शुभाकर विश्वकर्मा,कोहलपुर
कोहलपुर नगरपालिका वडा नम्बर ८ को सितलनगरदेखि बाबानगर जोड्ने सडक कालोपत्रे गरिएको छ । वडा नम्बर १० को केही भाग जोड्ने उक्त सडक कालोपत्रे सम्पन्न गरिएको हो ।
वडा नम्बर ८ का वडाध्यक्ष लालबहादुर रानाका अनुसार एक किलोमिटर सडक कलोपत्रे सम्पन्न भएको छ । बारम्बारको ताकेता र अनुरोधमा वडा नम्बर ८ को विकासमा फड्को मार्ने योजनाका रुपमा रहेको उक्त सडकखण्डको बाटो विस्तार हुनुका साथै कालोपत्रे सम्पन्न भएको उनी बताउँछन् ।
उक्त सडक कोहलपुर नगरपालिकाको ढल निकास तथा कालोपत्रे योजनाअन्तर्गत निर्माण गरिएको हो । यो सडक अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा सुरुवात भएको थियो । अघिल्लो आर्थिक वर्षमा उक्त सडकअन्तर्गत बाटो बनाउने र ग्राभेल गर्ने काम भएको वडाध्यक्ष राना बताउँछन् ।
‘यो अघिल्लो वर्ष मै सुरु भएको हो । त्यतिबेला पहिलो चरणको काम भयो । निर्वाचनमार्फत हामी आयौँ । योजनामा दायित्व बहन गरेर प्रक्रिया सुरु भएको थियो । सबैको सहयोगले सडक निर्माण कार्य सम्पन्न भएको छ,’ वडाध्यक्ष रानाले भने ।

वडाको गौरवको योजनाको रुपमा रहेको उक्त सडकखण्ड निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम व्यवस्था गरी निर्माण सम्पन्न भएको उनको भनाइ छ । उक्त सडकखण्ड ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको हो । कोहलपुर नगरपालिकाले उक्त सडक निर्माणका लागि नौ करोडको ठेक्का आह्वान गरेको थियो । आवेदन दिएकामध्येबाट दिवा यति विल्डर्सले चार करोड ९७ लाखमा सडक निर्माणको ठेक्का पाएको थियो ।
उनी भन्छन्, ‘यो सडकले केही भाग वडा नम्बर १० लाई पनि छुन्छ । नत्र अधिकांश वडा नम्बर ८ मै हो । एक किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । आठ मिटरको बाटो हो ।’
सडक निर्माणले वडा नम्बर ८ का दुई टोलका नागरिकलाई आवातजावतमा सहज भएको उनले बताए । यस्तै सुन्दर पिपिरी अभियानलाई सडक निर्माणले सहयोग पुगेको वडाध्यक्ष रानाले बताए । यस्तै उनले आफू समृद्धि वडा नम्बर ८ का लागि क्रियाशील रहेको बताए ।
स्थानीय तहमा जनप्रतिनिधिको रुपमा एक वर्ष अवधि पूरा भएको भन्दै आफूले वडा विकासका लागि थुप्रै काम सम्पन्न भएको छ । एक वर्षको अवधिमा रिङ रोड निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । यस्तै सौर्य बत्ती, सडक वृक्षारोपण तथा रेलिङ व्यवस्थापन र सिँचाइका लागि काम सम्पन्न गरिएको पनि उनले बताए ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको पूर्वतयारी भइरहेको भन्दै वडा नम्बर ८ को आगामी योजना शिक्षा र ढल निकास र नाली निर्माण प्राथमिकतामा रहेको उनले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्