कोहलपुर ।
सञ्चारिका समूह नेपाल बाँके शाखाले स्थापना दिवस मनाएको छ । शाखाको २१औँ स्थापना दिवसको अवसरमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा समूहले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रोसमेत प्रकाशन गरिएको छ ।
स्थापना दिवसको केक काटेर र नयाँ वर्षको भित्तेपात्रो कोहलपुर नगरपालिकाकी कार्यबाहक नगरप्रमुख संगीता सुवेदीले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उक्त अवसरमा बोल्दै उनले समाजमा लुकेर रहेका कुरालाई बाहिर ल्याउने जिम्मेवारी पत्रकारिता क्षेत्रको भएको बताइन् । अहिलेको आवश्यकता खोज पत्रकारिता भएको उनको भनाइ छ ।
विशेष गरेर महिला पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिका तयार रहेको उनले बताइन् । ‘एउटा महिलालाई पुरुषभन्दा धेरै जिम्मेवारी हुन्छ । महिला पत्रकारहरु हरेक प्रकारका अवरोध छिचोलेर अघि बढेका छन्,’ उनले भनिन्, ‘समाजका जिम्मेवारीबाट बाहिर निस्कन चुनौती छ । ती चुनौतीहरु छिचोल्दै पत्रकारिता गर्नु चानचुने कुरा होइन ।’
यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारितामा महिलाहरु पलायन हुने अवस्था गम्भीर समस्याको रुपमा रहेको बताए । पत्रकारितामा भरपर्दो अवस्था सिर्जना नहुँदा महिला पत्रकारहरुको पलायन हुने अवस्था रहेको उनी बताउँछन् । ‘सुरक्षित भविष्यका लागि पत्रकारिताबाट विमुख हुनु भएको छ । अरु क्षेत्रमा अब्बल सावित हुनु भएको छ । तर पत्रकारितामा टिकिरहन चाहिँ समस्या छ । यस्तो अवस्था सुधारका लागि सबै सक्रिय हुन आवश्यक छ,’ उनले भने ।
यस्तै कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले पत्रकारिता क्षेत्रमा महिला पत्रकारले खेलेको भूमिका महŒवपूर्ण रहेको बताए । सत्य र तथ्यमा आधारित भएर पत्रकारिता गर्न पनि उनले आग्रह गरेका छन् । बाँके जिल्लामा सञ्चारिका समूहले लामो समयदेखि महिला अधिकारका क्षेत्रमा राम्रो काम गरिरहेको उनले बताए ।
उक्त अवसरमा बोल्दै सञ्चारिका समूह नेपाल बाँके शाखाकी संस्थापक अध्यक्ष अक्षरी पोखरेलले समूह स्थापनाका लागि आफूले निकै संघर्ष गर्नु परेको बताइन् । २०५८ सालमा समूह स्थापना गर्दा सातजना सदस्य संख्या पु¥याउन नसक्ने अवस्था रहेको स्मरण गर्दै अहिले जिल्लामा महिला पत्रकारहरुको संख्या बढ्दा आफूलाई निकै खुसी लागेको उनले बताइन् ।
उक्त अवसरमा नेपाल पत्रकार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव शिव सुनार, महासंघ बाँके शाखाका उपाध्यक्ष संगीन शर्मालगायतका विभिन्न पत्रकारका पेशागत संगठनका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लास्थित क्रियाशील महिला पत्रकारहरुको उपस्थिति थियो । ‘लैंगिक मुद्दाहरुलाई मूल प्रवाहमा ल्याउँ, मिडियामा महिला पत्रकारहरुको प्रतिनिधित्व बढायौँ’ भन्ने मूल नाराका साथ कार्यबाहक अध्यक्ष सरल सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्