कर्णाली प्रदेश सरकार : तेस्रो पटक विश्वासको मत लिदैं मुख्यमन्त्री



बाँके, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् । शर्माले विश्वासको मत लिनका लागि आइतबार प्रदेशसभा सचिवालयलाई पत्र समेत बुझाएका छन् ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार शर्माले १५ गते शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी पत्र दर्ता गराएका हुन् ।
‘विश्वासको मत लिन भनेर मुख्यमन्त्रीज्यूले आज पत्र दर्ता गराउनुभएको छ,’ सचिव बुढाथोकीले भने, ‘वैशाख १५ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरि तयारी थालेका छौं ।’


मुख्यमन्त्री शर्माले सरकारको नेतृत्व गरेको तीन महिनामा तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।

सरकारमा सहभागी एमालेले गत चैत २७ गते समर्थन फिर्ता लिएको थियो । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले उनलाई नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को साथ रहेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक÷एक जना रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार