कोहलपुर, १४ वैशाख
बैंक तथा वित्तीय संस्थाहरुमा अपांगता भएका व्यक्तिहरुको पहुँच वृद्धि गर्न आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । सहकारी, लघुवित्त तथा बैंकहरुबाट प्रवाह हुने सेवामा अपांगता भएका व्यक्तिहरुको पहुँच वृद्धि गर्न आवश्यक रहेको सरोकारवालाहरुले जोड दिएका हुन् ।

कोहलपुरमा सम्पन्न अपांगता व्यक्ति र बैंक तथा वित्तीय संस्थाकाका प्रमुखहरुसँगको गरिएको छलफल कार्यक्रमका सहभागीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवामा अपांगता भएका व्यक्तिको पहुँच वृद्धि गर्नुपर्ने माग गरे । वित्तीय संस्थाले दिने सेवा, सुविधा र अवसरमा अपांगता भएका व्यक्तिहरुको समावेशी पहुँच बढाउने अन्तरक्रियाको उद्देश्य हो ।
उक्त अवसरमा बोल्दै अपांगता सशक्तिकरण एवम् सञ्चार केन्द्र बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दीपा थापाले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा सुविधामा अपांगता भएकालाई प्राथमिकता दिनुपर्ने बताइन् । उनका अनुसार व्यवसाय गर्नका लागि चाहिने कर्जा प्रक्रियामा समेत अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्छ ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत शारदा पोखरेलले लघुवित्तहरुले समाजका ग्रामीण क्षेत्रका नागरिकसँग जोडिएको भन्दै लघुवित्तका माध्यमबाट अपांगता भएका व्यक्ति तथा व्यवसायीहरुलाई ऋण प्रवाह गराउँदा सहज हुने बताएकी थिइन् । अपांगता भएका व्यक्तिहरुले केही गर्न सक्दैनन् भन्ने मानसिकतासमेत हट्न आवश्यक रहेको उनको भनाइ छ ।
उक्त अवसरमा बोल्दै ग्लोबल बैंकका निर्मलराज बुढाथोकीले राज्यले प्रवाह गर्ने सहुलियत कर्जामा अपांगता व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइने बताए । व्यवसाय प्रवद्र्धनका लागि कृषि र महिला कर्जाको व्यवस्था गरिएको उनी बताउँछन् ।
उद्यमीहरुलाई १५ लाख रुपैयाँसम्मको कर्जा पाइने उनको भनाइ छ । उक्त अवसरमा बैंकहरुले हरेक वर्ष प्रदान गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गतको सहायता अपांगता भएका व्यक्तिहरुलाई प्रदान गरिने प्रतिबद्धता जनाए ।
उक्त छलफल कार्यक्रममा आगामी दिनमा अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राख्ने विषयमा व्यापक छलफल भएको डेक नेपालका परियोजना संयोजक पारस विकले बताए । डेक नेपालद्वारा सञ्चालित फ्युचरमेकर्स परियोजना स्ट्याण्डर चार्टर फाउण्डेसनको आर्थिक सहयोग र सिविएम ग्लोबलको साझेदारीमा बाँकेका दुई पालिकामा सञ्चालनमा छ । छलफलमा कोहलपुर, बैजनाथ, राप्तीसोनारी र नेपालगन्जका अपांगता भएका व्यक्ति तथा बैंक, लघुवित्त सहकारी र वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्