4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

ठेला नहटाउन ठेला व्यापारीको माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०८०  

नेपालगन्ज (बाँके) ।

नेपालगन्जस्थित नर्सिङ होम अगाडि लक्ष्मी कसियबले ठेला व्यवसाय गर्न थालेको करिब १६ वर्ष भयो । यही ठेला व्यवसायबाट उनले सातजनाको परिवार पालनपोषण गरेकी छिन् । तर, अहिले १२ नम्बर वडाले नर्सिङ होम अगाडिका ठेला हटाउने भनेपछि उनी नेपालगन्ज उपमहानगरपालिका पुगिन् ।

नगर प्रमुखसँग भेट त भएन तर, उपप्रमुख कमरुद्दीन राईसँग उनले रोदनसहितको गुनासो व्यक्त गरिन् । उनीसहित अन्य ठेला व्यवसाय पनि नगरमा पुगेका थिए । ठेला व्यवस्थापनका नाममा गरी खाने समुदायको व्यवसाय उठिबास लगाउन नहुने भन्दै उनीहरुले उपप्रमुख राईको ध्यानाकर्षण गराए ।

करिब १४ वर्षदेखि ठेला व्यवसाय गर्दै आएका अशोकप्रसाद लामिछाने भन्छन्, ‘पहिला कुनै समस्या थिएन । पछिल्ला दुई÷तीन वर्षयता हामीलाई बेलाबेला दुःख दिने गरिएको छ ।’ वडा कार्यालयले ठेला व्यवसायीको सहमतिबिनै एकलौटी ढंगले ठेलालाई विस्थापित गर्न थालेको यहाँका ठेला व्यवसायीको भनाइ छ ।

‘यही ठेला व्यवसायबाट परिवार लालनपालन गर्दै आएको छुँ,’ ठेला व्यवसायी कयुम पठानले भने, ‘यहाँबाट उठिबास लगाए कहाँ बसेर पेट पाल्ने ।’ उपमहानगरपालिकाले अहिले ठेला व्यवस्थापन गर्न थालेको छ । सोहीअनुसार १२ नम्बर वडा कार्यालय आफ्नो वडा क्षेत्रमा पर्ने ठेलाहरुलाई व्यवस्थित बनाउँदै लिएका छन् ।

वडा कार्यालयले ठेला व्यवस्थापनका लागि भेरी प्राविधिक लाइनमा सटर निर्माण गरेको छ । जहाँ सटरहरु ठेक्कामा दिइसकिएको छ । व्यापार नहुने ठाउँमा सटर निर्माण गरिएको लक्ष्मीले बताइन् । महँगो सटर भाडा तिर्न नसकिने उनको भनाइ छ ।

अहिलेकै स्थानमा ठेला व्यवसाय सञ्चालन गर्न दिनुपर्ने ठेला व्यवसायीले माग गरेका छन् । सरसफाइ, व्यवस्थित ठेला र फुटपाथ अबरुद्ध नगर्ने ठेला व्यवसायीहरु बताउँछन् । नगरले ठेला व्यवसायीको माग सम्बोधन नगरे आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् । अहिलेको ठाउँबाट हटाउन नहुने बरु आफूहरु नगरलाई कर तिर्न तयार रहेको यहाँका ठेला व्यवसायीको भनाइ छ ।

नगर पुगेका ठेला व्यवसायीलाई उपप्रमुख राईले आफू ठेला व्यवसायीको पक्षमा रहेको बताए । ‘ठेला राख्दा राखिएका ठाउँवालालाई (नर्सिङ होमसलाई) समस्या छैन भने हामीलाई किन समस्या,’ उनले ठेला व्यवसायीलाई सम्बोधन गर्दै भने, ‘ठेला हटाउने निर्णय मेरोतर्फबाट भएको होइन र हुँदैन ।’

त्रिभुवन चोकलगायतका क्षेत्रमा समस्या सिर्जना नभएको भन्दै उनले भने, ‘व्यवस्थित गरेर ठेला लगाउनूस् । फोहोर नगर्नु, फुटपाथ कब्जा नगरेरै व्यवसाय गर्नु । थप म मेयर’सापसँग छलफल गरौँला ।’ अहिले समस्या सिर्जना भएको स्थानमा ‘मार्क’ लगाएर व्यवसाय गर्न सकिने उनी बताउँछन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख २८, २०८०     12:02:28 PM  |