21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

जनताका प्रश्नको घेरामा खजुराका जनप्रतिनिधि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०८०  

वीरेन्द्र जैसी । नेपालगन्ज ।

खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिहरुलाई प्रश्नले घेरेका छन् । बुधबार आयोजित गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा यहाँका नागरिकले गाउँपालिकाका योजनामा भएका ढिलासुस्ती, लापरबाही र कार्यसम्पादनमा प्रश्न उठाएका हुन् । उनीहरुले योजनाहरुको कार्यान्वयनमा देखिएका ढिलासुस्तीमा अन्त्य गरेर चाडो सम्पन्न गर्न, अनावश्यक खर्च कटौती गर्न र गाउँपालिकाले गरेका कामबारे सहज सूचना दिने व्यवस्था मिलाउन ध्यानाकर्षण गराए ।

स्थानीय भीमबहादुर रानामगरले स्वास्थ्य संस्थामा सुगरको औषधि नपाइएको, खर्चको जानकारी नदिइएको, गाउँपालिकाका गौरवका आयोजनामा ढिलासुस्ती भएको र सरकारी सवारी साधनको दुरुपयोग भएको विषयमा प्रश्न उठाए । उनले प्रश्न गरे, ‘गाउँपालिकाका मोटरसाइकल गाउँपालिकाको कार्यालयमा पार्किङ गर्नुपर्नेमा कर्मचारीका घरमा किन राखिन्छन् ?’

स्थानीय चन्द्रप्रकाश भण्डारीले पनि अघिल्लो कार्यकालमा सुरु भएका योजना अलपत्र परेको विषयमा प्रश्न उठाए । उनले सभाहल, कोल्डस्टोर, गाउँपालिका भवन, खजुरा बजारको सडक र पुलको दुर्गतिबारे गाउँपालिकाले गरिरहेको काममा जवाफ मागे । स्थानीय असलम भाटले सार्वजनिक सुनुवाइमा गाउँपालिका अध्यक्षले अहिलेसम्म भएको खर्चको विवरण प्रस्तुत गर्न नसकेको, वेबसाइटको प्रयोग नभएको र अनावश्यकरुपमा विज्ञापनमा रकम खर्च गरिएको विषयमा प्रश्न उठाए । स्थानीय विजयकुमार यादवले गाउँपालिकाले जनप्रतिनिधिका लागि, कार्यालय प्रयोजनका लागि र अन्य प्रयोजनका लागि भनेर अस्वभाविक इन्धन खर्च गरिरहेको भन्दै के–के मा खर्च भइरहेको छ भन्ने उत्तर माग गरे ।

गाउँपालिकावासीले उठाएका प्रश्नमा गाउँपालिका अध्यक्ष डम्मर विक (तुफान), उपाध्यक्ष अञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी र वडाध्यक्षलगायतले जवाफ दिने प्रयास गरे । अध्यक्ष विकले अधिकांश पुराना योजना अब अन्तिम चरणमा रहेको बताए । उनले सभाहल र कोल्डस्टोर यही आर्थिक वर्षमा निर्माण सम्पन्न भइसक्ने दाबी गरे ।

खजुरा बजारको सडक अलपत्र परेको विषयमा आफूहरुले सम्बन्धित निकायहरुलाई दबाब दिएको उनले बताए । खजुरा बजारको पुलका लागि आगामी आर्थिक वर्षमा टेण्डर आह्वान हुने सम्भावना रहेको उनले बताए । गाउँपालिका भवन निर्माणमा ढिलासुस्ती भएको स्वीकार गर्दै अध्यक्ष विकले चाडो सम्पन्न गर्नका लागि निर्देशन दिइएको उल्लेख गरे ।

माथिल्ला सरकारअन्तर्गतका निकायबाट सञ्चालित योजनाहरुमा भएको ढिलासुस्ती र लापरबाहीका बारेमा आफूहरुले खबरदारी गरिरहेको उनको दाबी थियो । इन्धन खर्च कमभन्दा कम गर्न प्रयास गरिरहेको अध्यक्ष विकले बताए । ग्रीन सिटीअन्तर्गत स्थानीय जनता माविमा टनेल खेती सुरु भएको उनले बताए ।

गाउँपालिकाको खर्च विवरण सार्वजनिक गर्ने विषयमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले अब आफैँले वेबसाइटमा अपडेट भए नभएको अनुगमन गर्ने बताए । विज्ञापनमा अस्वभाविक खर्च गरिएको विषयलाई गम्भीररुपमा लिएको बताउँदै सुवेदीले त्यसलाई नियन्त्रण गरिने बताए । यसैगरी लक्षित वर्गको लागि मापदण्डअनुसार बजेट नछुट्याइएको विषयमा उठेको प्रश्नमा जवाफ दिँदै उपाध्यक्ष मल्लले आगामी बजेटमा सुधारको प्रयास गर्ने बताइन् । अध्यक्ष विकले सार्वजनिक सुनुवाइमा उठेका सवालहरुको समीक्षा गरी सुधारको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

५० प्रतिशत योजनाको मात्रै सम्झौता

खजुरा गाउँपालिकाले तर्जुमा गरेका गाउँस्तरीय योजनामध्ये ५० प्रतिशत योजनाको मात्रै ठेक्का सम्झौता गरिएको पाइएको छ । आर्थिक वर्षको तीन महिना मात्रै बाँकी रहँदा ५० प्रतिशत योजना मात्रै ठेक्कामा गएका पाइएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा हालसम्म भएका कामहरुको फेहरिस्त सार्वजनिक गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्मर विकले कुल २६ योजनामध्ये १३ वटा योजनाको मात्रै ठेक्का सम्झौता गरिएको जानकारी दिए । हालसम्म कुनै पनि योजना निर्माण सम्पन्न भएका छैनन् ।

प्रक्रिया र निर्माणका लागि सम्झौता भइसकेको उल्लेख गरेका छन् । विकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमा रहेका २६ वटा योजनामध्ये १३ वटा योजनाको मात्रै ठेक्का भएको छ । अघिल्लो कार्यकालमा तय भएकामध्ये पूरा नभएका ३० वटा योजनामध्ये अझै २३ वटा निर्माणाधीन रहेका पाइएको छ । हालसम्म अघिल्लो वर्षबाट ल्याइएका ६ वटा योजनामात्रै सम्पन्न भएका छन् भने एउटा योजनाको ठेक्का सम्झौता रद्ध गरिएको छ । खानेपानीको पाइप बिछ्याउने योजनाको कुनै काम हुन नसकेपछि ठेक्का रद्ध गरिएको अध्यक्ष विकले जानकारी दिए ।

बरु उपभोक्ता समितिबाट सञ्चालित योजनाहरुको भने अधिकांशको निर्माण सम्झौता भइसकेको पाइएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने दुई सय ७७ योजनामध्ये एक सय १६ वटा सम्पन्न भइसकेका छन् भने एक सय ४९ को सम्झौता भइसकेको छ । अब १२ वटा योजनाको मात्रै सम्झौता हुन बाँकी छ । यसैगरी गाउँपालिकामा हालसम्म विभिन्न स्रोतबाट ६३ करोड एक लाख २२ हजार आय भएकोमा ४० करोड २८ लाख ४३ हजार रुपैयाँ खर्च भएको अध्यक्ष विकले जानकारी दिएका छन् । हालसम्म एक करोड ४७ लाख २६ हजार मात्रै आन्तरिक आय भएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०८०     12:09:50 PM  |