अछुत कोपिला ।
जित्ने मानिसले कुनै बेग्लै काम गर्दैनन् । उनीहरु हरेक काम बेग्लै ढंगले गर्छन् । अहिले बालेन शाहले गरिरहेको पनि यत्ति हो । अरु केही पनि होइन । उनी कुनै चमत्कार गर्दै छैनन् । त्यसो गर्न कुनै दैवी शक्ति होइनन्, उनी । कसैले आवेगमा आएर बालेनले त चमत्कारै गरे भन्नु आवेश र हतार हुनेछ । धरानका मेयर हर्क साम्पाङको देवत्वकरणको साइट इफेक्ट ऐना झैँ प्रष्ट भइसक्यो । त्यसैले अहिले नै बालेनको देवत्करण गर्नु अस्वभाविक हुनेछ । समय छ, हतार गर्नु उचित हुने छैन ।
स्थानीय तह निर्वाचन, बालेन शाह, हर्क साप्पाङ र लौरो कै बढी चर्चा भयो, नयाँ वर्षको प्रथम महिनामा । केही संख्यामा स्वतन्त्र उदाए । बालेन र हर्क केही उदाहरण हुन् । बालेन, हर्क उदयका व्यक्ति एक, कारण अनेक छन् । समग्रमा वर्तमान दलीय व्यवस्थाविरुद्धका आशाका किरण हुन्, दुवैजना ।
उनीहरु कै जीतका कारण आगामी दिनमा स्वतन्त्रको लहर देखिने सम्भावना छ । स्वतन्त्रको लहर कहाँसम्म पुग्ने हो, यसै भन्न सकिने अवस्था छैन । पछिल्लो तीन महिनामा विशेष गरी उनीहरु कै वरिपरि राजनीति, मिडिया र सामाजिक सञ्जाल घुमिरहेको छ । प्रस्तुत लेख, बालेन र हर्क कै सेरोफेरोमा केन्द्रित छ ।
बालेन: लौरोदेखि डोजरसम्म
स्थानीय तह निर्वाचनको मिति घोषणासँगै बोलेन्द्र शाहउर्फ बालेन शाह एकाएक मूलधारमा आए । ¥यापर पृष्ठभूमिका शाहले काठमाडौंको मेयरको उम्मेदवार हुने घोषणाले एक्कासी चिसो काठमाडौं गर्मायो । मेचीदेखि महाकालीसम्म उनी छाए । मिडियाका हेडलाइन बन्दै गए । धेरैलाई वैशाख ३० को बेग्र प्रतीक्षाको घडी बन्यो । लोकतन्त्र जनताको लागि हो, जनताद्वारा गरिने शासन हो भन्ने कुराको चरितार्थ भयो ।
¥यापर बालेन राजधानी सहरको नगरपिता बने । जनताकै कारण उनलाई नगरपिता बन्ने सौभाग्य प्राप्त भयो । काठमाडौंमा बालेनको उदय सामान्य थिएन । उनको जीत असामान्य पनि थिएन । उनको जीत वर्तमान व्यवस्थाविरुद्धको आवाज थियो । नेताहरुविरुद्धको असन्तुष्टिको झिल्को थियो । बालेनप्रतिको भरोसा भोटमार्फत प्रकट भयो । बालेन अहिले वास्तविक परीक्षाको घडिमा छन् । काठमाडौंवासी मतदाताको भरोसामाथि तुसारापात गरेर फेल हुने छुट अबको पाँच वर्ष उनलाई छैन ।
कार्यकालको सुरुवातमै फोहोर व्यवस्थापन गर्न उनी कस्सिए । उनले फोहोरमाथि कसरी राजनीति हुन्छ, भन्ने कुरा प्रत्यक्षरुपमा भोगे । फोहोर राजनीतिको जालो भत्काउन दृढतापूर्वक लागे । दलहरुको फोहोरमाथिको राजनीति झन नांगोरुपमा उदांगो भयो । यसमा केही हदमा उनी सफल देखिए । अहिले काठमाडौंको फोहोरबिना अवरोध उठिरहेको छ । अहिले फोहोर व्यवस्थापनका केही सकारात्मक बाछिटा देखिन सुरु भइसकेको छ । बालेन फोहोर व्यवस्थापन सफल बन्नैपर्छ । फोहोरमा पनि राजनीति गर्नेहरुलाई उनले परास्त गर्नैपर्छ ।
बालेनले अहिले अवैध संचरना भत्काउने अभियान थालेका छन् । उनी महानगरका अवैध संरचनामात्रै तत्काउँदै छैनन् । बेथितिका पर्खाल पनि भत्काइरहेका छन् । उनी जित्न हिँडेका छन्, हार्नलाई होइन । उनको कामको विरोध र प्रंशसा दुवै भइरहेको छ । उनको नायकको शैलीबारे पक्ष र विपक्षमा बहस सुरु भएको छ । हिजो बालेनको लौरोबाट नचेतेकाहरु अहिले उनको डोजरसँग डराइरहेका छन् ।
बालेनको डोजरसँग सत्ता र शक्ति केन्द्रमा भुइँचालो गएको छ । स्थानीय तहमा डोजर आंतक स्थापित छ । तर, उनको डोजर शक्ति र सत्ता हल्लाउन अग्रसर देखिन्छ । बालेनको डोजर प्रभावमा पर्नु हुँदैन । हिजो लौरोमार्फत चत्कार गरे । अहिले डोजरमार्फत घरको पर्खाल होइन बेथितिको पर्खाल फत्काउँदैछन्,बालेन । हिजो उनको लौरोबाट नचिताएकाहरु फेरि उनीविरुद्ध उछितो काढ्दैछन् । उनको डोजरसँग शक्ति र सत्ता डराएको छ । उनी पछि हिँड्नु हुदैन ।
हर्क साम्पाङ: भुईँमान्छेदेखि अराजक जनप्रतिनिधिसम्म
देशमा ७५३ स्थानीय तह छन् । त्यसमा अध्यक्ष र मेयर छन् । नयाँ निर्वाचनपछि यस्तो भान हुँदैछ, स्थानीय तह भनेका काठमाडौं र धरान मात्रै हुन् । मिडिया, सामाजिक सञ्जाल, चुलोचौकोदेखि चौतारासम्म यी पालिकाकै चर्चापरिचर्चा हुन्छ । धरान र काठमाडौंका केही समानता छन् । उनी स्थानीय सरकार हुन् । काठमाडौं देशको प्रमुख प्रशासनिक केन्द्र हो, धरान उपमहानगर ।
यहाँ स्वतन्त्र व्यक्ति निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनको करिब तीन महिना बित्दैछ । नगन्य तर, अप्रत्याशितरुपमा स्थानीय तहमा स्वतन्त्र उदाएको स्थानीय तह निर्वाचन विशेषसमेत रह्यो । स्थानीय तह निर्वाचनमा जनताले दल मन पराएनन् । उनीहरुले अहिलेको दलीय व्यवस्था र उम्मेदवारलाई मन पराएको देखिएन । काठमाडौं, धरान र धनगढी जस्तामा स्वतन्त्र उम्मेदवार विजयी हुुनु सामान्य परिघटना मात्रै होइन । खासमा हर्क पाँच वर्षअघि भुईँमान्छे मात्रै थिए ।
कुनैबेला बैदेशिक रोजगारीमा गएका उनी फर्किएपछि अभियान्ताको रुपमा उदाए । धरानका जनताका जनजीविकाका विषयमा उनले निरन्तर आवाज उठाइरहे । उनी एक्लै पनि आन्दोलन गर्थे । उनलाई कसैले पत्याएनन् । एकपटक त उनले दिउँसै लालटिन बोकेर पत्रकार खोज्न हिँडेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी पराजित भए । तर, उनले आफ्नो अभियानलाई भने बिट मारेनन् । त्यसमा झन सशक्तरुपमा अघि बडे । गत वैशाखमा सम्पन्न निर्वाचनमा उनी फेरि मेयरको उम्मेदवार बने ।
लौरो चिन्ह लिएर निर्वाचनमा होमिएका उनी अभूतपूर्व मतसहित विजय हासिल गरे । स्वतन्त्रले केही स्थानीय तहमा जितेको पालिकामध्ये धरान पनि एक हो । जित्ने व्यक्तिहरुमध्येका एक, हर्क पनि हुन् । सामान्य अभियान्ताबाट स्थानीय सरकार प्रमुख बनेका हर्क राष्ट्रिय चर्चाको पात्र
बने । कार्यकालको पहिलो महिनामा उनले उल्लेखनीय कामसमेत गरे । ढुंगा बोक्ने, गिट्टी कुट्नेदेखि पाइप बोक्नेसम्म काम गरे ।
जनताको प्रतिनिधिको रुपमा आधारभूत कुरा प्रतिपूर्तिका लागि उनले गरेको कामको चौतर्फि प्रशंसा भयो । उनी वाहीवाहीको पात्र बने । देशभरि एकमात्र जनप्रतिनिधिको रुपमा उनले श्रमदानको संस्कृति बसाए । उनको आह्वानमा धरानका जनताको अभूतपूर्व साथ दिए ।
तर, जब उनी काठमाडौं पुगे, अनि सुरु भयो ओरालो यात्रा । उनले काठमाडौंको फोहोर विषमा टिप्पणी सुरु भएपछि विवादमा तानिए । उनको त्यो फेसबुक स्ट्याटस्मार्फत काठमाडौंका मेयर बालेन शाहप्रति लक्षित थियो । बालेनले पनि उनको स्ट्याट्सको प्रतिक्रिया दिए ।
त्यसपछि उनीहरुको विवाद सतहमा आयो । त्यसपछि हर्क निरन्तर बालेनप्रति खनिए । त्यो क्रममा अझै पनि रोकिएको छैन । त्यसपछि भने उनी बिस्तारै अलोकप्रिय बन्दै छन् । त्यतिमात्रै होइन विवादित प्रतिक्रियाका कारण धराने जनताको आसामा तुरासापात भएको छ । अहिले उनको विरोध सर्वस्त्र छ । उनी आफ्नै ‘थुतुनो’ (मुख) का कारण चौतर्फिरुपमा विवादको पात्र बनेका छन् ।
यही क्रममा निरन्तरता दिए भने उनीमाथि गम्भीर नैतिक संकट आइपर्ने निश्चित छ । सबैभन्दा पहिलो चुनाव उनले फेसबुक चलाउन
छोड्नुपर्छ । त्यति सकेनन् भने पनि विवादित स्ट्याटस् त निषेध नै गर्नुपर्छ ।
हर्क साम्पाङको अभिव्यक्तिसँग मेल खाने गजुरीयल डटकमले दिएका थुतुनो कन्ट्रोल गर्ने ६ उपाय ! यस्ता छन् ।
१. सबैभन्दा पहिले दिमागलाई ठण्डा राख्नु पर्दछ । किनकी शरीरका प्रत्येक अंगहरु मस्तिष्कसँग जोडिएका हुन्छन् । जिब्रो त झन् दिमागको सबैभन्दा नजिकको मित्र प¥यो । माथा गरम हुँदा जिब्रोलाई लटरपटर बनाइदिन्छ । लटरपटर जिब्रोले भन्नुपर्ने कुरो बिर्सिन्छ । नभन्नु पर्ने कुरोचिप्ल्याइ दिन्छ ।
२. मनलाई शान्त राख्नु दोस्रो उपाय हो । शब्दको निर्माण मनमा हुन्छ । मनमा निर्माण भएको शब्दलाई दिमागले सम्पादन गर्छ । सम्पादित शब्द जिब्रोको माध्यमबाट बाहिर निस्किन्छ । अशान्त मनले कुन शब्द सही हो, कुन वाक्य गलत हो, थाहा पाउँदैन । कुन कुरा सोच्नु हुन्छ, कुन कुरा बोल्नुहुन्न, त्यो पनि जान्दैन । जिब्रोको अराजकता नियन्त्रणका लागि योग र ध्यानको प्रयोग सहयोगी हुने गजुरीयल ठम्याइ छ ।
३. जिब्रो चिप्लिनबाट बँच्ने अर्को उपाय शरीरको भाषा बुझ्नु हो । हृदयमा शब्द बन्नुअघि शरीरमा विभिन्नखालका संवेदनाहरु पैदा हुन्छन् । शरीरमा राम्रो संवेदना आयो भने मनमा राम्रै शब्द बन्छन् । नराम्रा संवेदनाहरु आए भने नराम्रै शब्द बन्छन् । त्यसैले शरीरमा नराम्रो संवेदना आएका बेला सकेसम्म मौन बस्नाले जिब्रो चिप्लिने कार्य कम हुन्छ ।
४. अर्को उपाय हो, मिठाइ चुसी रहने । चुइगम चपाइ बस्ने । पान खाइ रहने । सुपारी टोकी रहने । त्यसो गर्नाले मनमा आएका कुराहरु नियन्त्रण हुन्छन् । बेला न कुबेला फुत्किन पाउँदैनन् । नराम्रा शब्द उच्चारण भएका छन् भने पनि राम्रो बनेर बाहिर निस्किन सक्छन् भन्ने गजुरीयल अनुमान छ ।
५. जिब्रोलाई सकेसम्म तामसी भोजन नगराउनु उपयुक्त हुन्छ । बियर नपिउने, ह्विस्की नचुसाउने, आक्रमक शब्द बोल्न नदिने गर्नुपर्छ । गुलियो, पिरो, चर्को, चिल्लो खानाले पनि जिब्रो चिप्लिने डर हुन्छ । खानै परे जिब्रोले थाहा नपाउनेगरी घुटुक्क पार्नुपर्छ ।
६. देख्दा जिब्रो पुगनपुग २०० ग्राम होला । तर, शरीरमा यसको ठूलो महŒव छ । दुई इन्चीको जिब्रोको स्वादका लागि सिंगो शरीर अस्वस्थ नबनाऔं । त्यति सानो जिब्रो कारणले सिंगो नामलाई बदनाम नगराऔं । जिब्रो नियन्त्रण गरौं । मानसिक र सामाजिक स्वास्थ्यको सुरक्षा गरौं । सभ्य र शिष्ट बनौं र बनाऔं ।









प्रतिक्रिया दिनुहोस्