4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

आज विश्वासको मत लिदैं लुम्बिनीका मुख्यमन्त्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ११, २०८०  

बाँके,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रोपटक विश्वासको मत लिदैंछन् । विश्वासको मत लिनको लागि आज प्रदेश सभा बैठकको आह्वान गरिएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम यसअघि नै सूचना जारी गरेर वैशाख ११ गते बैठक आह्वान गरिएको थियो ।


बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए । राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा (माओवादी केन्द्र) लगायतका दलले गत चैत १२ गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले आज दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एक जना स्वतन्त्रसमेत ५३ प्रदेशसभा सदस्यले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई चैत्र १२ गते नै हस्ताक्षर बुझाइसकेका छन् ।

लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्यको मत चाहिन्छ । प्रदेशसभामा रहेको ८७ सदस्यमध्ये अहिले नेकपा (एमाले) का २९, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार सदस्यले मात्रै सरकारलाई समर्थन गरेका छन् । एमालेले भने विश्वासको मत नपाए पनि ठूलो दलका हिसाबले संविधानको धारा १६८ (३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको सरकारका प्रवक्ता मन्त्री आचार्यले जानकारी दिए ।

विपक्षी गठबन्धनले भने १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त भएकाले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् । विश्वासको मत लिन गइरहेका मुख्यमन्त्री गिरीले विश्वासको मत पाउने सम्भावना भने न्यून रहेको छ । मुख्यमन्त्रीको पक्षमा एमालेका २९ र राप्रपाका ४ जना गरेर ३३ जना प्रदेशसभा सदस्य मात्र देखिन्छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख ११, २०८०     9:49:54 AM  |