जुँगे महादेव पुग्ने पुल पुनःर्निमाण हुँदै



नेपालगन्ज,
नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिरअघिको तलाउमा रहेको जुँगे महादेवको मूर्तिसम्म जाने पुलको पुनःनिर्माणको काम सुरु भएको छ । दुई करोड रुपैयाँमा बोलपत्र आह्वान भएकोमा त्यसको करिब ४५ प्रतिशत कममा बोलपत्र परेको उपमहानगरपालिकाका इन्जिनियर भुपेन्द्र बोहराले जानकारी दिए । ग्रेटर नेपाल निर्माण सेवाले प्राप्त गरेको उक्त पुल निर्माणको ठेक्का एक वर्षका लागि तोकिएको छ ।


मन्दिरमा रहेको जुँगे महादेवको प्रतिमा सम्म जाने पुल वर्षाैँ पुरानो भएका कारण जीर्ण भइसकेको थियो । चाप बढी हुँदा पुल भत्कन सक्ने जोखिम औँल्याउँदै आइएको थियो । चालु आर्थिक वर्ष २०७९–८० मा नेपालगन्ज उपमहानगरपालिकाले बजेट छुट्याएर पुल पुनर्निमाण गर्न लागेको हो । अहिले तलाउको पानी सुकाइएको छ । जुँगे महादेवको मन्दिर र मूर्ति यथावत् राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको बताउँछन् । उनले बागेश्वरी प्रसिद्ध शक्तिपीठ पनि भएकाले डिपिआर बनाएर मन्दिर आसपास सौन्दर्यकरण गर्ने योजना पनि ल्याइने बताएका छन् ।

अब निर्माण हुने पुल पहिलेभन्दा बाटो फराकिलो बनाइने छ । यसका साथै मन्दिरभित्र पूजा गर्ने स्थान पनि फराकिलो हुने बताइएकोे । नयाँ संरचना निर्माण भएपछि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने र नजिकै पार्कसमेत निर्माण हुने उपमहानगरपालिकाले जनाएको छ । पुललाई अग्लो बनाएर पिलर राखिने छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीच भागमा रहेको जुँगे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । नयाँ पुल निर्माण भएपछि शिवरात्रि, नवरात्रीलगायत विभिन्न चाडपर्वका समयमा भक्तजनको भीड हुने समयमा यात्रुहरुको चाप भएका बेला पनि सहज हुने अपेक्षा गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार