17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

डुबानबाट जोगिन नालाको निकास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार १८, २०८०  

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका नहर तथा नालाको निकास खोलिएको छ । वर्षायाम सुरु हुनु पूर्व सबै नालाको निकास खोल्ने अभियान नै तिव्ररुपमा सञ्चालन गरिएको नेपालगन्ज उपमहानरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले बताए ।
उनले सरसफाइसँग सम्बन्धित कर्मचारीलाई नाला निकास र सरसफाइमा केन्द्रित गरिएको उल्लेख गरे । ‘निकास नभएकै कारण बर्सेनि डुबानको समस्या थियो,’ उनले भने, ‘त्यस्तो अवस्था अहिले नहोस् भन्नेमा हामी पहिल्यैदेखि सचेत थियौं ।’

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार नेपालगन्जका सानाठूला सबै नाला सफाइ गरिएको छ । नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम बिन्दु (आउटलेट) बाट सफाइको काम गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले अन्तिम बिन्दुबाट काम सुरु गरेपछि जहाँजहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको छ । ‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम बिन्दुबाट काम थालेका छौं,’ जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने जानकारी दिँदै शर्माले भने ।

नगर प्रमुख बिष्टले नेपालगन्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरुको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए । ‘सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट (अन्तिम बिन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउसम्म राम्रोसँग सफा गर्न केन्द्रित छौं,’ बिष्टले भनेका छन् ।

उनले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भए पनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताए ।
नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिँदै नगर प्रमुख बिष्टले कतिपय ठाउँमा जेसिबी प्रयोग गर्न सकिने अवस्था नरहेको बताए ।

‘त्यसैले मान्छे नै लगाएर सफाइ गरिरहेका छौं,’ उनले भने । विगतमा बजारको वरिपरि मात्रै सफाइ गर्ने काम हुँदा समस्या ज्यूँकात्यूँ रहेकाले यसपटक अन्तिम बिन्दुबाट आमरुपमा सफाइ थालेको उपमहानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाइ गरिँदा नेपालगन्जलाई डुबान हुनबाट जोगिने नगर प्रमुख बिष्टको विश्वास छ । एक महिनामा सफाइ सक्ने गरी काम अघि बढाइएको बताइएको छ ।

सरसफाइका क्रममा कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाँडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारीसमेत उम्रिएको पाइएको छ ।

‘यसअघि सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नाली सफाइ गर्ने गरिए पनि वर्षौंदेखि सबै नाला आमरुपमा सफा गरिएको छैन,’ दुईवटा प्याकेजमा नाला सफाइ गर्ने गरी काम सुरु गरिएको जानकारी दिँदै भनिएको छ ।

प्रकाशित मितिः सोमवार, असार १८, २०८०     11:16:09 AM  |