदेश र पालिकाहरूले निषेध गर्न सकेमा असाध्य जाति हुन्थ्यो । कर्णाली प्रदेश सरकारले यसलाई छलफलमा पनि ल्याउने भएको छ ।

संविधानमा तीनवटा सरकारहरूको बीचमा सहअस्तित्व, सहकार्य र समन्वयको आवश्यकतालाई महसुस गरिए पनि व्यवहारमा देख्न पाइएको छैन । दृष्टान्त दिएर भन्नु पर्दा संघले साक्षर नेपाल घोषणा गर्ने कार्यक्रम अघि सारेको छ, प्रदेशले साक्षर प्रदेश घोषणा कार्यक्रम अघि सारेको छ र पालिकाले पनि साक्षर पालिका घोषणा कार्यक्रम अघि सारेको छ । यस्तो अवस्थामा पालिकाले गरेको कर्मले प्रदेशलाई र प्रदेशले गरेको कामले संघलाई सहयोग हुने हो भने सहकार्य किन नगर्ने ?

पालिका साक्षर गर्दा त्यहाँ हुने लगानीमा प्रदेश र संघले पनि लगानी गर्नेगरी किन बन्दैन वातावरण ? किन हुदैन समन्वय र सहकार्य ? र किन गरिदैन सम्बाद ?कतै फेरि कार्यक्रम छ लगानी छैन । पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत सुर्खेतको एउटा विद्यालयले केरा खेती र ड्रागन खेती गरेको छ तर सरकारहरूले लगानी गर्दैनन् । कृषि मन्त्रालयलाई भन्यो सामाजिक विकास मन्त्रालयको काम हो भन्छन् । सामाजिक विकास मन्त्रालयमा गयो, कृषि मन्त्रालयको काम हो भन्छन् । त्यसैले पनि मुसा नमार्ने बिरालाहरू धेरै हुनु भन्दा मुसा मार्ने विरालाहरू थोरै भए पनि जाति भन्न थालेका छन् मानिसहरू ।

विकास इच्छा र रहरले भन्दा पनि प्रतिबद्धताबाट जन्मिने गर्दछ । प्रतिबद्धता योजना, नीति र कार्यक्रमहरूमा प्रस्फुटित हुनु पर्दछ । व्यक्तिको जीवनमा होस् वा राष्ट्रको जीवनमा । वा भनौं दशैंको योजनामा होस् वा देशको योजनामा । त्यसैले म त भन्छु योजना वस्तुगत हुनु पर्दछ । योजना दस्तावेज थप्ने प्रयोजनका निम्ति भन्दा पनि व्यवहारमा उतार्नका निम्ति हुनु पर्दछ । योजनालाई व्यवहारमा उतार्नका निम्ति योजनाको जन्मदातामा प्रतिबद्धता हुनु आवश्यक छ जसरी आमालाई सन्तानको समुन्नतिका निम्ति हुने गर्दछ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०     12:30:30 PM  |