नेपालगन्ज,
पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनलाई भव्य बनाउन पाँच हजार एक सदस्यीय मूल समिति गठन गरिएको छ । यसका साथै १४ वटा उपसमितिहरु पनि गठन गरिएको छ । राप्रपाका महामन्त्री एवम् प्रतिनिधिसभाका सांसद डा. धवलशमशेर राणाको संयोजकत्वमा गठित मूल समितिमा राजतन्त्र पक्षधर र हिन्दु संघ संंस्थाका प्रतिनिधिहरुलाई समावेश गरिएको छ ।
यसैगरी मञ्च व्यवस्थापन उपसमितिमा ओमप्रकाश आजाद, आर्थिक उपसमितिमा नन्दलाल वैश्य, प्रचारप्रसार उपसमितिमा ऋषिराज देवकोटा र स्वागत उपसमितिमा नितु चन्द संयोजक छन् । यस्तै, तारामान कुँवरको संयोजकत्वमा यातायात, बिन्दु चर्तिमगरको संयोजकत्वमा संघसंंस्था समन्वय, हुकुम केसीको संयोजकत्वमा स्वयम्सेवक र मंगल जीएमको संयोजकत्वमा सुरक्षा उपसमिति गठन गरिएको छ ।
यसैगरी पवित्रा सुब्बाको संयोजकत्वमा अनुगमन, रुद्र न्यौपानेको संयोजकत्वमा पार्टी परिचालन, मदनराज शर्माको संयोजकत्वमा धार्मिक समन्वय, गौरव चन्दको संयोजकत्वमा प्रचारप्रसार सामग्री व्यवस्थापन, इन्दिरा शाहीको संयोजकत्वमा स्वास्थ्य र सलाउद्दीन जसगढको संयोजकत्वमा मुस्लिम समुदाय समन्वय उपसमिति गठन गरिएको छ ।
पूर्वराजालाई वैशाख २० गते नेपालगन्जको रामलीला मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । पूर्वराजा परिवारसहित शुक्रबार नेपालगन्ज आउने कार्यक्रम छ । प्रचारप्रसार उपसमितिका संयोजक ऋषिराज देवकोटाका अनुसार शाह १७ गते जुम्ला भ्रमणमा जाने कार्यक्रम छ भने १८ गते नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्