बाँसगढी।
बाँसगढी नगरपालिकाले करार कर्मचारीहरूको छनोटका लागि छोटो सूची (सर्ट लिस्ट) प्रकाशित गरेको छ । नगरभित्र आवश्यक प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्नका लागि नगरपालिकाले गत मंसिर ११ गते एक सूचना प्रकाशित गरी विभिन्न प्राविधिक समूहमा कर्मचारी माग गरेको थियो । सो सूचनाका आधारमा रितपूर्वक पर्न आएका आवेदनबाट छनोट गरेर पुस २६ गते सर्ट लिस्ट प्रकाशित गरिएको बाँसगढी नगरपालिकाका मेयर खड्कबहादुर खड्काले जानकारी दिए ।
उनले नगरपालिकाभित्र प्राविधिक कर्मचारीको आवश्यकता भएकाले सूचनामार्फत आवेदन माग गरिएको र नगरपालिकाको कार्यविधि २०७५ बमोजिम प्रारम्भिक छनोट गरेर सर्ट लिस्ट निकालिएको बताए । स्थानीय व्यक्तिलाई प्राथमिकता दिने र निष्पक्ष छनोट गर्नेगरी कार्यविधिमा आधार बनाइएको उनले बताए । करार कर्मचारी व्यवस्थापन कार्यविधि २०७५ (संशोधित) बमोजिम तीन वटा आधारमा सर्ट लिस्ट प्रकाशित गरिएको थियो ।
शैक्षिक योग्यता, कार्य अनुभव र स्थानीय बसोबासलाई आधार बनाइएको हो । प्रारम्भिक छनोटका लागि यी तीन आधारमध्ये प्रत्येकको १० अंकभार राखिएको छ । ३० अंकभारमा प्रति एक माग संख्यामा सबैभन्दा बढी अंक ल्याउने चार जनाका दरले सर्ट लिस्ट निकालिएको हो ।
शैक्षिक योग्यताबापतको १० अंकमा विशिष्ट श्रेणी १०, प्रमथ श्रेणी ८, द्वितीय श्रेणी ६ र तृतीय श्रेणीलाई ४ अंक निर्धारण गरिएको छ । त्यसैगरी, कार्य अनुभवबापतको १० अंकमा प्रतिवर्ष कार्य अनुभवलाई २ अंकका दरले नम्बर दिने व्यवस्था गरिएको छ ।
त्यस्तै, स्थानीय नगरबासी भएमा १० अंक प्राप्त गर्ने र बर्दिया जिल्लाभित्रको हकमा ५ अंक प्राप्त गर्न सक्ने कार्यविधिमा व्यवस्था भएको नगरपालिकाका प्रमुख प्र्रशासकीय अधिकृत तथा छनोट समितिका संयोजक विमल पौडेलले जानकारी दिए । विभिन्न समूहका २२ प्राविधिक कर्मचारी माग गरिएकोमा चार सय बढी आवेदन परेका थिए । यीमध्ये प्रत्येक समूहबाट ४ जनाका दरले सर्ट लिस्ट प्रकाशित गरिएको हो ।
सात समूहमध्ये सब–इन्जिनियर ४, रेडियोग्राफर १, सहायक कम्प्युटर अपरेटर ६, अनमि ६, नायब प्राविधिक सहायक (कृषि) २, नायब पशुसेवा प्राविधिक २ र इलेक्ट्रिसियन १ गरी जम्मा २२ जना करार कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरिएको थियो । २२ पदका लागि चार सय बढी आवेदन परेकाले ती आवेदनमध्येबाट कार्यविधि अनुसार छनोट गरेर सर्ट लिस्ट निकालिएको पौडेलले बताए ।
वडावडामै प्राविधिक कर्मचारी पु¥याउने उद्देश्यले यो सूचना निकालिएको पौडेलले बताए । ‘कम्तीमा पनि दुईवटा वडामा एक प्राविधिक कर्मचारी हुन् भन्ने हो,’ पौडेलले भने, ‘स–साना प्राविधिक कामका लागि नगरपालिकामै धाउनुपर्ने बाध्यता नगरबासीलाई नहोस् ।’
सर्ट लिस्टमा परेकाहरूको लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षासमेत लिन सकिने नगरपालिकाले जनाएको छ । सबै पदका लागि माघ १० गते लिखित परीक्षा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्