चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बर्दियामा सवारी दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको छ ।
बाँके ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बर्दियामा सवारी दुर्घटनामा परेर २४ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका ५१ वटा सवारी दुर्घटनामा परेर २४ जनाले ज्यान गुमाएका हुन् । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ६१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यो अवधिमा ट्राफिक नियम उल्लघंन गर्ने १० हजार सात सय १४ वटा सवारी साधनलाई कारबाही गरिएको छ । सवारी साधन कारबाहीबाट ६१ लाख ८४ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ ।
तीव्र गति तथा बाटोको अवस्था अत्यन्त बिग्रेको र चालकले मापसे गरी सवारी चलाएको कारण सडक दुर्घटना हुने गरेको ट्राफिक प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक ईश्वरी देवकोटाले बताए ।
‘सडक तथा चालकको कारणले नै धेरै सवारी दुर्घटना भएको पाइन्छ,’ उनले भने, ‘सडक दुर्घटना न्यूनीकरण गर्नको लागि विभिन्न सचेतनामूलक गतिविधि समेत गर्दै आएका छौं ।’ सडक सुरक्षा कार्यक्रमअन्तर्गत सवारी चालकलाई प्रशिक्षण, विद्यार्थीलाई विभिन्न विद्यालयमा पुगेर ट्राफिक सचेतना कक्षा सञ्चालन गरिरहेको बर्दिया ट्राफिकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्