21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

हुम्लामा टर्च बालेरै प्रसूति सेवा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०८०  

हुम्ला, सुत्केरी बेथाले च्यापेपछि हुम्लास्थित ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई आफन्तले स्वास्थ्य चौकी पु¥याए । सोमबार (वैशाख ४ गते) साँझ सुत्केरी बेथाले अझ बढी च्यापेपछि उनलाई प्रसूति गृहमा राखियो । जतिबेला ठेहे स्वास्थ्य चौकीका विद्युत् थिएन । अन्धकार प्रसूति गृहमा टर्च बालेरै स्वास्थ्यकर्मीले सफल प्रसूति गराए ।
भण्डारीलाई करिब तीन घण्टा लामो समय टर्च बालेर प्रसूति गराउनु परेको ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले बताए । यति मात्र होइन, यहाँ भरपर्दाे र नियमित विद्युत् सेवा नहुँदा सुत्केरीहरुलाई टर्च बालेर सेवा दिनुपर्ने बाध्यता छ ।

 

हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ । ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई मोबाइल र अन्य टर्च बालेर सुत्केरी गराउनु परेको हो ।

ठेहे स्वास्थ्य चौकीका प्रमुख बोहराले भने, ‘मोबाइल र टर्च बालेर सुत्केरी गराउनुपर्ने बाध्यता छ । हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई सुत्केरी गराउन समस्या हुने गरेको छ ।’ विद्युत् आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलारले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्दै आउनुपरेको छ ।
नवजात शिशुलाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने बाध्यता छ । हिल्दुुम विद्युत् वितरण केन्द्रले हाल दैनिक १७ देखि १८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ । विद्युत् लोडसेडिङ बढेका कारण ठेहे स्वास्थ्य चौकी मात्र नभएर बरगाउँ, डाँडाफया र स्याडाँ स्वास्थ्य चौकीको अवस्था पनि उस्तै रहेको जनाइएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ७, २०८०     9:35:35 AM  |