21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

डढेलोले जंगल सखाप, वातावरण प्रभावित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०८०  

शिवु खनाल
दाङ :  दाङ देउखुरीको उत्तरी चुरे क्षेत्रको जंगलमा मंगलबार रातभरि डढेलो लाग्यो । स्थानीयले सामाजिक सञ्जालमा घरबाटै डढेलो लागेको सूचना सञ्चार गरेर नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानकर्षण गराए । वनमा लागेको डढेलोका कारण नजिक रहेको दक्षिणी क्षेत्रको बस्ती देउखुरी क्षेत्रको बस्तीमा बुधबार बिहानैदेखि धुवाँले ढाकियो । खरानी उडेर घरघरमा पुग्यो । स्वास प्रस्वासमै समस्या सिर्जना ग¥यो ।


लमही नगपालिका वडा नम्बर ५ को अजम्मरी सामुदायिक वन, वडा नम्बर ६ र ७ को कर्री सामुदायिक वन र वडा नम्बर ४ को चप्परखोला सामुदायिक वनको अधिकाश जंगल डढेलोका कारण सखाप भएको छ । वन क्षेत्रमा रहेको बाक्लो खर सुकेको, पातपतिंगर सुखेका कारण छोटो समयमै वन क्षेत्रमा फैलिएको बताइएको छ । डढेलोले के कति क्षति गरायो भन्ने विवरण नभए पनि जंगलमा रहेका काठ, घाँसपात, जंगली जनावरमा प्रत्यक्ष असर गरेको सामुदायिक वनले जनाएका छन् ।
लमही नगरपालिका वडा नम्बर ५ को अजम्मरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पवन शर्मा रिजालले सामुदायिक वनको पूर्व र पश्चिम क्षेत्रको भूभाग गरी ५० प्रतिशत जंगलमा डढेलो लागेर सखाप पारेको जनाए । उनले भने, ‘वनको आधा क्षेत्रफलमा डढेलो लागेको छ, डढेलो लागेपछिको क्षतिको विवरण संकलन गर्न सकिएको छैन, प्रारम्भिक चरणमा नियन्त्रणतर्फ केन्द्रित छांै ।’

यो समाचार तयार पार्दासम्म जंगल क्षेत्रमा डढेलो लागिहेको छ, नियन्त्रणको लागि प्रयास थाले पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । सुरक्षा निकाय, नेपाली सेना, सशस्त्र प्रहरी, सामुदायिक वन, डिभिजन वन कार्यालय र स्थानीयको पहलमा नियन्त्रणमा ल्याउने प्रयास गरे पनि डढेलो धेरै फैलिएको र गर्मी अध्यधिक भएका कारण समस्या भएको छ । वन क्षेत्रमा दमकल लिन सक्ने अवस्था नभएका कारण पनि आगो नियन्त्रणमा समस्या भएको छ ।

दाङ देउखुरी वन डिभिजन कार्यालयका सहायक वन अधिकृत छोटेलाल चौधरीले सबैको पहलमा नियन्त्रणको प्रयास भइरहेको बताए । देउखुरी वन डिभिजन कार्यालयले डढेलो नियन्त्रणका लागि सचेतनामूलक विभिन्न कार्यक्रम गरे पनि सार्थकता पाउन सकेको छैन । चरिचरनका लागि वनमा जाने उपभोक्ता र लुकीछिपी वन्यजन्तुको शिकार गर्नेहरुबाट वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने गरेको सामुदायिक वन उपभोक्ता समितिको गुनासो छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०८०     9:47:49 AM  |