27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

कोहलपुरमा सार्वजनिक संरचनाको हरिबिजोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकास्थित चौराहामा सार्वजनिक धारा छ । २०६७ माघ २५ गते कोहलपुर–३ का स्वर्गीय श्यामबाबु सापकोटाको स्मृतिमा उक्त धारा निर्माण गरिएको थियो । चौराहामा रहेको बोरिङ दुई सय ७२ फिट छ । अटोमेटिक बोरिङद्वारा निर्माण गरिएको शुद्ध खानेपानी धारा अहिले बेवारिसे छ । धाराबाट पानी आउँदैन । धारा झाडीमा परिणत भएको छ ।

न्यूरोडमा स्मृतिमै एउटा प्रतीक्षालय निर्माण गरिएको छ । त्यो प्रतीक्षालयको अवस्थामा पनि बेवारिसे नै छ । यति मात्र होइन कोहलपुरका सार्वजनिक ठाउँमा निर्माण गरिएका संरचनालाई संरक्षण नहुँदा जीर्ण हुँदै गएका छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा रहेको चौराहा पनि संरक्षणको पर्खाइमा छ । यात्रुहरुले बिश्राम लिने, राजनीतिक दलले आभसभा विरोधसभा गर्ने साझा थलोको रुपमा रहेको चौराहाको उचित व्यवस्थापन हुन सकेको छैन । यहाँ विभिन्न क्षेत्रका मानिस व्यवसाय गर्छन् ।

पानी पर्दा होस् वा गर्मी हुँदा सबैले बिश्राम गर्ने र ओत लाग्ने ठाउँसमेत हो । चौराहामा रहेको रुख र यहाँ निर्माण गरिएको चौतारासमेत जीर्ण हुँदै गएको छ । चौतारा पनि उचित संरक्षण नहुँदा विभिन्न ठाउँमा भत्किएको छ । वातावरण पनि दुर्गन्धित छ । प्लास्टिक, सुर्तीका खोस्टा यत्रतत्र भेटिन्छन् । यस्तै वरपरको हिलोले समेत चौराहाको वातावरण दुर्गन्धित बनाइरहेको छ । यतिसम्मकी स्थानीय सरकारले चौराहा क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन हुँदै आएका ठेलागाडा व्यवस्थापन गर्न सकेको छैन ।

चौराहामा व्यवसाय गर्ने श्रीराम चौलागाई चौराहा क्षेत्रको उचित व्यवस्थापन हुन नसकेको बताउँछन् । उनका अनुसार चौराहाको वातावरणसमेत दुर्गन्धित छ । विभिन्न प्लास्टिकजन्य पदार्थसमेत छरप्रस्ट छन् । कोहलपुर–११ न्यूरोडमा रहेको प्रतिबिम्ब प्रतीक्षालय लामो समयदेखि बेवारिसे अवस्थामा छ ।

२०७२ सालमा प्रतिबिम्ब परिवारले निर्माण गरेको प्रतीक्षालयको अवस्था देख्दा जो सुकैलाई हिनताबोध हुन्छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टर तथा विद्यार्थीहरुले आफ्ना सहकर्मी डा. दीपक चन्दको सम्झनामा प्रतीक्षालय निर्माण गरेका थिए । २०४७ कात्तिक २५ गते जन्मिएका चन्द्रको २०७१ साउन २३ गते मृत्यु भएको थियो । उक्त प्रतीक्षालयको अवस्था दयनीय छ । प्रतीक्षालयभित्र थोत्रा कपडा, झारपात मात्रै छन् ।

प्रतीक्षालय अहिले शौचालयमा परिणत भएको छ । खुला मैदान नजिकै रहेको उक्त प्रतीक्षालयको कुनै पनि व्यक्ति वा निकायले प्रयोगका लागि ध्यान दिन सकेका छैनन् । आफ्ना सहकर्मीको सम्झनामा पवित्ररुपमा गरिएको प्रतीक्षालयले स्थानीय सरकार र सरोकारवालाको संरक्षण पर्खिरहेको छ ।

आफन्तको सम्झनामा निर्माण गरिएका संरचनाहरु स्थानीय सरकारले संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ । ‘धारा मर्मत गरिएको भए कयौंलाई प्यास मेटाउन सजिलो हुन्थ्यो,’ कोहलपुरमा कर्णबहादुर उपाध्यायले भने, ‘प्रतीक्षालय, चौताराको संरक्षण भएको भए थकान मेटाउन हुन्थ्यो ।’ सार्वजनिक स्थानमा बनेका संरचनालाई स्थानीय सरकारले उचित मर्मत सम्भार गर्नुपर्ने यहाँका स्थानीयको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, भदौ ९, २०७९     12:53:21 PM  |