अख्तियारमा हुलाकमार्फत उजुरी दिने धेरै



नेपालगन्ज,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखितभन्दा अन्य माध्यबाट उजुरीहरु बढी पर्न थालेका छन् । आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीहरुको वेबसाइटले स्वतः विश्लेषण गरेको तथ्यांकअनुसार लिखित भन्दा अन्य माध्यमबाट धेरै उजुरीहरु पर्ने गरेका देखिन्छ ।

चालु आर्थिक वर्ष २०७९–८० को चैत्र मसान्तसम्म कार्यालयमा परेका तीन सय ३० उजुरीमध्ये ९७ वटा मात्रै कार्यालयमै पुगेर लिखितरुपमा परेका उजुरीहरु छन् । अरु उजुरीमध्ये ८२ वटा इमेलमार्फत, एक सय वटा हुलाकमार्फत, ३० वटा टेलिफोनमार्फत र १० वटा समाचारपत्रमार्फत परेका छन् ।

यसरी हेर्दा अख्तियार उजुरी गर्दा कार्यालयमै पुगेर उजुरी गर्नुपर्छ भन्ने धारणा कम हुँदै गएको अर्थमा बुझ्न सकिने कार्यालयका प्रमुख गणेशबहादुर अधिकारी बताउँछन् । अख्तियारले एसएमएस, फेसबुक, भाइबर र आयोगको वेबसाइटबाट समेत उजुरीहरु संकलन गर्ने गर्दछ ।

अधिकारीले उजुरीका प्रविधिका नयाँ माध्यमको प्रयोग गर्दा उजुरीको वस्तुपरकतामा भने ध्यान दिन आग्रह गरेका छन् । उनले जहाँ भ्रष्टाचार भएको आशंका छ वा कुनै प्रमाण भेटिएको छ त्यही विषय मात्रै प्रष्टसँग खुलाएर उजुरी गर्न आग्रह गरे । पछिल्लो समय उजुरीका नाममा कतिपय अवस्थामा रिसिइबी साँध्ने उदेश्यले अस्पष्ट र सम्बद्ध निकायका सबै योजनाहरुलाई एकै डालोमा हालेर उजुरी दिने क्रम बढेको उनले बताए । यस्ता उजुरीमा अनुसन्धान गर्न समय पनि लाग्ने उनले बताए ।

 

 

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार