नेपालगन्ज, ‘राजनीति नै सबैभन्दा ठूलो समाज परिवर्तनको माध्यम हो र सबैभन्दा ठूलो सेवा हो भनेर मैले राजनीति गरेको हो । विद्यार्थी जीवनदेखि नै यो देशको परिवर्तनमा, यो देशका जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा लागेको व्यक्ति हुँ । म व्यापार गरेर, पैसा कमाएर फुर्सदमा राजनीति गर्न आएको मान्छे होइन ।’ किशोरसिंह राठौरले आफ्नोबारेमा भनेको अभिव्यक्ति हो यो ।
हुन पनि राठौरको विद्यार्थीकालदेखि पूरा जीवन राजनीतिमा बितेको छ । उनले पूर्णकालीन राजनीतिमा आफूलाई समर्पित गर्दै विभिन्न आन्दानेलनमा सक्रिय सहभागिता जनाए । उनी भन्छन्, ‘मैले यो जीवनलाई नै जनताका लागि, देशका लागि समर्पण गरेको व्यक्ति हो ।’ रौठौर सन् १९६९ अप्रिल २७ मा सल्यानमा जन्मिए । उनको परिवार ६० वर्षअघि सल्यानबाटै बाँके र बर्दिया बसाइँ स¥यो । उनको पुख्र्यौली घर नेपालगन्जको फुलटेक्रामा र बर्दियामा छ । आर्थिकरुपले सम्पन्न परिवारमा जन्मिएका उनले काठमाडौंमा पढ्न पाए स्कुलदेखि नै । सानैदेखि हक्की र खरो स्वभावका राठौरले सन् १९८४ मा त्रिचन्द्र कलेजमा पुगेपछि राजनीति सुरु गरिहाले । उनको राजनीतिको केन्द्र काठमाडौं भए पनि बाँके र बर्दियाका युवा पंक्तिलाई कांग्रेसमा संगठित गर्न उनले सक्रिय भूमिका निभाए । बर्दियाको तत्कालीन ११ गाविसको टापु क्षेत्रमा उनको प्रभाव मजबुत छ ।
नेपाली कांग्रेस विभाजन भएपछि नेपाली कांग्रेस प्रजातन्त्रिकको भातृ संगठन नेविसंघका अध्यक्ष पनि भए । १२औँ महाधिवेशनमा भेरी अञ्चल कोटामा केन्द्रीय सदस्य निर्वाचित भएपछि पार्टीको केन्द्रीय स्तरको राजनीतिमा स्थापित भए । १३औँ महाधिवेशनपछि फेरि केन्द्रीय सदस्य भएका राठौर १४औँ महाधिवेशनमा खसआर्य तर्फबाट सहमहामन्त्री निर्वाचित भएर पार्टीको महŒवपूर्ण भूमिकामा छन् । पार्टीका नेता कार्यकर्ताहरु अबको मन्त्रीको दाबेदारका रुपमा राठौरलाई हेर्छन् । निवर्तमान समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका राठौर २०७० सालमा बर्दियाबाट संसद् चुनाव लडेका थिए । तर पराजित हुनुप¥यो । त्यसयता उनले आफ्नो राजनीतिलाई बाँकेमा केन्द्रित गराए ।
उनी अहिले आफू सल्यानपछिको दोस्रो गृहथलो र विकासमा पछाडि परेको बाँके क्षेत्र नम्बर ३ को विकास गर्ने र यसलाई नेपालगन्ज क्षेत्रको दाँजोमा पु¥याउने लक्ष्यसहित उक्त क्षेत्रलाई रोजेको बताउँछन् । पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको निधनपछि राठौर बाँकेमा बढी केन्द्रित हुन थालेका थिए । देशका जुनसुकै निर्वाचन क्षेत्रमा गएर उम्मेदवारी दिनसक्ने आफ्नो क्षमता रहे पनि उच्च तहको नेतृत्वबाट बाँकेलाई वञ्चित हुन नदिन आफूले बाँके रोजेको उनको भनाइ छ । उनी भन्छन्, ‘मैले सुविधाको राजनीति गर्न खोजेको भए काठमाडौंबाटै गर्थेँ । जहाँ ५० वर्षअघि घर बनाइएको थियो । मैले त्यसलाई छोडेर आफ्नो योगदान खोजिरहेको र केन्द्रमा बुलन्द आवाज पु¥याउन आवश्यक रहेको बाँके क्षेत्र नम्बर ३ लाई रोजेको हुँ ।’ राठौर २०४८ सालदेखि अहिलेसम्म बाँके क्षेत्र नम्बर ३ बाट जितेर गएका सांसदहरुले जनताले भनेबमोजिम कम गर्न नसकेको बताउँछन् । भन्छन्, ‘म जनतालाई ढाट्ने छैन, झुट बोल्ने छैन, ठग्ने छैन ।’
उनी यसअघि बर्दियाको राजापुर क्षेत्र रोज्नुका पछाडि पनि त्यस क्षेत्रको विकास नै मुख्य एजेण्डा रहेको बताउँछन् । ८० प्रतिशत थारु समुदायको बसोबास रहेको उक्त क्षेत्र सदरमुकाम र बाँकी देशसँग नजोडिएको अवस्थामा आफ्नो पहलमा त्यस क्षेत्रको कनेक्टिभिटीमा सुधार ल्याएको उनको दाबी छ । अर्काेतिर माओवादी युद्धपछि क्षतविक्षत रहेको बर्दियाको कांग्रेसी संगठन मजबुत बनाउन र कांग्रेसलाई विजेताको स्थानमा पु¥याउन पनि भूमिका खेलेको उनी बताउँछन् । पुल, कल्भर्ट, नापी, मालपोत, विद्युत् सवस्टेसन जस्ता पूर्वाधार निर्माणमा आफूले अगुवाइ गरेको उनले बताए । उनले भने, ‘त्यतिबेला मैले यहाँका मानिसहरु टीकापुर, गुलरिया र नेपालगन्ज आएर घर बनाउन बाध्य हुनु पर्दैन भनेको थिएँ । त्यो अवस्था अहिले त्यहाँ बनेको छ । अब यहाँ पनि मैले खजुरा, जानकी र बैजनाथ क्षेत्रलाई यही बस्नका हरेक तरहले उपयुक्त बनाउने मेरो लक्ष्य छ,’ उनले भने ।
नेपालगन्जको काखमा भएको ३ नम्बर क्षेत्रमा सिक्टा सिँचाइको पहुँच, बाटो निर्माण, तटबन्धलगायतका संरचनाको विकास, गरिब तथा किसान वर्गको उत्थानका कार्यक्रम ल्याउनका लागि आफूले प्रयास गर्ने उनले बताए । नेपालगन्जदेखि खजुरा, कोहलपुर–चिसापानी सडकलाई फोरलेन बनाउने, परसपुर–गौघाट सडकको स्तरोन्नतिको काम चाडो सम्पन्न गराउने उनको योजना छ । आफू राष्ट्रिय र प्रदेशस्तरबाट बजेट ल्याउनसक्ने र यहाँका जनताको आवाज उठाउनसक्ने एकमात्र उम्मेदवार रहेको उनको भनाइ छ ।
उनी आफूलाई सबैभन्दा बढी जनतासमक्ष गइरहने, जनताको बीचमा रहने र जनताका पक्षमा काम गर्ने केन्द्रियस्तरको नेता भएको दाबी गर्छन् । अब बाँके क्षेत्र नम्बर ३ का जनताले आफूलाई अवसर दिने र काम गर्ने अवसर दिने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्