21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

कोहलपुर: पहिलो साक्षर पालिकादेखि स्थानीय पाठ्यक्रम लागूसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २५, २०८०  

कूल ३२ बुँदामा उल्लेख गरिएको नीति तथा कार्यक्रममा शैक्षिक योजना, शैक्षिक गुणस्तर कार्ययोजनालाई कार्यान्वयन गर्नेदेखि नगरस्तरीय अभिभावक संघ गठनसम्मका कार्यक्रम छन् ।

कोहलपुर ।

कोहलपुर नगरपालिका बाँकेको पहिलो साक्षर घोषित पालिका हो । नगरपालिकालाई २०७८ जेठ ३१ गते साक्षर नगरपालिका घोषणा गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार कोहलपुरको कूल साक्षरता प्रतिशत ८२.६१ छ । कोहलपुरका ८८.४४ प्रतिशत पुरुष साक्षर छन् भने महिला ७७.७१ प्रतिशत साक्षर छन् ।

शिक्षा युवा तथा खेलकुद शाखाका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १ मा ९९.२४, वडा नम्बर २ मा ९८.९७, वडा नम्बर ३ मा ९६.९६, वडा नम्बर ४ मा ९२.९७ र वडा नम्बर ५ को ९७.६८ प्रतिशत छ । यस्तै वडा नम्बर ६ मा ९९.४०, वडा नम्बर ७ मा ९६.२३ र वडा नम्बर ८ मा ९४.३०, वडा नम्बर ९ मा ९८.७०, वडा नम्बर १० मा ९६.४८ प्रतिशत छ ।

यसैगरी वडा नम्बर ११ मा ९६.२२, वडा नम्बर १२ मा ९६.९३, वडा नम्बर १३ मा ९६ प्रतिशत, वडा नम्बर १४ मा ९१ प्रतिशत र वडा नम्बर १५ मा ९९.६१ प्रतिशत जनसंख्या साक्षर छन् । कोहलपुरको शैक्षिक इतिहास सात दशक पुरानो छ । कोहलपुरको सबैभन्दा पुरानो शैक्षिक संस्था हालको त्रिभुवन नमुना माध्यमिक विद्यालय हो । यो विद्यालय २०१६ मा स्थापना भएको हो ।

यो विद्यालय कोहलपुरका शिक्षासेवी हरिप्रसाद रावतको अगुवाइमा चटारको खुला मैदानमा सुरु भएको थियो । यो विद्यालयको नाममा सुरुवात नेपाल राष्ट्रिय प्राथमिक विद्यालय थियो । कोहलपुरमा विद्यालय स्थापनाको ५९ वर्ष लामो इतिहासमा तुलनात्मकरुपमा सामुदायिक विद्यालयको विकास भइरहेको छ । संस्थागत विद्यालयको पनि निकै ठूलो विकास भएको छ ।

कोहलपुर क्षेत्रमा ३० वटा सामुदायिक विद्यालय छन् । यसमध्ये २८ वटा विद्यालयअन्तर्गत ८१ वटा बालविकास केन्द्र रहेका छन् । कक्षा १ देखि १२ सम्म पढाइ हुने हुने पाँचवटा, कक्षा १ देखि १० सम्म पढाइ हुने १० वटा सामुदायिक विद्यालय छन् । यसैगरी, कक्षा १ देखि ८ सम्म पठनपाठन हुने सातवटा विद्यालय छन् । यस्तै कक्षा १ देखि ५ सम्म पढाइ हुने १२ वटा विद्यालय छन् । उक्त विद्यालयहरुमा बालविकास तहदेखि कक्षा १२ सम्म १५ हजार नौ सय ७६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

कोहलपुरमा विश्वविद्यालय तह, प्राविधिक तहमा व्यावसायिक तहमा अध्ययन भइरहेको छ । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा रहेको एक मात्र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हो । कक्षा ११ देखि स्नाकोत्तर तहसम्म पठनपाठन हुन्छ । यस्तै यहाँ निजी क्याम्पसहरु समेत सञ्चालनमा रहेका छन् ।

प्राविधिक शिक्षा र व्यावसायिक तालिमअन्तर्गत लक्ष्मी माध्यमिक विद्यालयमा एक सय ५८ जना कृषि विषयमा प्राविधिक धार सञ्चालन भएको छ । गोर्खा युनाइटेड इंग्लिस मिडियम स्कुल (माध्यमिक विद्यालय) मा स्नातक तहको वन विज्ञान संकाय सञ्चालनमा छ । दुईवटा सामुदायिक माध्यमिक विद्यालय (त्रिभुवन मावि र ज्ञानज्योति मावि) हरुमा सीटीईभीटीका १८ महिने र तीन बर्से प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रमहरु सञ्चालनमा छन् ।

निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयको अवस्था राम्रो रहेको छ । निजी क्षेत्रबाट प्लेगु्रप तथा मण्टेश्वरी विधिका प्राथमिक तहका नौवटा, कक्षा १–८ वटा र कक्षा १–१० वटा गरी कुल ५५ वटा विद्यालयहरु सञ्चालनमा रहेको कोहलपुर नगरपालिकाले जनाएको छ । अनुमति पाएका तीनवटा विद्यालय सम्पर्कमा छैनन् ।

यीमध्ये ५२ वटामा नर्सरी र केजी कक्षा, पाँचवटा कक्षा २ सम्म, तीनवटामा कक्षा ३ सम्म, १४ वटामा कक्षा ५ सम्म, एकवटामा कक्षा ७ सम्म, तीनवटामा कक्षा ८ सम्म, २४ वटामा कक्षा १० सम्म र सातवटामा कक्षा १२ सम्म पठनपाठन हुन्छ । उक्त विद्यालयमा प्राथमिक तहमा चार हजार ८८ जना, कक्षा १ देखि ५ सम्ममा चार हजार आठ सय ७४ जना, कक्षा ६ देखि ८ सम्ममा तीन सय ४७ जना, कक्षा ९ र १० मा एक हजार सात सय २३ जना, कक्षा ११ र १२ मा एक हजार पाँच सय ९५ र कूल १५ हजार सात सय ५९ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । कूल ३२ बुँदामा उल्लेख गरिएको नीति तथा कार्यक्रममा शैक्षिक योजना, शैक्षिक गुणस्तर कार्ययोजनालाई कार्यान्वयन गर्नेदेखि नगरस्तरीय अभिभावक संघ गठनसम्मका कार्यक्रम छन् ।

बालविकास केन्द्रका शिक्षकका लागि सुनौलो कोशेली कार्यक्रम, विद्यालयको शिक्षामा प्रभावकारिता ल्याउने प्रधानाध्यापक तथा कर्मचारीलाई प्रोत्साहन कार्यक्रम छ । आवासीय विद्यालय निर्माण, पुस्तकालय सुदृढीकरण र शिक्षा क्षेत्रको विकासका लागि युट्युब च्यानल सञ्चालन गर्ने योजना छ । यस्तै नमुना प्राथमिक विद्यालय तोक्ने, सबै सामुदायिक विद्यालयमा शौचालय र खानेपानीको व्यवस्था गर्ने छ । यस्तै मेरो विद्यालय, मेरो जिम्मेवारी कार्यक्रम लागु गर्ने रहेको छ । यस्तै निःशुल्क सेनेटरी वितरण गर्ने रहेको छ ।

कोहलपुरको शिक्षा क्षेत्रको लागि थुप्रै राम्रा उपलब्धि भएका छन् । शाखाले विगत दुई आर्थिक वर्षमा शाखाबाट भएका मुख्य कार्यहरु उल्लेख गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कूल २० वटा उपलब्धि हासिल गरेको शाखा प्रमुख रामबहादुर हमाल बताउँछन् ।

सबै सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान गरिएको, शिक्षक संख्या नपुगेको विद्यालयमा नगर अनुदानबाट शिक्षक व्यवस्थापन गरिएको र सबै आधारभूत विद्यालयमा कम्प्युटर वितरण गरिएको उनले बताएका छन् । युवा प्रतिभा पहिचान कार्यक्रम, कक्षा थप, विद्यालय स्थानान्तरण तथा नामाकरणसम्बन्धी कार्यविधि निर्माण गरिएको शाखाले जनाएको छ ।

बालविकास केन्द्रलाई बालमैत्री शैक्षिक सामग्री प्रदान गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा पनि नीति तथा कार्यक्रमअनुसार नै काम भइरहेको शिक्षा शाखाले जनाएको छ । भौतिक निर्माणअन्तर्गत विद्यालय, शौचालय, शुद्ध पिउने पानीका लागि धारा निर्माण गरिएको छ । आइसिटी र ल्याबको व्यवस्थापन गरिएको छ ।

कोहलपुरको आफ्नै हाम्रो कोहलपुर नामक स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक (१–५) लागू गरिएको शाखा प्रमुख हमाल बताउँछन् । यस्तै विद्यालयको सिकाइ उपलब्धि गरिएको छ । यस्तै कोहलपुरमा शिक्षा ऐन लागू गरिएको छ । प्राविधिक शिक्षालाई जोड दिइएको छ । पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको छ । नगरपालिकाले स्वयम्सेवक शिक्षकको अवधारणा ल्याएको छ । कोहलपुर नगरपालिका शैक्षिक हबको रुपमा विस्तार हुँदैछ ।

प्रकाशित मितिः सोमवार, बैशाख २५, २०८०     3:14:31 PM  |