बन्दुक प्रदर्शन गरेर हिँड्ने पक्राउ



नेपालगन्ज,  बाँके प्रहरीले नेपालगन्जबाट खुलारुपमा बन्दुक प्रदर्शन गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन युवा संघको नवौं महाधिवेशनस्थलमा हतियार देखाउँदै हिँडिरहेको भिडियोमा देखिएका गणेशबहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

उनले बाह्रबोर बन्दुक बोकेर हिँडिरहेको अवस्थामा बनाइएको भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भएपछि बन्दु बोक्ने बोगटीलाई सोमबार राति पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए । बोगटीले बोकेको बन्दुक अनुमति प्राप्त भए पनि खुलारुपमा प्रदर्शन गरेर हिँड्न नमिल्ने भएकोले पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका बोगटीमाथि अभद्र व्यवहारमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगी रहेको बताइएको छ । बाँके प्रहरी प्रमुख राठौरले भने चक्रे मिलनलाई आफूले नचिन्ने बताए । यद्दपि बोगटीमाथि थप अनुसन्धान भइरहेको उनले बताएका छन् । नेपालगन्जकै स्थानीय रहेका बोगटी नेपाल पहरीकै पूर्व हवल्दार रहेका बताइएको छ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन आएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडिरहेको भिडियो भाइरल भएको थियो ।

 

चक्रे मिलन सानो घेरा र हतियारसहित निस्किएका उनका सहयोगी गणेशबहादुर बोगटी ठूलो घेरामा ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २९ गते बुधबार