पूर्वराजालाई अभिनन्दन गरिँदै



नेपालगन्ज,
आज नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई अभिनन्दन गरिने भएको छ । राप्रपा लगयत हिन्दु तथा राजतन्त्रवादी राजनीतिक दल तथा धार्मिक संस्थाहरुले पूर्वराजालाई अभिनन्दन गर्न लागेका हुन् । राप्रपाका केन्द्रिय सहमहामन्त्री ऋषिराज देवकोटाका अनुसार रामलिला मैदानमा पूर्वराजालाई अभिनन्दन पत्रसहित नागरिकका तर्फबाट अभिनन्दन गरिने छ । कार्यक्रममा पूर्वराजा शाहले संक्षिप्त सम्बोधन पनि गर्ने पनि देवकोटाले बताए । कार्यक्रमलाई लाई भव्य बनाउन पाँच हजार एक सदस्यीय मूल समिति गठन गरी तयारी गरिएको छ ।

पूर्व राजा शाह नेपालगन्जलाई केन्द्र बनाएर पश्चिम नेपालको भ्रमणका लागि नेपालगन्जमा छन् । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाको अगुवाईमा अभिनन्दको तयारी भइरहेको छ । देवकोटाका अनुसार कुनैपनि पार्टीको ब्यानर नराखी संयुक्तरुपमा नागरिक अभिनन्दन गरिन लागेको हो । विभिन्न धार्मिक संघ–संस्थाको प्रतिनिधित्व गर्दै नागरिकहरुले राजालाई अभिनन्दन गर्न पाउने छन् । देवकोटाले राजा हिन्दु धर्मावलम्वीका लागि आस्थाका केन्द्र भएकोले सबैको उल्लासपूर्ण सहभागिता हुने दाबी गरे ।

पूर्वराजा नेपालगन्जलाई केही समय केन्द्र बनाएर कर्णाली र सुदूरपश्चिमको विभिन्न जिल्लाको भ्रमणसमेत गर्ने तालिका रहेको बताइएको छ । पूर्व राजा शाह सोमबार नेपालगन्जसिथत बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी भएका थिए । शाहसँगै धर्मपत्नी कोमल, छोरी प्रेरणा र बुहारी हिमानी पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार