भिटामिन ए खुवाउने अभियान : सुरु भयो रोकिएको अभियान



नेपालगन्ज (बाँके),  वास्तविक रङभन्दा फरक रङमा क्याप्सुल परिवर्तन भएको पाइएपछि स्थगित भएको भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान पुनः सुरु भएको छ । स्वास्थ्यकर्मीहरुको स्थलगत निरीक्षणपछि बिहीबारबाट उक्त अभियान पुनः सुरु भएको हो ।


बाँकेका अन्य क्षेत्रमा निर्धारित समयअर्थात् वैशाख ६ गते (बुधबार) देखिनै अभियान सुरु भए पनि खजुरास्थित उढरापुर स्वास्थ्यचौकीमा भने बिहीबारदेखि उक्त अभियान सुरु भएको छ । यहाँ ल्याएका केही डब्बामा रातो रङको हुने उक्त क्याप्सुलहरुको रङ परिवर्तन भएको थियो । रातो रङ थोरै कालो जस्तो देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले माथिल्लो निकायमा जानकारीसमेत गराएको थियो ।

अहिले थप भिटामिन ए क्याप्सुल ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन मानबहादुर नेपालीले जनाए । साथै उनले स्वास्थ्यकर्मीहरुले स्थलगत निरीक्षण गरेको जनाए । ‘प्रदेश, जिल्ला र खजुरा गाउँपालिकाका स्वास्थ्यकर्मीले संयुक्तरुपमा स्थलगत निरीक्षण गरेका थियौं,’ उनले भने, ‘अहिले भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सुरु भएको छ । स्थानीयको उल्लेख्य सहभागिता छ ।’
जिल्लाका अन्य स्थानमा भने समयमै अभियान सुरु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार