राप्तीसोनारीकी अब्बल दुर्गा



शुभाकर विश्वकर्मा । कोहलपुर ।

राप्तीसोनारी–२ स्थित खोरियाकी दुर्गा देवकोटा सानैदेखि पढाइमा अब्बल थिइन् । यसको कारण, ‘परिवार शिक्षित बन्नु र घरमा शैक्षिक वातावरण बन्नु हो ।’ आमालाई बालबालिकाको पहिलो पाठशाला मानिन्छ ।

१७ वर्षीया देवकोटाको हुर्काइ र पढाइ पनि शिक्षिका आमाबाटै भयो । यसमानेमा उनी भाग्यमानी ठहरिन्छिन् । शिक्षित आमाको काखमा हुर्केबढेकी उनी अब्बल सावित भएकी छिन् । २०८७ को एसईई परीक्षामा उनी राप्तीसोनारी गाउँपालिकाभरिमा उत्कृष्ट नतिजा ल्याउन सफल भइन् । केही दिन अघि भएको एसईईको रिजल्टमा उनले गाउँपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकी हुन् ।

उनले ३.८ जिपिएर ल्याएर एसईई उत्र्तीण भइन् । फलामको ढोकासमेत भनिने एसईई परीक्षामा सफलता प्राप्त गर्न उनको सानो मिहेनत लागेको छैन । दुर्गा सानैदेखि पढाइमा अब्बल र तेज थिइन् । उनी कक्षामा सधै प्रथम हुन्थिन् । एसईईमा उत्कृष्ट जिपिए उनको निरन्तरको परिश्रम र लगनशीलताको प्रतिफल हो ।

उनी भन्छिन्, ‘सर्वप्रथम एसईई उत्र्तीण भएकोमा खुसी छु । झन खुसी छु, गाउँपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा । मेरो सफलता मेरो परिवार र विद्यालयको समेत सफलता हो ।’

हुन पनि शिक्षिका आमा उनका लागि प्रेरणाको स्रोत हुन् । शिक्षक सहिद स्मारण आधारभूत विद्यालयमा अध्ययनरत आमाको सपना पूरा गर्ने चरणमा पुगेकी छिन्, उनी । खेती किसानी गर्ने बुवाले उनलाई सधै पढ्न प्रेरणा दिइरहे । बाजे धनबहादुर खत्रीले नातिनीलाई सधै विद्यालय जान हौसला दिए । आमा, बाबा र बाजेलाई आफ्नो जीवनका प्रेरणाका स्रोत भएको उनको भनाइ छ । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भनिन्, ‘पास भए, खुसी छु । धेरैले राम्रो गर्नुपर्छ भन्नु भएको छ । परिवार, विद्यालयका सरहरु सबैले बधाइ दिनुभयो ।’

उनी अध्ययनरत विद्यालय लक्ष्मी माध्यमिक विद्यालयमा बाली विज्ञान पढाइ हुन्छ । उनी पनि कक्षा ९ देखि बाली विज्ञान पढ्दै आएकी छन् । उनले अब कक्षा १२ सम्म बाली विज्ञान नै पढ्ने बताइन् । उनका अनुसार तत्काल अन्य कुनै लक्ष्य छैन । बाली विज्ञानको पढाइ सकाएर राम्रो नतिजा आए विज्ञान विषय नै पढ्ने योजना रहेको उनले सुनाइन् । त्यसपछि के पढ्ने भनेर परिवार र शिक्षकसँग सल्लाह गर्ने दुर्गा बताउँछिन् ।
लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद आचार्यले दुर्गा आफ्नो विद्यालयको सान भएको बताए ।

उनका अनुसार दुर्गा पढाइमा निकै लगनशील छिन् । दुर्गाको क्षमता र विद्यालयको कुशल व्यवस्थापन र प्रेरणाका कारण विद्यालयको नाम जिल्लाभरि नै चिनिएको प्राधानाध्यापक आचार्यले बताए । उनले भने, ‘हाम्रो विद्यालयकी छात्रा पालिका टपर भएकी छन् । उनको यो सफलता विद्यालयको समेत हो ।

अहिलेसम्म जिल्लाका अन्य कुनै पनि विद्यालयले औपचारिकरुपमा केही पनि बोलेका छैनन् । दुर्गाको जिपिएर जिल्लाकै उत्कृष्ट हो ।’ उनले सम्पूर्ण सरोकारवालाको निरन्तरको प्रयासका कारण विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको बताए । उक्त विद्यालयमा प्राविधिक धारका साथै अंग्रेजी माध्यमबाट समेत पढाइ हुन्छ ।

विद्यालयको शैक्षिक अवस्था सुधारका लागि कार्ययोजना निर्माण गरिएको उनले बताए । उनले शैक्षिक उपलब्धि हासिल गर्न उत्कृष्ट शिक्षकलाई प्राथमिकता दिएको समेत बताए । यस्तै निरन्तर अनुगमनले पनि शैक्षिक अवस्था सुधारमा सहयोग पुगेको बताए । उक्त विद्यालयमा कूल एक सय १९ जना विद्यार्थी पास भएका छन् । राप्तीसोनारीमा कूल २२ वटा माध्यमिक विद्यालय छन् ।

एसईई परीक्षा २०७८ मा राप्तीसोनारी गाउँपालिकाका कूल एक हजार एक सय ७६ जना विद्यार्थी उत्र्तीण भएका छन् । परीक्षामा कूल एक हजार दुई सय २४ जना विद्यार्थी सहभागी थिए । परीक्षामा ४८ जना विद्यार्थी अनुपस्थित रहेको गाउँपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रबार