इनिसा हत्या प्रकरणः अनुसन्धान सुस्त,आफन्त आन्दोलित



सुर्खेत ।

बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरी इनिसा विकको घटना करिब एक हप्ता पुग्न लाग्यो । तर अनुसन्धानको नतिजा सार्वजनिक नभएको भन्दै पीडित परिवारले असन्तुष्टि व्यक्त गरेका छन् । हत्या प्रकरणबारे हालसम्म न त घटनाको पूर्ण सत्यतथ्य जानकारी सार्वजनिक भएको छ, न त पोस्टमार्टम रिपोर्ट नै आएको छ ।

प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको थियो भने पछि थप तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । तर यति गम्भीर घटनामा समेत अनुसन्धान कार्य सुस्त देखिएको पीडित पक्षको आरोप छ । सामूहिक बलात्कारपछि किशोरी इनिसाको विभत्स हत्या गरिएको दाबी गर्दै पीडित परिवार र आफन्तजन आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसाको सामूहिक बलात्कारपछि विभत्स रूपमा हत्या गरिएको आफन्तको दाबी छ । पीडित परिवारले निष्पक्ष छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा निवेदन समेत बुझाएका छन् ।

इनिसाका दाजु नाता पर्ने टंक विकले घटनाले परिवारलाई अपूरणीय क्षति पुगेको बताउँदै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए । क्रूर घटनालाई राजनीतिकरण नगरी पीडितलाई न्याय दिन सबै निकाय जिम्मेवार बन्नुपर्ने उनको तर्क छ । ‘यस्तो जघन्य घटनामा कुनै पनि प्रकारको राजनीति हुनुहुँदैन । दोषीलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुपर्छ,’ उनले भने, ‘घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिन्छौँ । न्याय सुनिश्चित नभएसम्म दबाबमूलक कार्यक्रम स्थगन गर्दैनौँ ।’

पीडित पक्षको मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले घटनाबारे अनुसन्धान जारी रहेको र निष्पक्ष रूपमा सत्यतथ्य सार्वजनिक गरिने बताए । उनले भने, ‘घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको छ । दोषी कुनै पनि हालतमा छुट्दैनन्, कानुनी दायरामा ल्याएर कारबाही गरिन्छ ।’ इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

उनलाई प्रहरीले प्रदेश अस्पताल कालागाउँ पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको देखाए पनि सामूहिक बलात्कार भएको हो कि होइन भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए ।

‘प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको संकेत गरेको छ । तर सामूहिक बलात्कार भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान जारी छ,’ उनले भने, ‘घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका चारै जना १८ वर्षमुनिका नाबालक रहेका छन् । फागुन २३ गते दिउँसो एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिइएकोे छ ।’

डीएसपी बुढथापाले पोस्टमार्टम रिपोर्ट अझै नआएको जानकारी दिँदै रिपोर्ट आएपछि घटनाबारे स्पष्ट निष्कर्षमा पुग्न सहयोग पुग्ने बताए । ‘प्रदेश अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएपछि अनुसन्धानलाई थप स्पष्टता मिल्छ,’ उनले थपे, ‘पुनः पोस्टमार्टम र थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगन्जबाट तीन जना विशेषज्ञको टोलीलाई सुर्खेत बोलाइएको छ ।’

प्रहरीका अनुसार २३ गते पक्राउ परेका १६ वर्षीय युवकले बयानका क्रममा इनिसासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अन्य तीन जना साथीलाई बोलाएको बताएका छन् । तर मृतकको परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी जाहेरी दिएका छन् ।

इनिसाका दाजु नाता पर्ने चन्द्रबहादुर विकले घटनास्थलको अवस्था हेर्दा सामूहिक बलात्कारपछि हत्या गरिएको जस्तो देखिने दाबी गरे । ‘घटनास्थलको अवस्था हेर्दा सामान्य घटनाजस्तो लाग्दैन । सामूहिक बलात्कारपछि हत्या गरिएको हो,’ उनले भने, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिलाउन राज्यका सबै निकायसँग माग छ ।’

कर्णालीसँगै देशभरका अधिकारवादी संघसंस्थाले पनि यस घटनामा चासो देखाएका छन् । उनीहरुले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षणपत्र बुझाएका छन् । उक्त घटनालाई अत्यन्त दुःखद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

के भन्छिन् इनिसाकी आमा ?

‘फागुन २३ गते शनिबार बिहान ६ बजे इनिसा ‘ट्युसन पढ्न जान्छु’ भन्दै तयार भइरहेकी थिइन्,’ उनकी आमा तिला विकले भनिन्, ‘मैले आज शनिबार हो, नजाऊ गुर्भाकोट घर जानुछ’ भन्दै रोक्न खोजे । तर, इनिसाले २ घण्टाभित्र फर्किहाल्ने भन्दै जिद्दी गरेर घरबाट निक्लिइन् ।’
उनका अनुसार इनिसा वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् ।

बिहान ८ बजे फर्किसक्ने भनेर घरबाट निस्किएकी छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् । तर फोन स्वीच अफ थियो । त्यसपछि स्कुल र शिक्षकको पनि फोन उठेन । ‘केही समयपछि बिरानो नम्बरबाट फोन गर्दै कसैले तपाईँकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन् । छिटो लिन आइहाल्नुस् भन्यो,’ उनले भनिन्, ‘६ वर्षको छोरा च्यापेर हतारिँदै शहीद पार्क पुगे । इनिसाको शरीर रक्ताम्मे थियो। कपाल लुछिएको, घाँस मडारिएको थियो । एकातिर जुत्ता, अर्कोतिर मोजा थियो ।’

उनका अनुसार खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा पनि थिएन । शरीर कालो ज्याकेटले छोपेको थियो । ‘कालो ज्याकेट हटाउँदै प्रहरीले इनिसाको अनुहार देखाउँदा छातीभरि नीलडाम थिए । छोरीको त्यो अवस्था देखेपछि मेरा शरीर काँप्न थाल्यो,’ उनले थपिन्, ‘त्यसपछि आँखा तिरमिराउन थाले । म त्यहीँ बेहास भएछु । प्रहरीले छोरीलाई अस्पताल पु¥याएको पनि थाहा पाइनँ ।’

इनिसाका बुवा दुबईमा अलपत्र

इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा छन् । पछिल्लो ६ वर्षयता दुबईको सेनामा कार्यरत उनी छुट्टिमा घर आएर एक महिना अगाडि मात्रै दुबई गएका थिए । छोराछोरीको सुन्दर भविष्यका लागि भन्दै इन्द्रबहादुर विदेशिए । छोराछोरी पढाउन भनेर तीला पाँच वर्षयता वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।

इनिसा पढाइमा राम्रो विद्यार्थी थिइन् । विज्ञान विषय लिएर पढिरहेकी उनी डाक्टर बन्न चाहन्थिन् । बुवा–आमाको सपना पनि छोरी डाक्टर बनेको देख्नु थियो । तर आँखै अगाडि फूल जसरी हुर्काएकी छोरीको गला कसले र किन निमोठ्यो ? यसको उत्तर अभिभावकसँग छैन ।
बहिनीको मृत्युपछि आमा तिलाको स्वास्थ्य कमजोर बन्दै गएको इनिसाका दाजु नाता पर्ने टंक विकले बताए ।

‘छोरीको मृत्युको खबरले विक्षिप्त बुवा इन्द्रबहादुर पुनः घर फर्किने प्रयासमा छन्, तर मध्यपूर्व क्षेत्रमा जारी लडाइँले दुबईको एयरपोर्ट बन्द हुँदा उहाँ उतै अलपत्र पर्नुभएको छ,’ उनले भने, ‘घरमा इनिसाकी आमा विक्षिप्त छिन् भने दुबई एअरपोर्टमा अलपत्र बुवा इन्द्रबहादुर कहिले नेपाल आउने टुंगो छैन ।’

पीडित परिवार न्यायको पर्खाइमा जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको परिवारको आरोप छ । प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य जानकारीसहित पीडितलाई न्याय नदिए यो घटनाले उग्ररुप लिने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार