बाँकेमा भएका छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु



बाँके ।

बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा शनिबार तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार दुई स्थानमा भएका घटनामा तीन पुरुषको मृत्यु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१७ मा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको प्रहरीले जनाएको छ । अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय पर्शुराम कलवार र उनका २५ वर्षीय छोरा बब्लुको मृत्यु भएको हो ।

छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनीहरुको नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै शनिबार नै जानकी गाउँपालिका वडा नम्बर–५ छब्बनपुर्वामा पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ ।

स्थानीय ७ वर्षीय बालक सञ्जु करबलको अम्बे स्टील उद्योगको नजिकै रहेको खाल्डोमा डुबेर मृत्यु भएको हो । बिहान शौच गर्न गएका बेलामा बालकको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ५ गते आइतबार