प्रदेश र प्रतिनिधिसभा निर्वाचन– २०७९ : जनप्रतिनिधिले सार्वजनिक गरेनन् खर्च विवरण



कोहलपुर ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा ४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७४ को उपदफा ४ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनसम्म निर्वाचन खर्च बुझाउनुपर्ने प्रावधान रहेको छ । सो निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३१ को उपदफा ४ बमोजिम सात दिनभित्र सार्वजनिक गरी त्यसको निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको मितिले सोको लिखित जानकारी जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कानुनी व्यवस्था रहेको छ ।


तर गत वर्षको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाँकेमा भाग लिएका उम्मेदवारहरुले अहिलेसम्म पनि खर्च विवरण सार्वजनिक गरेका छैनन् । निर्वाचन सम्पन्न भएको ६ महिना पुगिसक्दासमेत जिल्लाका कुनैपनि उम्मेदवारले खर्च विवरण सार्वजनिक गरेका छैनन् । जिल्ला निर्वाचन कार्यालय बाँकेले एक सूचना जारी गर्दै एक साताभित्र खर्च वितरण सार्वजनिक गर्न उम्मेदवारका नाममा सूचना जारी गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिई निर्वाचिन वा पराजित भई कानून बमोजिम तोकिएको समयावधि ३५ दिनभित्र कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गरेका उम्मेदवारहरुले आफूले निर्वाचनमा गरेको खर्चको विवरण पेश गर्न आह्वान गरिन्छ ।’ मंसिर ४ मा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई खर्च वितरण सार्वजनिक गर्न जिल्ला निर्वाचन कार्यालय बाँकेले अल्टिमेटम नै दिएको हो ।

कार्यालयले बाँकेका सबै स्थानीय तहलाई उम्मेदवारहरुको खर्च वितरण सार्वजनिक गर्ने सम्बन्धी सूचना टाँस गरी मुचुल्का पठाउन पत्राचार गरेको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बाँके निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ ११ जनाले खर्च विवरण बुझाएको बताइन् । यस्तै क्षेत्र नम्बर २ मा १६ जना र क्षेत्र नम्बर ३ मा ९ जनाले निर्वाचन खर्च बुझाएको उनले जानकारी दिइन् ।
तीन वटै निर्वाचन क्षेत्र गरेर कूल ३६ जनाले कार्यालयमा खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ । बाँके १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल, २ मा राप्रपाका डा. धवल शम्शेर राणा र ३ मा नेपाली कांग्रेसका किशोरसिंह राठौंर निर्वाचित भएका थिए ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१ ) तर्फ ६ जना र १ (२ ) मा ६ जनाले खर्च बुझाएका छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (१) तर्फ ११ जना र २ (२) तर्फपनि ११ जनाले खर्च वितरण बुझाएका छन् । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (१) मा ७ जना र ३ (२) मा १० जनाले निर्वाचन खर्च बुझाएको प्रमुख पन्तले बताइन् ।
‘यसअघि हामीले खर्च विवरण बुझाउनको लागि सूचना प्रकाशित गरेका थियांै । सोही अनुसार खर्च विवरण बुझाएका उम्मेदवारलाई कानुन बमोजिम सार्वजनिक गर्न आह्वान गरिएको हो । सार्वजनिक गरेका विवरण आउने क्रम जारी रहेको छ ।’ उनले मिसन टुडेसँग
भनिन् ।
निर्वाचन कार्यालय बाँकेले २०७९ मंसिर ८ गते उम्मेदवारहरुलाई खर्च विवरण बुझाउन सूचना जारी गरेको थियो । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने तथा निर्वाचन गर्नको विवरण सार्वजनिक गरी सम्बन्धित निकायमा नदिने उम्मेदवारको हकमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३१ बमोजिम कारबाही हुने व्यवस्था रहेको छ । तोकिएको समयभित्र खर्च सार्वजनिक नगरे प्रति उम्मेदवार १५ हजार जरिवाना हुन्छ ।

खर्च सार्वजनिक गर्दै उम्मेदवार 
निर्वाचन कार्यालय बाँकेले सूचना जारी गरेपछि अहिलेसम्म ७ जनाले मात्रै आफूले गरेको खर्च सार्वजनिक गरेको विवरण बुझाएका छन् । प्रमुख पन्तले सूचना सार्वजनिक भएको मितिदेखि आइतबारसम्म जम्मा ७ जना मात्रैले खर्च सार्वजनिक गरेको वितरण बुझाएका हुन् ।
खर्च सार्वजनिक गर्नेहरुमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका देवेन्द्रनाथ शुक्ला र नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका किस्मत कुमार कक्षपति रहेकाछन् । यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका सुरेश कुमार चौधरीले विवरण बुझाएको उनले जानकारी दिइन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१ ) मा सोमराज चौधरी, १(२ ) गगनबहादुर थापा र भुमबहादुर भण्डारी, ३ (१) मा सन्तराम थारुले कार्यालयमा खर्च सार्वजनिक गरेको विवरण बुझाएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा प्रदेश र प्रतिनिधिसभा तर्फ कसैले पनि नबुझाएको कार्यालय प्रमुख पन्तले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार