बालिकाको बलात्कारपछि हत्या प्रयास, कोहलपुरमा उपचार हुँदै



बाँके । 

अर्घाखाँची घर भएर दाङस्थित मामा घर आएकी साढे ३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

जिल्लाको बबई गाउँपालिका–४ खयरभट्टीस्थित मामाघर आएकी ती बालिकालाई स्थानीय १४ वर्षीया किशोरले शनिबार दिउँसो बालात्कार गरेका थिए । पीडित बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

बलात्कारपछि किशोरले पीडित बालिकालाई मकैबारीको डिलबाट करिब ४५ मिटर तल धकेलिदिएका थिए । बालिकाको टाउकोमा चोटसमेत लागेको छ । घटना शनिबार दिउँसो २ बजेतिर भएको आफन्तले बताए पनि प्रहरीलाई भने बेलुका ८ बजे मात्रै सूचना आएको डीएसपी अर्यालले बताए । पीडित बालिकाको स्वास्थ्य चेकजाँच र प्रारम्भीक उपचार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको हो । ‘बलात्कारपछि बालिकाले कानमा लगाएको सुनका गहना पनि ती किशोरले लगेको देखिएको छ,’ डीएसपी अर्यालले भने, ‘त्यसपछि हत्या गर्ने उद्देश्यले बालिकालाई मकैबारीको डिलबाट हुत्याइदिएको हुनसक्छ ।’

बलात्कारमा संलग्न भनिएका ती बालक दिउँसो ती बालिकाको मामाघर आँप खान भनेर गएका थिए ।

‘ती किशोर आँप टिप्न रूख चढेपछि बालिकाकी आमा र घरका अन्य सदस्य भित्र गएको मौका पारेर बालिकालाई प्रलोभनमा पारी मकैबारी पु¥याई बलात्कार गरेको देखिन्छ,’ डीएसपी अर्यालले भने, ‘बलात्कारमा संलग्न किशोर प्रहरी नियन्त्रणमा छन् र उनको बिगतको छवि पनि राम्रो देखिदैन ।’ बराल्लिएर हिँड्ने उनी विगतमा चोरी गरेको अभियोगमा पक्राउ परेको प्रहरी रेकर्डबाट खुलेको डिएसपी अर्यालले बताए ।

पीडित बालिकाको तर्फबाट मावलीका हजुरबुवाले किटानी जाहेरी दिएका छन् । बुबा छोरीको उपचारका लागि बाँकेमा भएकाले हजुर बुबाले इप्रका तुलसीपुरमा आएर जाहेरी दर्ता गराएको डीएसपी अर्यालले बताए ।

पीडित बालिकाको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कोहलपुरका एक चिकित्सकले मिसन टुडेलाई जानकारी दिए ।

‘दाङबाट रिफर भएर आएकी बालिकाको अवस्थामा विस्तारै सुधारउन्मुख नै रहेको छ’ ती चिकित्सकले भने, ‘बालिकाको शरिरका विभिन्न भागमा घाउ चोटपटक लागेको छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ९ गते सोमबार