20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

कोहलपुरमा भित्तेपात्रो विमोचन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २९, २०७९  

कोहलपुर, नयाँ वर्ष २०८० सालको भित्तेपात्रो वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । अर्घाखाँची बाँके सम्पर्क मञ्चको आयोजनामा भित्तेपात्रो वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
मंगलबार एक कार्यक्रमका बीच संविधानसभा सदस्य देवराज भारले दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले अर्घाखाँची बाँके सम्पर्क मञ्चले रचनात्मक काम गरेको बताए ।

उनले २०७९ साल अवसर र सिकाइको वर्ष रहेकोसमेत बताए । ‘मञ्चको यो रचनात्मक कार्य हो । आगामी दिनमा पनि निरन्तरता दिनुहोला,’ उनले भने, ‘२०७९ साल सिकाइको वर्ष रह्यो । अब आउने वर्ष हर्षमय होस् । व्यावसायिकरुपमा सफल होस् ।’


उक्त अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरका सभापति दिनेश सिग्देलले नयाँ वर्षको अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गरे । मानिसहरुबीच व्यावसायिक सम्बन्ध मात्रै नभएर भावनात्मक सम्बन्ध बलियो हुने उनले बताए । संस्थागत विद्यालयका सञ्चालकसमेत रहेका उनले अर्घाखाँची बाँके सम्पर्क मञ्चले सिफारिस गरेर पठाएमा दुई÷दुईजना छात्र र छात्रालाई ५० प्रतिशत छुटमा अध्ययन गराउने घोषणासमेत गरे ।

उक्त अवसरमा बोल्दै अर्घाखाँची बाँके सम्पर्क मञ्चका सल्लाहकार विष्णु बेल्बासेले आगामी वर्षले सबैको जीवन र परिवारमा सुख र शान्ति ल्याओस् भनेर शुभकामना व्यक्त गरे । त्यस्तै मञ्चका अध्यक्ष हिमलाल घिमिरेले मञ्चद्वारा निर्माण गरिएको नयाँ वर्षको भित्तेपात्रो वितरण तथा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको बताए ।

उनका अनुसार मञ्चले स्थापनाकालदेखि सामाजिक कार्य गर्दे आएको छ ।
कार्यक्रममा भित्तेपात्रो प्रकाशनमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम निलकण्ठ उपे्रतीले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः बुधबार, चैत्र २९, २०७९     8:57:45 AM  |