21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

रिपोर्टरको डायरी : यो कथा हो, ‘बुद्धिवीर’ ओली को ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ११, २०८०  

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर–ढकेरी सडक खण्ड । कोहलपुरदेखि १० किलोमिटरको दुरीमा पुगिन्छ, ढकेरी । ढकेरीबाट पक्की सडक हुँदै पूर्व लागे पूर्व नै पुगिन्छ । प्रदेश र संघीय राजधानी खाल्डोदेखि सगरमाथाको भूमिसम्म । नेपालको पूर्वी देशान्तर काँकरभिट्टासम्मै ।
तर ढकेरी चोकबाट तपाई उत्तरतर्फ भित्र छिर्नुभयो भने प्रस्थान विन्दूमै बुद्ध मुर्तिसहितको बुद्धचोक छ । नजिकै छ, पाठशाला । नाम हो– गणेश माध्यमिक विद्यालय । पक्की र कच्ची सडक यात्रासँगै सुरु हुन्छ, ग्रामिण गाउँ ।


बीचमा बाँके राष्ट्रिय निकुञ्जको हात्ती सफारी क्षेत्र भेटिन्छ । यो बुच्चापुर गाउँको क्षेत्र हो । शान्त र सुन्दर कृषिमय छ, बुच्चापुर । मध्यवर्ती क्षेत्रसमेत रहेको यस क्षेत्रका नागरिक कृषि पेसामा निर्भर छन् । ढकेरीदेखि स्याउली बजारसम्म पुग्न ३ किलोमिटर यात्रा गर्नुपर्छ । नाम मात्रै बजार हो । पूर्ण रुपमा गाउँ हो त्यो ।
बुच्चापुर गाउँबाट पक्की पुल तरेर पुगिन्छ, स्याउली बजार । त्यही स्याउली बजारका गाउँले बासिन्दा हुन्, बुद्धवीर ओली (५६) । बुद्धवीर, नाम एक परिचय अनेक भएका व्यक्ति हुन् ।

चौकीदार, पशुपालक, किसान, व्यवसायी, गाउँका डाक्टर उनका परिचय हुन् । यतिमात्रै होइन उनी सहयोगी भावनाले ओतप्रोत मानिस हुन् । ओली सुर्खेतमा जन्मिए । उनको कर्मभूमी बन्यो बाँके । सुर्खेतबाट तीन दशक अघि तराईं झरेका थिए उनी ।

सपरिवार रित्तो हात तराई झरेका उनी अहिलेपनि ऐलानी जग्गामा बस्छन् । तर अहिलेसम्म त्यहाँको खहरे खोला धेरै बगिसकेको छ । बुद्धबीर स्याउली बजार र बुच्चापुर क्षेत्रको परिचित नाम हो । त्यतिमात्र कहाँ हो र ढकेरीदेखि शम्शेरगञ्जसम्म । गाउँमा दुःख पर्दा होस् । शुभ कार्य हुँदा । जहाँ जतिबेलापनि पुग्छन् उनी । सुर्खेतमा जन्मिएका उनले जीवनका चार दशक यतै बिताए ।

ग्रामिण गाउँ र भुपडीमा सुखसयल

स्याउली बजार जोड्ने पुल तरेपछि केही मिनेटमा पुगिन्छ, ओलीको घरमा । खरले छाएको छ, घर । आँगनमा एकतिर एक हल गोरू छन् । अर्कोपट्टी लैनांै भैँसी छ । अलि पर बाख्राको खोर छ । राप्ती सोनारी–९ का अधिकांश बस्तीका खेत जोतेका छन् उनले पालेका गोरूहरुले ।

उनले पछिल्लोपटक एक हल गोरू पाल्न थालेको मात्रै १८ वर्ष पुग्यो । सेतो रंङका दुवै गोरू अहिलेपनि बलिया छन् । उनले उनीहरूलाई खानपिनको कुनै कमी हुन दिएका छैनन् ।

 

‘उनीहरूले नजोतेका खेत छैनन् । आम्दानीका प्रमुख स्रोत हुन् मेरा । छोरी छोरी जस्तै गरेर पालेको छु ।’ उनले भने । एउटा लैनों भैसी छ । जसको दुध गाउँभरीलाई पु¥याउँछन् उनी । बाख्राहरुको एक बथान छ । पूर्ण रूपमा कृषि कर्ममा रमाएका उनको दैनिकीको सेड्युल एकदमै व्यस्त छ । विहान उठेदेखि राती अबेरसम्म कुनैपनि बेला उनी खाली हात बस्दैनन् । हरेक सेकेण्ड कुनै न कुनै काम गरिरहेका हुन्छन् ।

उनका अनुसार बानी नै परिसक्यो अहिले त । केही काम नगरी बस्नै सकिदैन । यी सबै काम उनी एक्लै फत्ते गर्छन् । ओलीकी श्रीमती यी सबै काममा सहायकको भूमिकामा छिन् । व्यस्त दैनिकीका केन्द्रिय पात्र उनी नै हुन् । घरमा श्रीमान र श्रीमती मात्रै बस्छन् ।

तीन छोरा र एक छोरी छन् । उनीहरू सबै आ–आफ्नो काममा छन् । आम नेपाली अभिभावक जस्तै उनीहरूको व्यथापनि एउटै छ । सानोमा हुर्काए, बढाएका छोराहरु खाडीमा पसिना बढाइरहेका छन् । उनीहरू बढेसकालमा घरमा दुःख गरिरहेका छन् । छोरीको विवाह भइसक्यो । ओली भन्छन्, ‘ठिकै छ जीवन । यसरी चलिरहेकै छ । हेरौ कतिदिन चल्छ ।’

जिविकोपार्जनका लागि तरकारी र कागती खेती

ओली पूर्ण रुपमा कृषि कर्ममा आवद्ध छन् । उनी आफूलाई किसानका रुपमा चिनाउँछन् । उनले विगत तीन वर्षदेखि व्यवसायिक कागती खेती गर्दै आइरहेका छन् । ओलीले दुई स्थान गरेर कूल १० कठ्ठा क्षेत्रमा कागती खेती गरिरहेका छन । दश हजारको लगानीले उनले कागती खेती सुरु गरेका हुन् ।


कागतीले फल दिन सुरु गरिसकेको उनले बताए । आफूले उत्पादन गरेको कागती उनी डोकोमा बोकेर आफै बेच्न जान्छन् । ओलीले कागती बेच्न ढकेरी शम्शेरगञ्ज, कोहलपुरदेखि हवल्दारपुरसम्म पुग्ने गरेको बताए ।‘केही वर्षदेखि कागती खेती गरिरहेको छु । कमाइ ठिकै हुन्छ । आफैं बेच्न टाढा टाढा जानुपर्छ ।’ उनले मकै र गहुँ खेतीसमेत गर्दै आएका छन् । तर वन्यजन्तुले बाली नोक्सान गरिदिने समस्या रहेको उनले बताए ।

उनी मात्रै होइन मध्यवर्ती क्षेत्रका किसानहरुको प्रमुख समस्याको रुपमा रहेको वन्यजन्तुहरूको आतंक छ । जंगल क्षेत्र भएकोले बाली जोगाउन निकै मुस्किल हुने गरेको उनले सुनाए । स्याउली बजार क्षेत्र मध्यवर्ती क्षेत्र अन्तर्गत पर्छ । ढकेरी मध्यवर्ती क्षेत्रमा पर्ने यो क्षेत्रमा वन्यजन्तुको आतंक नै हुने गरेको छ ।

वन्यजन्तुको आंतक रोक्न अटुवामा पहरेदारी

एकातिर कागती खेतीको बारी । अर्कातिर मकै फल्दै गरेको खेत । अघिल्तिर तरकारीको बारी छ । त्यसको छेउ मै छ, अटुवा । झट्ट हेर्दा भुपडी जस्तो देखिन्छ । तर यो झुपडी होइन । तर यो ओलीले वन्यजन्तुबाट बाली जोगाउन पहरेदारी गर्ने ठाउँ हो ।
काठैकाठले बनेको यो अटुवा बनाएको १४ वर्ष पुग्यो । अटुवाको भुइमा आगो बाल्ने ठाउँ छ । भ¥याङ चढेर माथि उक्लिएपछि काठकै भुइ छ । त्यसमा झुल र ओछ्यान रहेको छ । हावाहुरी, घामपानी छेक्न काठ र घाँसले छाएको छानो छ ।

वन्यजन्तुबाट बालीनाली जोगाउनको लागि उनले घर नजिकै अटुवा बनाइएको छ । विगत १४ वर्षदेखि उनी त्यही अटुवामा सुत्दै आएका छन् । अहिले पनि बाली जोगाउनको लागि त्यही सुत्ने गरेको उनले बताए । काठले निर्माण गरेको उक्त अटुवामा उनले वन्यजन्तुलाई तर्साउन प्रयोग गर्ने टिन र गुलेलीसमेत राखेका छन् ।
वन्यजन्तु आएको थाहा पाउन बित्तिकै गुलेलीले हान्ने र टिन बजाउने गरेको उनले बताए ।

त्यहाँ रहेका हरेक घरपरिवारको समस्या हो, वन्यजन्तुको आंतक । आंतक रोक्न अटुवामा पहरेदारी गरिरहेका छन् उनले । जंगलमा घेराबार नभएका कारण त्यहाँ नागरिकले हरेक वर्ष यस्तै समस्या भोग्नु परिरहेको छ ।
उनको माग छ, ‘स्थानीय सरकारले जनताका समस्या बुझोस् । वन्यजन्तुको आतंक रोक्न दीर्घकालीन समस्या समाधानको उपाय खोजिओस् । उक्त क्षेत्रमा घेराबार लगाइदेओस् ।’
साहुका हली, गाउँलेका डाक्टर
उनी जिविपार्जनका लागि अहिलेपनि अर्कोको घरमा हलो जोत्छन् । त्यो पनि आफ्नै हल गोरूले । साहुको हलीको रुपमा काम गर्न थालेको धेरै भयो । अहिलेपनि उनी सिजनमा हलो जोत्छन् । हलो जोतेबापत उनी अन्न पाउँछन् । उनले हलो नजोतेको घर नै छैन । खेत नै छैन
होला । हलो जोतेरै उनले जीवन कटाए ।

 

छोराछोरी पढाए । ‘धेरैको निःशुल्क हलो जोतेको छु । पहिला अन्न दिन्थे । अहिले कोहीले पैसापनि दिन्छन् ।’ एक हल गोरू उनका लागि भोको पेटको भोक मेटाउने माध्यम हुन् । उनले के के गरेनन् । अरुको घरमा मजदुरी गरे । हलो जोते । ज्यालादारीमा काम पनि गरे । अहिले भने व्यवसायतिर पनि लागेका छन् ।
उनको छुटाउनै नहुने परिचय हो, ओली स्याउली बजार र बुच्चापुर गाउँका स्थानीय डाक्टर हुन् ।

सामान्य चोटदेखि ठूला ठूला घाउको उपचार गर्छन् उनी । विभिन्न जडिबुटीको माध्यमबाट उनले उपचार गर्दै आएका छन् । त्यसको ज्वलन्त उदाहरण हुन्, पत्रकारसमेत रहेका स्थानीय कविन्द्र परियार । कुरा दश वर्ष अघिको हो, उनको साइकल सिक्ने क्रममा खुट्टामा गम्भीर चोट लागेको थियो ।
उनको परिवारले धेरै ठाउँमा उपचार गरायो । निको हुन सकेन । घाउको संक्रमण झन् बढ्न थाल्यो । कुनै विकल्प नभएपछि परियारको परिवारले ओलीलाई गुहारे । उनले जडिबुटीको माध्यमबाट आर्युवेदिक पद्धतीबाट उपचार गराए ।

उनको खुट्टाको घाउ निको भयो । यस्ता धेरै घटना छन् । उनले निको बनाएका छन् । गाउँलेहरुले उनलाई गाउँलेका डाक्टर भनेर सम्बोधन गर्छन् । मिसन टुडे राष्ट्रिय दैनिकसँग करिब १ घण्टा कुराकानी गरेका उनले अन्तिममा मलाई पनि ग्याष्ट्रिक निको गर्ने जडिबुटीको औषधी दिए ।

     – लेखक : शुभाकर विश्वकर्मा

प्रकाशित मितिः सोमवार, बैशाख ११, २०८०     10:13:34 AM  |