कोहलपुर :
कोहलपुर नगरपालिका वडा नम्बर १५ चन्नहवामा सिकलसेल एनिमिया तथा थालेसेमिया रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा वडा नम्बर १५ को चन्नहवा गाउँमा सिकलसेल एनिमिया तथा थालेसेमिया रोगसम्बन्धी अभिमुखीकण कार्यक्रम सम्पन्न भएको हो ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका सिकलसेल एनिमियाका फोकलपर्सन शिव गौतमका अनुसार नगरपालिकाका सम्पूर्ण वडामा अभिमुखीकरण कार्यक्रम भइरहेको छ । सोही कार्यक्रमअन्तर्गत चन्नहवामा पनि सयौँ स्थानीयहरुको सहभागितामा जनेचतनामूलक अभिमुखीकरण कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
थारु समुदायमा देखा पर्ने सिकलसेल एनिमियालाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले अभियानकै रुपमा अभिमुखीकरण गराइरहेको छ । नगर क्षेत्रका १५ वटै पालिकामा जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

अहिलेसम्म उनले कोहलपुरका १५ मध्ये आठवटा वडामा कार्यक्रम सम्पन्न भइसकेको बताए । उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले सिकलसेल तथा थालेसेमिया रोग न्यूनीकरण गर्ने अभियानमा नगरपालिका लागेको बताए ।
रोग पुष्टि भएकाहरुको उपचारका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने उनको भनाइ छ । थारू समुदायमा लाग्ने यो रोग उपचार गरेर निको नभए पनि स्वास्थ्यकर्मीहरूको परामर्श र आजिवन औषधिको सेवनबाट नियन्त्रण गर्न सकिने भएकोले अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गराउन उनले आग्रह गरेका छन् ।
यस्तै, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकी कन्सलटेन्ट प्याथालोजिस्ट डाक्टर प्रज्ञा गौतम घिमिरेले सिकलसेल रोगका विषयमा सबैमा जानकारी हुनेपर्ने बताइन् ।
सिकलसेल रोगबाट बच्नका लागि विवाह गर्नु अघि सिकलसेल एनिमिया परीक्षण गर्न आवश्यक रहेको उनी बताउँछिन् । उनले पश्चिम तराईका बाँके, बर्दिया कैलाली, दाङ, पश्चिमी भूभागका व्यक्तिले सिकलसेलको उपचार सेवा लिइरहेको बताइन् ।
सरकारले सिकलसेलका बिरामीलाई एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले आफू र आफ्नो सन्तानको स्वास्थ्यका लागि नडराइ निर्धक्क भएर स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् ।
सिकलसेल एनिमिया र थालेसेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा ध्यान दिनुपर्ने विज्ञहरुले बताउने गरेका छन् । सिकलसेल एनिमियाबाट नेपालको पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायका व्यक्तिहरू प्रभावित भएका छन् । कोहलपुरमा ९५ जना सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् । कोहलपुरमा दश हजारभन्दा माथि बाहक रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्