आमा पाउलीन र बाबु हर्मनको पहिलो सन्तानको रूपमा अल्बर्ट आइन्स्टाइनको जन्म सन् १८७९ मार्च २४ मा भयो । आइन्स्टाइन जन्मिँदा परिवार त्यति खुसी हुन सकेनन् । कारण उनको शरीर अलि असामान्य थियो । शरीरको तुलनामा टाउको ठूलो थियो । चिकित्सकले ‘केही फरक पर्दैन, चिन्ता लिनु पर्ने कारण केही छैन’ भनेपछि परिवारका सदस्यहरू पनि खुसी हुँदै गए । बाबु इञ्जिनियर थिए भने आमा साहित्य, संगीत र गायन भनेपछि हुरूक्कै हुने एक पढेलेखेकी महिला थिइन् । उनले आठ÷नौ वर्षको हुँदासम्म टुक्राटाक्री शब्दहरू बोले पनि अर्थपूर्ण वाक्य बोल्न सक्दैन्थे । यसले पनि अभिभावकलाई केही समयसम्म बेचयन बनाएको थियो । करिब नौ वर्षको उमेर भने सुप खाँदै गर्दा उनले मुख खोले, ‘सुप पिरो भएछ ।’ छोराको यो बोली सुनेपछि आमाबाबाको चिन्ता हरायो । बाबुले तत्कालै अल्बर्टलाई सोधे, ‘तँलाई बोल्न त आउदो रहेछ । आजसम्म तैले कुनै पनि बाक्य पूरा गरेर बोलेको पनि थिइनस् । किन ?’ अल्बर्टको जवाफ थियो, ‘सबै कुरा ठिकै थियो । आजसम्म कुनै पनि कुरामा बोल्न आवश्यकै परेको थिएन । आज सुप आवश्यकभन्दा धेरै पीरो भएपछि बोल्न बाध्य भएँ ।’
उनी पाँच वर्षको हुँदा उनका बाबाले खेलौनाको रूपमा उनलाई कम्पास ल्याइदिएका थिए । उक्त कम्पास जता घुमाए पनि त्यसभित्रको सुइँ एकैतिर मात्र फर्किरहने गथ्र्यो । यस घटनाबाट उनको मनमा जीवन र जगतप्रति पहिलो प्रश्नको विजारोपण भएको थियो, ‘यो कम्पासले किन सधैैं एकातिर मात्रै देखाउछ ?’ सानोमा अल्बर्टले आफूभन्दा दुई वर्ष कान्छी बहिनी मारियासँग तासको घर बनाएर खेल्न खुब रुचाउथे । तासको एउटा नम्बर र अर्को नम्बर जोड्ने र त्यसलाई त्यहीअनुसारको ठाउँमा राख्ने क्रियाकलापले उनको दिमागलाई गणिततर्फ आकर्षित गर्न योगदान गरेको थियो । आमाले संगीतप्रति चासो देखाउने र पियाउने बजाउने स्वभावको कारणले उनले पनि सानैमा पियानो बजाउन सिकेका थिए । उनका बाबु इञ्जिनियर भएकोले उनलाई गणित विज्ञानप्रतिको आकर्षण बढाउन पनि सहयोग पुगेको थियो । उनी अन्तर्मुखी स्वभावका थिए । विद्यालयमा पनि कसैसँग नबोलेर एक्लै बस्न रुचाउथे । स्वभाव यस्तो भए पनि परीक्षामा राम्रै गर्ने भएकाले विद्यालयको गुनासो पनि उनीप्रति खासै थिएन ।
उनी अन्तर्मुखी स्वभाव भएकै कारण विद्यालयमा त्यत्ति रमाउन सकेनन् । राम्रा भनेका विद्यालयमा राख्दा पनि उनलाई ती विद्यालयका गतिविधिहरु मन परेनन् । विद्यालयप्रति उनको एउटै आरोप थियो, ‘विद्यालयको वातावरण र सिकाउने प्रक्रिया ठीक छैन ।’ सुरुमा विद्यालय छोडेपछि त केही वर्ष अर्को विद्यालयमा पनि भर्ना भएनन् । घरमै बसेर विज्ञान, गणित र धर्मका पुस्तक पढेँ । उनी तेरह १४ वर्षको हुँदा जर्मनीको म्यूनिकमा रहेको एउटा राम्रो विद्यालयको होस्टेलमा राखेर उनका बुवा व्यापारको सिलसिलामा इटाली गए । उनलाई त्यो स्कुलमा पढ्न पनि रुचि भएन । त्यत्तिबेला सत्र वर्ष नपुग्दासम्म र सैनिक तालिम नगर्दासम्म कुनै पनि व्यक्तिलाई विदेश जान बन्देज थियो जर्मनीको कानुनमा । अल्बर्टले त्यत्तिबेला एकजना डाक्टरसँग गएर आफूलाई ‘मस्तिस्कमा प्रेसर परेको कुरा लेखिदिनोस्’ भनेर अनुरोध गर्छन् । सुरुमा त ती डाक्टरले अल्बर्टको यो कुरा स्वीकार गर्दैनन् । अल्बर्टले बारम्बार अनुरोध गरेपछि भने डाक्टरले पनि ‘अल्बर्टंको मस्तिस्कमा प्रेसर परेको कारण उसलाई केही समय पढ्न लेख्न तिर नलगाएर आराम गर्नुपर्ने भनेर लेखिदिन्छन् । त्यसपछि भने अल्बर्ट त्यो स्कुलमा फर्केर पनि आउदैनन् र इटालीमै बाबुसँग बसेर इटालीकै विद्यालयमा पढ्छन् ।
घरको आर्थिक अवस्था जर्जर भएको कारण उनले व्याचरलरसम्मको अध्ययनपश्चात जागीरको खोजीमा लाग्छन् । उनको सर्टिफिकेट हेरेर कसैले पनि उनलाई जागीर दिन नरुचाउने अवस्था हुन्थ्यो । कारण उनको सर्टिफिकेट हेर्दा विज्ञान र गणितमा राम्रो ग्रेड हुन्थ्यो भने अरु विषयमा कमजोर ग्रेड हुन्थ्यो । यस्तै क्रममा बल्लतल्ल एउटा जागीरमा झुण्डिएपछि उनलाई घरव्यवहार चलाउन र आफ्नो अध्ययन र अनुसन्धानलाई निरन्तरता दिन सहज हुन्छ । एकपटक अफिसकै कोठामा बसेर अध्ययनको प्रतिबेदन बनाउने क्रममा खुल्ला पानाहरु धेरैमा लेख्छन् । हराउछन् कि भनेर एकैठाउमा चेपेर राख्नका लागि पेपर क्लीप मेसिन खोज्छन् । पाउँदैनन् । खोज्ने क्रममा एउटा बिग्रिएको पेपर क्लीप मेसिन भेटाउछन् र त्यसैलाई मर्मत गर्न थाल्छन् । त्यो दृश्य देखेर उनको स्टाफले केही थान नयाँ पेपर क्लीप मेसिन दिदै भन्छ, ‘नयाँ मेसिन यहाँ छ । प्रयोग गर्नुभए हुन्छ ।’ अल्बर्टले यो कुराको वास्ता गर्दैनन् र केही घण्टा लगाएर पुरानै मेसिनको मर्मत गरी प्रयोग गर्छन । स्टाफ आएर नयाँ मेसिनको प्रयोग नगरी किन पुरानोतिर दुःख गरेको भनी सोध्दा आइन्स्टाइनको प्रतिक्रिया हुन्छ, ‘मलाई काम गरिरहेको समयमा कोही आएर डिस्टर्व गरेको मन पर्दैन ।’
एकदिनको घटना हो, उनका साथीहरुले उनको फोन नम्बर माग्छन् । त्यत्तिबेला उनीकाममा व्यस्त हुन्छन् र साथीहरुको कुरालाई चासो राख्दैनन् । साथीहरुले पनि व्यस्त भएकोले नभनेको होला भनेर अनुमान गर्छन । काम सकिएपछि आइन्स्टाइनले आफ्नो फोन नम्बर पनि टेलिफोन डायरी हेरेर टिपाइदिन्छन् साथीहरुलाई । आइन्स्टाइनलाई आफ्नै फोननम्बर पनि याद नभएको थाहा पाएपछि उनका साथीहरुले सोध्छन्, ‘तपाई यत्ति ठूलो बैज्ञानिक हुनुहुन्छ । तपाईलाई कतिपय कुरा त कण्ठस्थ पनि छन् । तथापि तपाईँलाई आफ्नै फोन नम्बर भने थाहा नभएको जस्तो देखियो । के हो यसको कारण ?’ जवाफमा आइन्स्टाइनले भन्छन्, ‘हो मलाई थाहा छैन । दुई मिनेटमा कुनै कुनै किताबमा पाइने कुरा सम्झनका लागि मसँग समय छैन । मलाई त धेरै कुराहरु सम्झिनु छ जुन कुरा आजसम्म लेखिएका छैनन् ।’
लेखक : जीतबहादुर शाह
उनी अरु वैज्ञानिक भन्दा भिन्न थिए । अरु वैज्ञानिकहरु प्रयोगशालामा भएका विभिन्न रसायन र पदार्थहरुसँग समय विताउथे । उनी आफ्नै कोठामा कागज र कलमसँग घण्टौं र हप्तौं समय विताउथे । उनको एउटा भनाई पनि प्रशिद्ध छ, ‘मेरो मस्तिस्क नै मेरो प्रयोगशाला हो ।’ अमेरिकाको एउटा अफिसमा काम गर्दा उनलाई अफिसको कर्मचारीले तपाइलाई काम गर्नका लागि के के सामग्री चाहिन्छ भनेर सोधेछन् । जवाफमा उनले लिष्ट बनाएर दिएछन्, ‘मलाई अत्यन्त धेरै कागज, कापी र कलम चाहिन्छ । एउटा सेतो बोर्ड पनि दिनु होला । त्यसपछि फोहोर फ्याक्ने एउटा ठूलो टोकरी पनि दिनु होला । मैले धेरै गल्ती गर्छु । त्यसैले गल्ती गरेका कागजहरु फाल्नका लागि मलाई ठूलो टोकरी चाहिन्छ । सानो भयो भने छिटै भरिन्छ ।’ उनको स्वभाव केही कुरा लेख्दालेख्दै कतै केही गल्ती भयो भने सच्याउनतिर नलागेर पूरै पाना नै फालिदिने थियो ।
उनको जीवनीबाट साभार गरिएका उनका उल्लिखित क्रियाकलापहरुको अध्ययन गर्दा उनको सिकाइको शैलीबारे सामान्य अनुमान गर्न सकिन्छ । उनलाई उनको पारिवारिक वातावरणले सिकाइको दिशा निर्देश गरेको थियो । उनको अरुसँग छलफल र कुराकानी गरेर भन्दा पनि आफैसँग घोत्लिएर आफ्नै अन्तर्दृष्टिबाट सिक्ने स्वभाव थियो । उनको अरुको निर्देशनभन्दा आफ्नै निर्देशनमा चल्ने बानी थियो । त्यसैले कतिपय राम्रा भनिएका विद्यालयहरु पनि उनलाई मन परेनन् । उनलाई अध्ययन र अनुसन्धानको क्रममा अरुले डिस्टर्व गरेको मन पर्दैनथ्यो । उनी काम गर्ने क्रममा एकाग्रतापूर्वक लाग्ने गर्थे । सापेक्षताबादको सिद्धान्त प्रतिपादन गर्दा उनी १४ दिनसम्म कोठाभन्दा बाहिर ननिस्किएर लगातार काम गरेका थिए । उनी सजिलरी उपलब्ध हुने कुरामा दिमाग खर्च गर्ने पक्षमा थिएनन् र खर्च गरेनन् पनि । उनी त्यस्ता कुरामा आफ्नो मस्तिस्कलाई प्रयोगशाला बनाउन चाहन्थे जुन कुरा संसारमा उपलब्ध नै छैन तर उपलब्ध हुन सक्छ । उनको यही स्वभावको कारण पनि उनी वैज्ञानिकहरुका पनि वैज्ञानिक हुन सफल भएका हुन् ।
यो पंक्तिकारको चासो भनेको अल्बर्ट आइन्स्टाइनले कसरी सिके र हाम्रो सिकाउने शैली कस्तो छ भन्ने हो । अहिले पनि हाम्रा विद्यालय र कलेजहरु सिकारुको व्यक्तिगत स्वतन्त्रताको पक्षमा देखिँदैनन् । अनुशासनको नाममा शिक्षालयहरुले बनाउने र लागू गर्ने नियम कानुनहरुले कतिपय विद्यार्थीहरुको व्यक्तिगत स्वतन्त्रता र आत्मसम्मानमा चोट पु¥याएको हुन्छ । किनभने नियम सबैले मान्नुपर्दछ, तोकेको पोसाक सबैले लगाउनु पर्दछ, तोकेको पाठ्यक्रम सबैले अध्ययन गर्नुपर्दछ । कतिपय प्रतिभाशाली विद्यार्थीहरु कुनै एउटा विषयतिर शिक्षालयले अपेक्षा गरेभन्दा पनि विशेष अब्बल भएर अघि बढ्न सक्छन तर अरु विषयमा उनीहरु कमजोर हुन सक्छन्, जसरी आइन्स्टाइन अरु विषयमा कमजोर थिए, कमजोर भन्दा पनि अरु विषयमा उनले ध्यान दिन नसकेको अवस्था थियो । अमेरिकी शिक्षाविद् जोन हल्टले यस सम्बन्धमा भनेका पनि छन्, ‘विद्यालयले सञ्चालन गर्ने मूल्याङ्कन र परीक्षा प्रणाली अति प्रतिभावान र कमजोर विद्यार्थीहरुका निम्ति उपलब्धिमूलक हुँदैन । यसकारण कि एकातिर कुनै विषयमा एकाग्र भएर लागेको प्रतिभावान विद्यार्थीको एकाग्रतालाई परीक्षाले बिथोल्छ भने कमजोर विद्यार्थीहरुलाई झन् निराश र हतोत्साहित बनाउछ ।’ तथापि हाम्रा राम्रा भनिएका शिक्षालयहरुले परीक्षा र मूल्याङ्कन प्रणालीलाई विशेष जोड दिइरहेको अवस्था छ ।
अनुसन्धानबाट के पुष्टि भएको छ भने मानव मस्तिष्क भनेको सिर्जनाको अजस्र भण्डार हो । अतः सिर्जना गर्नुछ भने मस्तिस्कलाई एकाग्रतापूर्वक क्रियाशील बनाउनु पर्छ । यसका लागि व्यक्तिको आफ्नै मनले आफ्नै मस्तिस्कलाई निर्देश गर्नुपर्दछ न कि अरुको मन र मस्तिष्कले । मनलाई तयार बनाउनका लागि सहजकर्तालाई सिकारु अर्थात व्यक्तिको पृष्ठभूमिको बारेमा पर्याप्त जानकारी हुनुपर्दछ । सिकारुका आफ्ना कथाहरुसँगको जगमा उसको भविष्यका थप कथाहरु निर्माण गर्न सकियो भने ती कथाहरु सिकारुका लागि आफ्ना जस्ता लाग्छन् र सिकारुमा उक्त कथाहरु प्रति अपनत्वको भावना जाग्ने गर्दछ । यसका लागि विद्यार्थीहरुलाई कण्ठस्थ गर्र्ने र जबर्जस्त किसिमबाट अध्ययनका लागि बाध्य बनाउने होइन कि सिकारुको रुचिको विषयमा थप मेहेनेत गरेर थप सिर्जना गर्नका लागि हौसला प्रदान गर्नुपर्दछ । यो काम हाम्रा विद्यालयबाट हुन नसकिरहेको अवस्था छ । कतिपय राम्रा भनिएका विद्यालयहरुले समेत प्रतिभावान विद्यार्थीहरुलाई पहिचान गर्न नसकिरहेको अवस्था छ । विद्यालयले त्यस्ता प्रतिभाहरुलाई मात्र चिनेको हुन्छ जुन प्रतिभाहरुलाई विद्यालयको वातावरण उपयुक्त हुने गर्दछ । विद्यालयको वातावरण उपयुक्त नहुने कतिपय प्रतिभाहरुले त आफ्नो प्रतिभाको प्रस्फुटनको लागि विद्यालय छोडेर भाग्नु पर्ने हुन्छ जुन काम अल्बर्ट आइन्स्टाइनले पनि गर्नु परेको थियो ।
सारमा विद्यार्थीहरुलाई उसको मानसिक उपस्थितिमै उसको प्रगति विद्यालयबाट नै सम्भव बनाउने हो भने विद्यार्थीलाई कुनै कुरा सिकाउनु भन्दा पहिले उनीहरुको बारेमा सिक्नु आवश्यक छ । उनीहरुको सवलताहरुको बारेमा जानकार हुनु आवश्यक छ । उनीहरुको सबलताहरुलाई सशक्त बनाउनका लागि विद्यालयले योगदान गर्नुपर्दछ । सबलता एउटै मात्र किन नहोस् त्यसलाई सर्वोच्चमा पु¥याउन सकियो भने सिर्जनाहरु त्यहीबाट उम्रिन थाल्छन् । संसारमा नवीनताको सिर्जना गर्ने काम पनि त्यहीबाट आरम्भ हुने गर्दछ । विद्यार्थीका सबलताहरुलाई ससम्मान सम्बोधन गरेर उनीहरुकै सक्रियतामा उनीहरुकै सबलताहरुलाई विकास र सबलिकरण गर्न सकियो भने हाम्रा शिक्षालयहरु नै हाम्रा विद्यार्थीहरुले गर्ने सिर्जनाका आविष्कार केन्द्रहरु बन्न सक्छन् । शिक्षा प्रणाली यसरी पुनर्संरचित गर्न सकियो भने सिर्जनाका लागि अल्बर्ट आइन्स्टाइनले झै कसैले पनि विद्यालय छोडेर भाग्नु पर्दैन ।
प्रतिक्रिया दिनुहोस्