नेपालगन्ज ।
नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ । महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेलगत्तै उनीसहित लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले कार्यकर्तापंक्तिलाई नयाँ उत्साहका साथ जनतामा जान निर्देशन दिए । एमालेलाई सबैले घेराबन्दी गरेको दाबी गर्दै नेताहरूले उक्त घेराबन्दी जनताको साथ लिएर तोड्न सकिने उल्लेख गरे ।
यो सहमतिबाट हुने वा चुनावबाट निश्चित नभए पनि अधिकांश नेता कार्यकर्ता चुनावका लागि तयार भएर बसेका छन् । सहमति पनि कुन नेताले कस्का लागि गरिदिने रु सम्भावना न्यून भएकाले उम्मेदवारले प्यानल बनाएर मत माग्न पनि सुरु गरिसकेका छन् ।
कुनै अप्रत्याशित निर्णयबाहेक सहमतिबाट भन्दा चुनावबाट नयाँ समिति गठन हुने लगभग सबैको बुझाइ रहेको एमाले बाँकेका नेता कार्यकर्ता बताउँछन् ।
जिल्ला अधिवेशनमा लागि तीन निर्वाचन क्षेत्रका ४ सय ५८ जना प्रतिनिधि सहभागी छन् । १ सय २० सदस्यीय नयाँ नेतृत्व चयन हुनेछ ।
अधिवेशनबाट नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपति दोहोरिने तयारीमा छन् ।
उनीसँगै पूर्वअध्यक्ष निरक गुरुङ, वर्तमान उपाध्यक्ष डिल्ली बिसी, नेता घननाथ खनाल अध्यक्षका प्रत्यासीका रूपमा चर्चामा छन् । गुरुङ नेकपा कालमा अध्यक्ष बनेका थिए भने घननाथ प्रदेश कमिटीमा छन् ।
प्रतिनिधि छनोटका क्रममा अध्यक्षका प्रत्यासीहरू समूहगत रूपमै सक्रिय भएको कार्यकर्ताले जनाएका छन् । बाँकेमा केन्द्रमा भएको कुनै नेता विशेषको समूह नभएर स्थानीय रूपमै बनेका समूह छन् । प्रतिनिधि छनोटले नेतृत्वलाई स्पष्टता प्रदान नगरेकाले अहिले नै नेतृत्वको आँकलन गर्न नसकिने स्थानीय नेताहरूको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्