23 September 2023  |   शनिबार, अशोज ६, २०८०

‘ह्यापी फादर्स डे’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २८, २०८०  

अर्जुन सुबेदी ।

सानोमा जब अलिअलि थाहा पाउने भएँ, मेरा बा मेरो भविष्य र परिवारका लागि २/४ पैसा जोहो गर्न परदेसिनु भएको रहेछ । कहिले मुग्लान त कहिले कता गएर पसिना चुहाइरहनुभयो बाले । आफूले पढ्न नपाएको कुरा सम्झँदै मेरा बाले मलाई स्कुल भर्ना गरिदिनुभयो । म पनि स्कुल जान थालेँ । समय मिलेसम्म बाले मेरा हात समाउँदै स्कुल पुगाउनुहुन्थ्यो, लिन पनि जानुहुन्थ्यो । घरमा आमालाई मेरा लागि मिठो खाना नास्ता बनाउन भन्नुहुन्थ्यो । मेरा हर रहर बाले पूरा गरिदिनुहुन्थ्यो ।

मेरा बाले राम्रो लुगा लगाएको मैले कहिल्यै देखिनँ । खुट्टामा चप्पलसम्म हुँदैनथे । बाका खुट्टाहरू चरचरी चिरिएका थिए । बा बिहानै उठेर घरको काम सकेर कहिले मेलापात जानुहुन्थ्यो त कहिले हटियामा भारी बोक्न जानुहुन्थ्यो ।

यसैगरी बाले दुःख गरेर हामीलाई हुर्काउँदै जानुभयो । मैले एसएलसी पास गर्दा बाका आँखामा आँसु भरिएका थिए । बा किन रोनुभयो मैले बुझ्न सकेको थिइनँ । अहिले थाहा पाउँछु ती त बाका खुसीका आँसु पो रहेछन् । सायद बाले अब मेरा दुःखमा दिन गए । छोराले केही गर्नेछ भनेर खुसीले आँसु झार्नुभएको थियो । म समयक्रमसँगै कलेज पढ्न थालेँ ।

हाम्रो हैसियतले म कलेज पढ्ने अवस्था त थिएन । मैले बालाई भनेँ– ‘म अब लेकका गाउँतिर कतै गएर पढाउँछु ।’ बा मान्नुभएन । ‘हैन तैले आईए बीए पढ्नुपर्छ । म दुःख, सुख जसरी भए पनि तँलाई पढाउँछु ।’ बाकै जोडबलमा म कलेज पढ्न गएँ ।

कलेज जीवन सकेर म कुनै एउटा निजी कम्पनीमा काम गर्न थालेँ । तर बा खुसी हुनुभएन । ‘तैँले स्थायी जागिर खानुपर्छ,’ बाले भन्नुभयो । मैले मेहेनत गरेर लोकसेवा पास गरेँ, दुर्गम जिल्लामा गएर जागिर खान थालेँ । मैले सकेको बालाई पैसा पठाउन थालेँ । बा खुसी हुनुभयो । कहिलेकाहीँ बाले आमासँग भन्नुहुन्थ्यो– ‘देखिस् अब हाम्रा दुःखका दिन गए । छोराले कमाउँछ । हामी आनन्द बसेर खाने हो ।’ मैले पनि बालाई सहयोग गर्दै गएँ ।

समय बित्दै जाँदा मैले बिहे गरेँ । छोराछोरी जन्मे । अब बिस्तारै मेरा लागि जिम्मेवारी थपिँदै गए । म गाउँबाट सानो घर बनाएर बजारतिर बसाइ सरेँ । उतै जागिर उतै छोराछोरी पढाउन थालेँ । घरमा बा आमासित भाइ बहिनी थिए । अब बिस्तारै घरमा म कम आउन थालेँ । पहिला महिनामा एक पटक आउँथेँ । पछि ५/६ महिनामा यसो आएर जान्थेँ । बाले बेला–बेला गाउँमा फलेका तरकारी अन्न बोकेर ल्याइदिनुहुन्थ्यो । कहिलेकाहीँ अरूसँग पठाइदिनुहुन्थ्यो । बालाई के समस्या छ ? मैले सोध्न छोडेँ ।

घर व्यवहार कसरी चलेको छ ? मैले सोध्न छोडेँ । बालाई कहिलेकाहीँ २/४ पैसा दिँदा पनि लिन मन नगरी नगरी लिनुहुन्थ्यो । ‘अब तेरा छोराछोरी पढाउने खाने खर्च पुग्दैन होला’ भन्नुहुन्थ्यो ।

समयक्रमसँगै भाइ बहिनीहरू पनि आफ्नो गरिखाने भए । बिहेवारी गरी उनीहरू पनि आ–आफ्नो काममा घरबाट टाढा भए । घरमा बाआमा मात्र हुनुहुन्थ्यो ।

म बाको घरमा चाडपर्व र विशेष कामले मात्र जाने आउने गर्न थालेँ । म पहिला पहिला घर जाँदा बाआमालाई आवश्यक चिनी, मसला, नुन, तेल, फलफूल इत्यादि लिएर जाने गर्थें । तर समयक्रममा यस्ता सामनाहरू पनि लान छोडेँ । पछि खाली हात घरमा जाँदा बोकेको झोलातिर बाको नजर हुन्थ्यो । बाका मनले छोराले के ल्याइदियो भन्ने लाग्दो हो । तर मैले ल्याउन छाडेको थिएँ । बरु बाले झोला खाली भए केही दाल, तिहुन लैजा भन्नुहुन्थो । म लाजै नमानी बोकेर हिँड्थेँ ।

एक दिन बा नराम्रोसँग बिरामी हुनुभयो । मैले भाइलाई घरमा जान भनेँ । भाइको पनि फुर्सद भएन । मेरो पनि कामले गर्दा जान सकिनँ । म भोलिपल्ट मात्र गएँ । बालाई एक्कासि प्यारालाइसिस भएछ । हस्पिटल लगेँ । केही दिन उपचार गरेर घरमा पठाएँ । बालाई एक जना पुरै सहयोगी चाहिने भयो । बाको एकतर्फको शरीर नचल्ने भयो ।

म घरमा बसेर बालाई हेर्न सक्दिनथेँ । जति जे गरे पनि यो काम आमाको जिम्मामा आयो । ‘बाको औषधि सकियो । बालाई तागतिलो खानेकुरा पनि चाहिएको छ,’ भन्दै आमाले गाउँबाट खबर गर्नुभयो । मैले भाइलाई भनेँ । उस्ले म सक्दिन भन्यो । मैले केही औषधि मात्र किनेर पठाइदिएँ ।

बाको स्वास्थ दिनप्रतिदिन कमजोर हुँदै गयो । औषधि पनि किन्ने अवस्था नहुँदा निको हुने कुरै भएन । मेरा छोराछोरी कजेल पढ्ने हँुदा मैले पनि धेरै सहयोग गर्न सकिनँ । घरमा कहिलेकाहीँ जाँदा आउँदा कहिल्यै बाले आफ्नो समस्या देखाउनुभएन ।

औषधि सकियो पनि कहिल्यै भन्नुभएन । तर पैसाको अभावमा पोसिलो खाने कुराको अभावमा बाले प्रेसरको औषधि खान छाडेको निकै भएछ । आमा पनि दिनप्रतिदिन कमजोर बन्दै जानुभएको थियो । आमाले एकदिन बालाई पिँढीबाट शौचालय लाने क्रममा बालाई हर्टएट्याक भएछ । बाले सदा–सदाका लागि हामीलाई छोडेर जानुभयो ।

संस्कारअनुसार बाको काम सकेर हामी आफ्नै गन्तव्यमा लाग्यौँ । घरमा आमा एक्लै हुनुभयो । बुढेसकालमा आमालाई पनि हामी कसैले सहयोग गर्न सकेनौँ । कहिलेकाहीँ नातिहरूको माया लाग्यो भेटन ल्याइदेऊ भन्नुहुन्थ्यो । बा बितेपछि म घरमा झन् कम जान थालेको थिएँ । आमाको जिम्मेवारी मेरो मात्र होइन जस्तो लाग्न थाल्यो । चाडपर्व र कहिलेकाहीँ आउने जाने गर्थँे ।

एक दिन आमा पँधेराबाट पानी लिएर आउँदा लडेर बेहोस हुनुभएछ । त्यही अवस्थामा उहाँलाई अस्पताल लगियो । आमाको स्वास्थमा सुधार भएन । आमाले पनि अस्पताल भर्ना गरेको ११औं दिनमा हामीलाई छोडेर जानुभयो ।

बा आमाले छोडेर गएको आज वर्षांै भयो । आज म आफैं दुःखमा छु । मेरा छोरा युरोपतिर छन् । उतिबेला छोराछोरी उत्कृष्ट बनाउँछु भन्दै पढाउँदै लेखाउँदै विदेश पठाएँ । आज उनीहरू उतैका नागरिक भए । परार साल जहान नराम्रोसँग बिरामी परी । उपचार गराउन पैसा भएन । छोराहरूलाई खबर गर्दा अलिकति पठाए । जेनतेन उपचार गरेर घरमा ल्याएँ ।

घरमा ल्याए पनि नियमित खाने औषधि किन्न सकिनँ । पोषिलो कुरा ख्वाउन सकिनँ । जहान दिनदिनै कमजोर हुँदै गई । एक दिन छोराहरूको मुख हेरेर मर्न मन छ बोलाइदे भनी । खबर गरेँ । उनीहरूले आउन नमिल्ने भने ।

छोराछोरीलाई भेट्ने रहर जिउँदै राखेर जहानले मलाई सदासदाका लागि छाडी । विदेश गएका छोराछोरी आमाको संस्कार गर्न पनि आएनन् । अर्काे साल आएर संस्कार गरे । घरमा आएका छोराहरू बचेको सम्पत्ति भागबन्डा गर्देऊ बा भन्न थाले । मेरो शेषपछि गरौला भन्दा पनि मानेनन् । आफ्नो अंश लिएर बेचेर गए । म घरमा एक्लै छु । छोराहरूले सन्चो बिसन्चो नसोधेको धेरै भयो ।

आज म सोच्दै छु, मैले जे गरेँ त्यसैको प्रतिफल म भोग्दै छु । बा र आमाले ठूलो दुःख गरेर, आफूले खाइ नखाई, मलाई सक्षम बनाउन लाग्नुभयो । म सक्षम बनेँ र मेरो आफ्नो परिवारलाई राम्रो बनाउने दौडमा मैले मेरा बाआमालाई केही गर्न सकिनँ ।

कहिल्यै के चाहिन्छ सोधिनँ । अझै दुःखका साथ भन्दा मेरा बाआमाको अन्तिम घडीमा राम्रो उपचार गराउने र सेवा गर्ने कुरामा समेत म चुकेँ । हिजो मेरो पहिलो प्राथमिकता मेरो परिवार भन्ने अहंकारले आज म नै एक्लो भएँ । बाआमाका अन्तिम इच्छा के थिए मैले सोध्न पाइनँ ।

आमाले खाए कि खाएनन् मैले कहिल्यै चासो दिइनँ, मेरा सन्तानका खातिर । तर आज मेरा भविष्य मेरा लागि भएनन् ।
आज बाको मुख हेर्ने दिन मैले बाको फोटोमा पनि राम्रोसँग हेर्न सकिनँ । मैले सन्तानको भूमिका निभाउन नसकेकोमा ठूलो पश्चात्तापले पोलेको छ ।

मेरा सन्तानले पनि उनीहरूकी आमा बिरामी हुँदा सोधेनन् । आमालाई आमालाई २/४ पैसाको सहयोग पनि कहिल्यै गरेनन् । तर हरेक आमा औँसीमा ह्यापी मदर्स डे भनेर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् ।

यतिबेला म बिरामी छु । पैसाको समस्याका कारण दबाइमूलो गर्न सकेको छैन । डाक्टरले भनेको औषधि किन्न सकेको छैन । दूध, दही, फलफूल खान सकेको छैन । कहिल्यै मेरा सन्तानले २/४ पैसा चाहिन्छ कि भन्दैनन् ।

तर आज एकाबिहानै ‘ह्यापी फादर्स डे’ भनेर छोराहरूले गरेको पोस्ट हेरेर यतिबेला म गौरवान्वित छु ।

प्रकाशित मितिः बिहिबार, भदौ २८, २०८०     6:28:23 PM  |