के हामी कक्षाकोठा भित्र प्रवेश नगरेकै हौ त ?



राप्तीसोनारी गाउँपालिकाको सभाहल । उक्त हलमा त्यो दिन जनप्रतिनिधिहरु कोही थिएनन, जसले गाउँपालिकामा शासन गर्छन् । त्यहाँ प्रधानाध्यापकहरु पनि कोही थिएनन जसले विद्यालयमा शासन गर्छन् । त्यहाँ केवल विशुद्ध शिक्षकहरु थिए जसले मुख्य कार्यको रुपमा विद्यार्थीहरुलाई शिक्षण गर्नु रहेको हुन्छ ।

सन्दर्भ थियो – स्थानीय विषयको शिक्षण सिकाइका लागि अभिमुखीकरण जसको पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा पुग्न अझै केही समय लाग्नेछ । त्यसैले पनि पाठ्यपुस्तक नभएको अवस्थामा पनि उक्त विषयलाई पाठ्यक्रमको आधारमा सहजीकरण गर्नुपर्ने स्थिति थियो ।

यस्तै परिवेशको मौका उठाएर कतिपय पालिकामा पाठ्यपुस्तक नै नभएपछि विद्यार्थीहरुलाई कसरी शिक्षण गर्ने भनेर शिक्षकहरुले नै उक्त विषय अध्यापन गर्न आनाकानी गरिरहेको अवस्था थियो । त्यो अवस्था अन्यत्र लगायत राप्तीसोनारीमा पनि थियो । उक्त कार्यक्रममा समापन समयको फाइदा उठाउँदै पालिकाका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले एउटा गम्भीर विषय उठाउनु भयो –यो समयमा अरु त कक्षाकोठामा प्रवेश गरेका छैनन् भन्ने कुरामा कुनै द्विविधा छैन ।

के शिक्षकहरू पनि कक्षाकोठाभित्र प्रवेश नगरेको हो त ? कक्षाकोठामा प्रवेश गर्नेगरी स्थानीय पाठ्यक्रमको अध्ययन नगरेकै हो त ? साँच्चीकै पाठ्यक्रमको अध्ययन गरेर कक्षाकोठामा प्रवेश गरेको भए त पाठ्यपुस्तक नभएको अवस्थामा स्थानीय विषय पढाउन सकिदैन भन्ने सवाल त उठ्नै नपर्ने होइन र ?’

शाखा प्रमुख जीवनजीको जीवन्त सवालले सहजकर्ताको रुपमा उपस्थित भएको यो पङ्क्तिकार लगायत सहभागीको रुपमा उपस्थित सबैलाई गम्भीर बनायो । जीवनजीले भनेजस्तै कुरा के सत्य हो भने हामी शिक्षाका अन्य सरोकारवालाहरु त कक्षाकोठामा जान सकेका छैनौं नै । कतिपय प्रधानाध्यापकहरु पनि कक्षाकोठामा जान छोडिसकेका छन् । कुनै कुनैले आफ्नो विषय पढाउनै पर्ने भए त जान्छन् पनि होला ।

अन्यथा कक्षामा गएको अवस्था छैन । त्यसैले पनि आफ्नै विद्यालयको कुन शिक्षकले कसरी अध्यापन गर्छ भन्ने कुरा पनि प्रधानाध्यापकहरुलाई हेक्का हुदैन । राम्रोसँग अध्यापन गर्ने र काम चलाउ पाराले अध्यापन गर्ने शिक्षकको बारेमा पनि हेक्का छैन ।

त्यसैले प्रधानाध्यापकको नजरमा पठनपाठनको सवालमा को शिक्षक जिम्मेवार र को शिक्षक गैरजिम्मेवार भनेर पहिचान गर्ने कसी भनेको उनीहरु विद्यालयमा कति बजे आए ? कति बजे कक्षामा प्रवेश गरे र कति समय कक्षामा विताए ? भन्ने मात्रै हो । त्यो पनि विद्यालयमा जिम्मेवार प्रधानाध्यापक छ भने ।

प्रधानाध्यापक आफै नै विद्यालयबाट विभिन्न बाहनामा अरु भन्दा बढी बाहिरिने भयो भने त यो पनि सम्भव हुदैन । शिक्षामा गुणस्तरसँग गाँसिएको सवाल भनेको त विद्यार्थीलाई बुझ्नु र उसको क्षमता र भावनालाई सम्बोधन हुने गरी सहजीकरण गर्नु हो जुन कुरा हाम्रा शिक्षालयहरुमा सम्भव हुन सकिरहेको छैन ।

कर्णाली प्रदेशको प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीले ‘शुन्यको मूल्य’ नामको किताबमा लेख्नु भएको छ, एउटै घरका दिदीभाइ एउटै विद्यालयको फरक फरक कक्षामा पढ्छन् । उनीहरुलाई उनको अभिभावकले छोराछोरी दुबैका निम्ति एउटा मात्र कपिको व्यवस्था गरिदिएको अवस्था हुन्छ ।

सबैले त होइन एकजना शिक्षकले भाइलाई गृहकार्य माग्ने गरेको र गृहकार्य नगरेको अवस्थामा कुट्ने गरेको स्थिति हुन्छ । यो समस्याको समाधान गर्नका लागि दिदीभाइको बीचमा गृहकार्यको खोजी गर्ने शिक्षकको पिरियडमा त्यो कपि भाइसँग हुने गरी कपिको प्रयोग गर्ने सम्झौता हुन्छ । त्यसपछि मात्र भाइ शिक्षकको कुटाइबाट जोगिन्छ ।

शिक्षकले गृहकार्य नगरेको अवस्थामा विद्यार्थीलाई कुट्ने तर गृहकार्य किन गरेन भन्ने कुरा तर्फ भने पटक्कै चासो हुदैन । यो समस्या अधिकांश विद्यालयहरुको हो र अधिकांश शिक्षकहरुको हो । एउटा बालरोग विशेषज्ञले बालबालिकाको यो कुरा थाहा पाउँदा पनि सम्बन्धित शिक्षकलाई यो बारेमा अत्तोपत्तो हुदैन ।

कक्षामा भएका बालबालिकाहरूको अवस्थाबारे शिक्षकलाई जानकारी छैन भने शिक्षक कक्षामा प्रवेश गरेको भन्ने वा प्रवेश नगरेको भन्ने ? हाम्रो समस्या यही नेर बल्झिएको छ ।

जसरी म फलाना ठाउँमा गएको छु भन्ने व्यक्तिले उक्त ठाउँको बारेमा अलिकति भए पनि जानकारी राख्ने गर्दछ त्यसरी नै त्यो कक्षाका विद्यार्थीहरुको मनोविज्ञान, समस्या र समाधानहरुको बारेमा शिक्षक जानकार हुनुपर्ने होइन र ?
केही वर्ष अघिको कुरा हो, त्यत्तिबेला सरकारले इसिडीका सबै बालबालिकालाई खाजाको व्यवस्था गरेको थिएन ।

त्यो समयमा विद्यालय अनुगमनकै क्रममा सुर्खेतको बीरेन्द्रनगरस्थित एउटा आधारभूत विद्यालयको प्रारम्भिक बालविकासको कक्षामा प्रवेश गरेपछि मैले बालबालिकाहरुलाई ‘आज को–कोले घरबाट खाजा ल्याएर आउनु भएको छ ?’ भन्ने प्रश्न सोध्दा अधिकांश विद्यार्थीहरुले हामी त भोकै आएका छौं सर भनेर जवाफ दिएका थिए ।

जवाफ त्यसरी आउँदा म आफैलाई मैले सोधेको प्रश्नले पिडाबोध भयो । नसोध्नु पर्ने प्रश्न सोधिएछ भनेर पछुतोको आभास भयो । आमा नभएको बालकलाई पटक पटक आमाको नाम के हो भनेर सोधेझै महसुस भयो । घरवास नभएको मानिसलाई तिम्रो घर कहाँ हो भनेर जिस्क्याएझै अनुभूति भयो ।

पछि बालबालिकासँग यसको कारण सोध्दा बोध भयो कि उनीहरुमध्ये अधिकांशका बाबाहरु घरमा छैनन् । आमाहरू बिहानै झिस्मिसेमा दाउरा बेच्न बजारतिर जान्छन् । बिक्रि गरेर घर फर्किदा ढिला फर्कन्छन् । त्यत्तिबेलासम्म उनीहरू विद्यालय आइसकेका हुन्छन् । उनीहरू आफै खाना बनाउन सक्दैनन् ।

त्यसैले उनीहरु भोकै आउछन् विद्यालयमा । के यो समाधान हुन नसक्ने समस्या हो र ? शिक्षक र अभिभावकको एक बसाइमै समाधान हुने समस्या किन वर्षौदेखि बल्झिरहेको छ ? कारण प्रष्ट छ शिक्षक कक्षामा प्रवेश गरे पनि समस्या ज्यूँकात्यूँ छ, मानौं कि शिक्षक कक्षामा प्रवेश गरेकै छैन ।

स्थानीय विषयको सवालमा उठेका प्रश्नहरु पनि त्यस्तै त्यस्तै हुन्, विषय र पाठ्यक्रमलाई नै नबुझेर पाठ्यपुस्तक चाहिन्छ भनेजस्तो । कक्षामा गएर विद्यार्थीहरुलाई अध्यापन त गर्ने तरविद्यार्थीहरुलाई व्यक्तिगत रुपमा नचिनेको जस्तो । विद्यार्थीहरुको जीवन स्वर्णिम बनाउन प्रयत्नरत छु त भन्ने तर उसले भोगिरहेको समस्याको समाधान गर्ने सवालमाा वेवास्ता गरेको जस्तो ।

स्थानीय विषय भनेको स्थानीय विषयवस्तुको सङ्गालो हो । जुन विषयमा उनीहरुको गाउटोल र वस्तीको बारेमा छलफलहुने गर्दछ, त्यहाँको भाषाभाषी र जनसङ्ख्याको बारेमा बहस हुने गर्दछ । जनसङ्ख्या भित्र पनि जातिगत, लिङ्गगत, उमेरगत र सम्प्रदायगत जनसङ्ख्याको बारेमा विचारविमर्श हुने गर्दछ ।

त्यहाँको संस्कृति र साँस्कृतिक सम्पदाहरूको बारेमा भलाकुसारी हुने गर्दछ । त्यहाँको भूगोल, वातावरण, पेशा, व्यवसाय र प्रविधिको बारेमा सहजीकरण हुने गर्दछ । समाजका असल मानिस र असल आनीबानी र संस्कारहरुको संरक्षण र सम्बर्धन र खराव आनीबानी र चालचलनलाई परिमार्जन गर्ने बारेमा अन्तरक्रिया हुने गर्दछ ।

यस्ता विषयवस्तुहरूको खोजी पाठ्यपुस्तकभन्दा समाजमा गएर गर्नु आवश्यक छ । कण्ठ गरेर ओकल्ने भनेकै गुणस्तरीय शिक्षा हो भन्ने धारणाले जरो गाडेको समाजमा स्थानीय विषयको बारेमा सही धारणा बसी नसकेको अवस्था छ ।
जसरी मान्छे राम्रो हो भनेर चिनेपछि राम्रो मान्छेको माया लाग्छ। त्यसरी नै गाउँटोलमा भएका राम्रा कुराहरुको बारेमा बालबालिकाहरुलाई जानकारी दिन सकियो भने उनीहरुले पनि आफ्नो गाउँटोल, आफ्नो संस्कृति र आफ्नो सम्पदालाई माया गर्छन । कुनै दिन हामी पनि अशक्त हुन सक्छौं, हामी पनि विरामी र असहाय हुन सक्छौं र हामी पनि बृद्ध हुन सक्छौं भन्ने कुराको सानैदेखि धारणा दिन सकियो भने बालबालिकाहरु पनि सानैदेखि त्यस्ता नागरिकप्रति सम्मान, श्रद्धा र सहयोगको भावनाले अभिप्रेरित भएर आफ्ना व्यवहारहरुको निर्माण गर्न सक्छन् ।

यसका लागि सहजकर्ताको भूमिकामा गाउँटोलमा भएका जेष्ठ नागरिकहरु, मठमन्दिर, चर्च र मस्जीदका पूजारी, पादरी र मौलानाहरु, खेतीपाती गर्ने किसानहरु, विभिन्न बाजा बजाउनेहरु बाद्यवादकहरु, कला र संस्कृतिका पारखी र जानकारहरु हुन सक्छन् । त्यत्तिमात्र नभइ समाजमा असल काम गर्ने समाजसेवी र समाजसुधारकहरु सहजकर्ताको भूमिकामा हुन सक्छन् ।

यसका लागि स्थानीय विषय अध्ययन गर्ने रोष्टरहरुको सूची बनाएर उनीहरुलाई सहजीकरण गर्नका लागि आमन्त्रण गर्ने वातावरण विद्यालयले बनाउन सक्नुपर्दछ । सहजीकरण गरेवापत पारिश्रमिक दिन नसकेपनि सम्मान र इज्जत दिन सक्नुपर्छ । यसो गर्न सकियो भने स्थानीय पाठ्यक्रमको मर्म बुझेको ठहर हुन्छ ।

स्थानीय पाठ्यक्रमको मर्मको बारेमा दुईदिनसम्म विहङ्गम किसिमबाट छलफल गरिसकेपछि सबैको घैटोमा घाम लाग्यो । स्थानीय पाठ्यक्रमलाई कसरी अध्यापन र सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा अवगत भयो । पाठ्यपुस्तक नआए पनि वा ढिला आएपनि यसको शिक्षण सिकाइका कुनै पनि असर नपर्ने कुराको बारेमा सबै विश्वस्त भयौं र सबैलाई विश्वास दिलायौं । स्थानीय विषयमा परिवारका मानिसहरुको नाम, काम र नातासम्बन्ध बताउने कुरा उल्लेख छ, आफनो गाउटोलको नाम बताउने कुरा उल्लेख छ ।

आफ्नो गाउँघरमा नाचिने नाच र मनाइने चाडपर्वहरुको बारेमा बताउने कुरा उल्लेख छ । आफूलाई मन पर्ने मानिसका राम्रा कुराहरुको बारेमा वर्णन र अनुसरण गर्ने कुरा उल्लेख छ । आफ्नो करेशावारी, तरकारीबारी र नजीकको जङ्गलमा भएका फूल, तरकारीहरु र बोटविरुवाको बारेमा जानकारी राख्ने कुरा उल्लेख छ ।

के यस्ता कुराहरु सिक्न पनि किताब खोज्नु पर्छ र ? के यस्ता कुराहरु पनि घोक्नु पर्छ र ? के यस्ता कुरा जीवनमा काम लाग्दैनन् र ? के यसप्रकारको शिक्षा जीवनोपयोगी र व्यावहारिक हुदैन र ? तथापि मानिसहरु स्थानीय विषयवस्तुको महत्त्वलाई नजरअन्दाज गर्दै त्यसको विकल्पमा अङ्ग्रेजी भाषा र कम्प्युटर जस्ता विषयहरु खोजी हिडिरहेका देखिन्छन् ।
शिक्षाविद् भिगोत्स्कीले बालबालिकाको सिकाइलाई समाजले प्रभाव पार्दछ अर्थात शिक्षा समाजबाट कुनै मानेमा पनि अलग हुन सक्दैन भन्ने मान्यता राख्दछन् । त्यसकारण पनि समाजको बारेमा बालबालिकालाई सानैदेखि साक्षात्कार बनाउदै शिक्षा दिनु आवश्यक छ ।

प्रकृतिवादी मनोबैज्ञानिक रुसोले धेरै पहिले भनिसकेका हुन् – ‘बालक एउटा किताब हो जस्तो हरेक पाना पाना शिक्षकले अध्ययन गर्नु आवश्यक छ ।’ त्यस कारण पनि बालबालिकालाई उ हुर्किरहेको समाजको बारेमा जानकारी दिनु आवश्यक छ । यसका लागि सहजकर्तालाई सिकारुको आद्योपान्त जानकारी हुनु आवश्यक छ । अन्यथा शिक्षक कक्षामा प्रवेश गरेपनि बालबालिकाको सिकाइमा प्रभावकारिता ल्याउने हिसावले कक्षामा प्रवेश नगरेको ठहर हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रबार