पूर्वराजालाई अभिन्दनको सन्देश के ? व्यवस्थाभन्दा नेताबाट पिरोलिएको भीड



वीरेन्द्र जैसी,नेपालगन्ज
रामलीला मैदानको मध्यभागको सडकदेखि मञ्चसम्म बिछ्याइएको रातो कार्पेट । कार्पेटमाथि फूल । राजाको फोटो प्रिन्ट गरिएका र राजाका लागि भक्तिपूर्ण गीतका पंक्ति उल्लिखित टिसर्ट लगाएका स्वयम्सेवकले पहरा दिइरहेका । सिमसिम पानीमा लामबद्ध भएर स्वागत गर्न बसेका नागरिक, रामलीला मैदानको मञ्चअघि व्यवस्था गरिएको विशाल टेन्टमुनि खचाखच भरिएका मानिस । तिनै मानिसमध्ये एक थिए, ‘बर्दियाको बाँसगढीका कालुराम थारु ।’

कालुराम राजालाई राम्ररी हेर्न पाइने आशामा मञ्चको ठीक अगाडि पहिलो लाइनमा बसेका थिए । संक्षिप्त कुराकानीमा उनले आफूसहित बाँसगढीबाट एक बस भरिएर मानिस नेपालगन्ज आएको बताए । बसको भाडा उनले तिर्नुपरेन । कसैले व्यवस्था गरिदिएको थियो । राजाबारे उनको धारणा जान्न खोज्दा उनले भने, ‘राजा आउनुपर्छ । तबमात्र देश बन्छ ।’ उनले अहिलेका राजनीतिक दलहरुले देशमा गरिखान नसक्ने अवस्था बनाएको बताए । उनले अघि भने, ‘राजा आउनुपर्छ । राजनीतिबाट होइन । पहिलेकै जस्तो सम्मानसहित । राजनीतिबाट आयो भने त अरुजस्तै भइगो नि ।’


नेपालगन्जको बाबा गाउँका करिब ७५ वर्षीय गुरे भाट पनि बसमा चढेर राजालाई हेर्न रामलीला मैदान पुगेका थिए । उनले पनि बसको भाडा तिर्नुपरेन । ‘राजालाई हेर्न पाइने भएपछि आएको हुँ,’ उनले भने, ‘राजा फेरि आइदिए राम्रो हुन्थ्यो ।’ तर कसरी ? भन्ने प्रश्नको उत्तर उनले बताउन सकेनन् । सिमसिम पानी परिरहेका बेला छाता ओढेर राजालाई अभिन्नद गरिसकेपछि प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाको भाषण सुनिरहेका नेपालगन्ज निवासी गंगाराम खड्काको अनुहारमा खुसी थियो । दौरा सुरुवालमा ठाँटिएर आएका उनी ३५ वर्षदेखि आफू राप्रपामा संलग्न रहेको बताउँदै थिए । उनले एकदिन फेरि राजाको शासन आउँछ भन्ने आशमा राप्रपामा संलग्न रहेको बताए । अहिले बिस्तारै राजाप्रति मानिसहरुको आकर्षण देखेर त्यो आशा झनै बलियो भएको उनले बताए । ‘हेर्नूस् यी पार्टी भन्नेहरुको चाला । पाँच महिना पनि सरकार टिक्दैन । जनताको हालत के छ मतलबै छैन । राजा आएपछि सुबिस्ता हुन्छ,’ उनले विश्वास प्रकट गरे ।
नेपालगन्ज निवासी साहित्यकार एवम् सञ्चारकर्मी विष्णुलाल कुम्हालले राजाको अभिनन्दनमा उर्लिएको भिड अपेक्षित नै भएको बताए । उनले भने, ‘यत्रो जनसंख्या भएको नेपालगन्जमा यो उपस्थिति धेरै ठूलो होइन । फेरि बाँकेभन्दा बाहिरका जिल्लाबाट गाडीमा मानिसहरु ल्याइएका छन् । आज पानी परेर पनि उपस्थिति कम भयो कि जस्तो लाग्छ ।’ उनले राजाप्रति जनतामा देखिएको आकर्षणले राजनीतिक दलका नेताहरुलाई सचेत हुन सन्देश दिएको बताए । ‘राजाले एक लाइन बोल्दै नेताहरु तर्सिन्छन् । उनीहरुले आफूलाई सुधार्न सकेनन् भने उनीहरुकै क्षति हुन्छ,’ उनले थपे ।

अभिनन्दनपछि आफ्नो धारणा राख्दै बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. राणाले अब राजाको सक्रियता आवश्यक भइसकेको बताए । उनले राजा र राजनीतिक दलको सहकार्य नै नेपालका लागि ठीक विकल्प भएकोमा जोड दिए । डा. राणाले आफूहरु हिन्दु राष्ट्रसहितको राजतन्त्रात्मक व्यवस्था फर्काउन लागिपरेको र राजाको अभिनन्दनमा भएको उपस्थितिले आफूहरुलाई हौसला थपेको बताए । ‘राजा सबैका साझा हुन् भन्ने कुरा आजको यो उपस्थितिले फेरि सन्देश दिएको छ ।’

राजनीति विश्वेलषक प्रा.डा. जनार्दन आचार्यले पूर्वराजाले अभिनन्दनपछि दिएको अभिव्यक्ति जनताको पीडाको अभिव्यक्ति भएको प्रतिक्रिया दिए । राजाको अभिव्यक्ति सुन्न रामलीला मैदान पुगेका उनले अभिनन्दमा सबै दलमा आबद्ध, विभिन्न उमेर समूह र क्षेत्रका मानिसहरुको उपस्थितिले राजाप्रतिको जनताको बढ्दो चासोलाई व्यक्त गरेको बताए । त्यसभन्दा बढी राजाले सम्बोधनमा बोलेको कुराले अहिलेको देशको परिस्थिति र जनताको पीडाको निचोड बोलेको विश्लेषण उनको छ । ‘यही कुरा अहिलेका राजनीतिक दलका नेताहरुले बोलेको भए उनीहरु धन्यवादका पात्र हुन्थेनन् ।

तर पूर्व राजाले हामीजस्ता आममान्छेले बोलिरहेका तर कसैले नसुनेका अभिव्यक्तिहरु बोलिदिएका छन् । यस कारण उनलाई धन्यवाद दिनुपर्छ,’ आचार्यले भने । राजाले अहिलेको व्यवस्था ‘नेताद्वारा नेताका निम्ति, दलद्वारा दलका निम्ति’ भएको भने दिएको अभिव्यक्ति तर्कपूर्ण रहेको पनि बताए । उनले राजाले नेपालगन्जको कार्यक्रममा पहिलेभन्दा खुलेर अभिव्यक्ति दिएको बताउँदै अब राजाको राजनीतिक सक्रियता बढ्ने अर्थमा बुझन सकिने उल्लेख गरे । आचार्यले भने, ‘सबैभन्दा मुख्य कुरा हाम्रा राजनीतिक दलहरु सुध्रिन ढिलो नहोस् ।’

राजावादी तथा हिन्दुवादी राजनीतिक दल एवम् विभिन्न संघसंस्थाको तर्फबाट पूर्वराजालाई अभिनन्दन कार्यक्रम गरिएको हो । कार्यक्रममा मूल आयोजक कमिटीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा. राणा र अन्य २० वटा संघसंस्थाका प्रमुखहरुका तर्फबाट गरी २१ वटा अभिनन्दनपत्र राजालाई प्रदान गरिएको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । कार्यक्रममा पूर्वराजा शाहसँगै उनकी धर्मपत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा पनि सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २१ गते बिहीबार