कोहलपुरको ‘पुरही टोल’ सरसफाइमा जुटे स्थानीय



कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर– ११ स्थित पुरही टोलमा सरसफाइ अभियान चलिरहेको छ ।

सुन्दर र रमणीय टोल बनाउने उद्देश्यका साथ टोल सरसफाइ अभियान चलिरहेको हो । पुरही टोल सरसफाइ अभियान ६ हप्तापहिले प्रारम्भ भएको थियो । यो अभियान प्रत्येक साताको शनिबार स्थानीय बासिन्दाहरुको सहभागितामा हुने गरेको छ ।

शनिबार पनि उक्त टोलमा रहेका स्थानीयहरुको उल्लेख्य सहभागितामा सम्पन्न भएको थियो । ‘पुरही टोल’ सुधार समितिको आयोजनामा टोल सफाइ अभियान चलिरहेको छ ।

समितिका अध्यक्ष सूर्य रोकायले प्रत्येक हप्ताको बिहान साढे ६ बजेदेखि साढे आठ बजेसम्म सरसफाइ हुने गरेको जानकारी दिए । उनका अनुसार अभियान अन्तर्गत शनिबार पनि टोलमा रहेको बाटोको छेउमा सरसफाइ गरिएको थियो । छेउछाउका किनाराका साथै अस्थायी नाली र बाटो सरसफाइ गरिएको उनले बताए ।

‘यो विशुद्ध स्थानीयले सुरु गरेको अभियान हो । हामी ६ हप्तादेखि निरन्तर सरसफाइ गरिरहेका छौँ । हाम्रो अभियान निरन्तर जारी रहन्छ । सम्पूर्ण वडा ११ सुन्दर होस् भन्ने हाम्रो चाहना हो ।’ उनले भने । समितिका अध्यक्ष रोकाय स्थानीय सरकारको लापरबाहीका कारण वडा नम्बर– ११ दुर्गन्धित हुँदै गइरहेको बताउँछन् ।

वडालाई सफा र सुन्दर बनाउन वडा सरकार र नागरिकबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा उनले जोड दिए । कोहलपुरमा दीर्घकालीन फोहोर व्यवस्थापन हुन सकेको छैन । कोहलपुरको मुख्य वडाको रुपमा रहेको वडा नम्बर– ११ का विभिन्न टोल तथा क्षेत्रमा फोहोर जन्य पदार्थ जताजतै देख्न सकिन्छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ८ गते आइतबार