गर्मीले भेरी अस्पतालका बिरामीलाई सास्ती



वीरेन्द्र जैसी
नेपालगन्ज,
नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीहरुको चाप पछिल्लो समय बढ्दै गएको छ । दैनिक करिब एक हजार जनाले सेवा लिने गरेको अस्पतालको भनाइ छ । एक सय ५० बेड क्षमताको मात्रै भएपनि एक सय ६२ बेड राखेर सेवा दिइरहेको अस्पतालका सबैजसो वार्डहरु भरिएका हुन्छन् । भर्ना भएर उपचार गराइरहेका कुरुवाहरुलाई अस्पतालको बाहिर, ग्यालरीमा बस्नुपर्ने र त्यहीँ रात बिताउनुपर्ने बाध्यता छ ।

चर्काे गर्मी भइरहेको बेला त्यसरी बाहिर बरण्डा र ग्यालरीमा बसेर बिरामी कुर्ने कुरुवाहरुले सास्ति व्यहोर्नुपर्ने अवस्था छ । कतिपय ठाउँमा पंखा नै छैनन् । भएका ठाउँमा पनि सबै कुरुवाहरुलाई पुग्नेगरी पंखाको व्यवस्था छैन । विशेषगरी आइसियु वार्ड र सुत्केरी वार्डको बाहिर रात बिताउनुपर्ने कुरुवाहरुलाई पंखा नहुँदा अत्यन्त सास्ती छ । चर्काे गर्मी हुने नेपालगन्जमा कुरुवाहरुका लागि पनि पंखाको व्यवस्था नहुँदा सुत्न मुस्किल हुने गरेको कुरुवाहरुले आइतबार मिसन टुडेसँग बताए । यसका साथै लामखुट्टेको विगविगीले पनि कुरुवाहरुलाई हैरान पार्ने गरेको उनीहरुले बताएका छन् ।


अस्पतालका प्रमुख डा. बद्री चापागाईंले अस्पतालका संरचनाहरु निर्माण गर्दा नै कुरुवाहरुलाई बेवास्ता गरेर निर्माण गर्ने गरिएका कारण समस्या उत्पन्न भएको बताए । उनका अनुसार अस्पतालको नयाँ भवन निर्माण अन्तिम चरणमा रहेको र उक्त भवनमा इण्डोर सेवा सारिएपछि राती कुर्ने कुरुवाहरुका लागि सहज हुने आशा व्यक्त गरे । साथै, छेउमा रहेको एउटा घरमा बिरामीका कुरुवाहरुलाई रात बिताउनका लागि उपयुक्त व्यवस्था गर्नेगरी तयारी गरिएको उनले बताए ।
उनले भने, ‘हामीले अब बिरामी कुरुवाका लागि पनि सोचेर संरचना बनाउनुपर्छ भनेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ । नयाँ भवन सन्चालनमा आएपछि छेउमा भएको एउटा घरलाई तत्कालका लागि बिरामी कुरुवाको लागि व्यवस्था गर्ने हाम्रो योजना छ ।’ लामखुट्टेको विगविगी कम गर्ने केही विधि भएपनि त्यसको प्रभावकारिता पनि नहुने र प्रयोग गर्दा बिरामीहरुलाई पर्ने असर झन् ठूलो हुने भएकोले कुरुवाहरुले झुल तथा वैकल्पिक उपायकै प्रयोग गर्नु उपयुक्त हुने उनले बताए ।
शौचालयमा छैन चुकुल र धारा
आइतबार भेरी अस्पतालको ओेपिडी भवनको शौचालयको ढोकाहरुमा चुकुल नदेखेपछि एक महिलाले चिन्ता व्यक्त गरिन्, ‘शौचालय त डरलाग्दो रहेछ । भित्र बसेको बेला कसैले ढोका तान्दियो भने…।’ ती महिलाले भनेजस्तै भेरी अस्पतालको ओपिडी भवनको शौचालयका कम्तिमा पाँचवटा ढोकाहरुमा चुकुल छैन । शौचालय प्रयोग गर्ने व्यक्तिले हातले वा गोडाले धकेलेर बस्नुपर्ने अवस्था छ, नभए बाहिर अर्काे व्यक्तिलाई रुङ्न लगाउनुपर्छ । त्यहाँका कम्तिमा तीनवटा शौचालयमा त पानीको धारासमेत छैन । धारा भएका ठाउँमा पनि पानी भर्ने भाँडा छैन । जर्किन काटेर बनाइएको भाँडामा पनि धारा होचो हुँदा पानी भर्न सकस हुन्छ ।


भेरी अस्पतालको उक्त शौचालयमा यो समस्या नौलो होइन । पटक–पटक यस विषयमा सन्चारमाध्यममा समाचार प्रकाशन हुन्छन् । अस्पताले चुकुल लगाउँछ । केही दिनपछि फेरि उस्तै । अस्पतालका प्रमुख डा. बद्री चापागाईं भन्छन्, ‘हामीले चुकुल र पानी भर्ने भाँडाहरु राखेकै हौँ । तर, धाराका टुटीहरुसमेत चोही भइहाल्छ । अब फेरि त्यसको व्यवस्था गरौँला ।’ डा चापागाईंले केही शौचालयमा धारा नै नहुनुका पछाडि प्राविधिक समस्या रहेको बताए । पहिले शौचालयको सिट होचो रहेको बेला सेफ्टी ट्यांकीबाट पानी भरिएर उल्टो बग्ने गरेकोमा पछि त्यसलाई अग्लो बनाउँदा बिरामीलाई उक्लिन अफ्ठ्यारो हुने, धारा राख्न नमिल्ने र राखेका ठाउँमा पानी भर्नै नसक्ने अवस्था आएको उनले बताए । उनले निकट भविष्यमै पुरानो घर भत्काएर नयाँ घर बन्न लागेकोले अहिले नै शौचालय सुधारका नाममा धेरै खर्च गर्न मिल्ने अवस्था नरहेको उनले बताए । ‘यद्धपि सकेसम्म सहज हुने वातावरण मिलाउँछौँ,’ उनले भने ।

 

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार