
सहर छिरेर गाउँ भुल्ने धेरै छन् । आफ्नो घर होस् या भाडामा बसेर । गाउँमा सहर बजार बस्नेलाई भाग्यमानी ठान्छन् । गाउँमा बस्नेहरु अक्सर सहर जाने रहर गर्छन् । उनीहरुको सोच सहर केन्द्रित भएको पाइन्छ । उनीहरुलाई लाग्छ, सहर त सुन्दर होला, त्यहाँका मानिस सहयोगी होलान् । सहरमा मानवियता, शिष्टाचार र सद्भाव होला । यस्तै सोचेर सहर आउने रहर गर्छन् गाउँमा बस्नेहरु ।
कुनैबेला त्यही लिष्टमा पर्थे म पनि । सुदूर गाउँमा जन्मे हुँर्केको मेरा लागि सहर पुग्नु त एक सपना जस्तै थियो । तर, पछिल्लो तीन वर्षयता त सहरमा बसिरहेको छु । गाउँमै आटो, पिठो, सिस्नु खाँदै हुर्केको थिए म । गाउँमै १० कक्षासम्म अध्ययन पुरा गरे । जब एसइइ आयो । थप अध्ययनको लागि सहर जानुपर्ने भयो, हामी गाउँलेहरुको लागि एसइइ सहर पस्ने उपयुक्त अवसर हो । गाउँमा एसइइको ट्युसन पढाइ नहुने भएकोले पनि ऋण निकालेर, खेतबारी बेचेर सहर जानुपर्ने बाध्यता हुन्छ ।
त्यही बाध्यता र रहरकाबीच आज भन्दा तीन वर्ष पहिले मैले पहिलोपटक जुम्लाको सदरमुकाम खलंगामा पहिलोपटक पाइला टेकेको थिए । त्यो मेरो पहिलो सहर यात्रा थियो । जन्मेदेखि गाउँ नछोडेको म, सहर पुग्दा अर्कै ग्रहमा पुगेको जस्तो अनुभव भएको थियो, मलाई । गाउँ छोड्दा बाबा, आमालाई धेरै मिस हुँदो रहेछ ।
जन्मेको गाउँ, साथीसंगतको खुब याद आउँथ्यो । मलाई गाउँभन्दा पनि सहर कस्तो हुन्छ भनेर हेर्ने रहर थियो । पहिला एक प्रकारको उत्सुकता थियो मेरो मनमा । घरबाट झन्डै ४ घण्टाको बाटो हिडेर रारा बजार पुगेको अहिलेपनि झलझली याद आउँछ । बजार हेर्न हतार भएर होला थकाइ महशुस नै गरिन् ।
त्यतिबेला जम्मा १५ वर्षको ठिटो थिए । तर, मलाई कसैले पनि एसइइ पढ्छ भनेर पत्ताएनन् । एसइइ पढ्छु भन्दा सबै छक्क पर्थे । मेरो सानो उचाइले पनि उनीहरु पत्याउन गाह्रो हुन्थ्यो । उमेर अनुसार हाइट बढेको थिएन मेरो । गाउँघरमा जन्मे हुर्केको मान्छे । घरको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । त्यहाँको सबै अवस्थाले होला सायद म नबढेको । आफुसँग पढ्ने साथीहरुदेखि गुरुले पनि पुट्के भनेर बोलाउने गर्थे । कति सानो हो के ? यो भन्ने प्रश्नको सामना अहिलेपनि गरिरहेको छु मैले ।
हिँउदको ३ महिना ट्युसन पढेँ । ट्युसनमा पनि यही प्रश्नले सताई रह्यो । तीन महिना जुम्ला सदरमुकामको बसाइँ भयो । विहान ५ देखि ८ बजेसम्म ट्युसन पढाइ हुथ्यो । दिनभर कोठा भित्रै पढ्न बस्नु प¥थ्यो । मलाइ त जेलमा परे जस्तै लाग्यो त्यो तीन महिना । जुम्ला बजारमा दिदी, भिनाजुसँगै बस्थे । दिदीसँगै भएकाले यता उता घुम्न भने पाइएन । एक घण्टा मात्र खेल्न पाइने ।
नयाँ ठाउँ र बजार घुम्न असाध्यैं मन लाग्थ्यो । तर, जान पाइन्थेन । घरबाट आमा फोन गरेर घुम्न जान नदिनु भनेर दिदीलाई भन्नु हुन्थ्यो । कहिले काहीँ आँखा छलेर गएपनि कुटाइ खाइने । आमा, बाबाले गाउँमा उकाली ओराली गर्दै पढ्न पठाएको सम्झेर पढ्ने गर्थे । हाम्रो गाउँबाट म सँगै पढ्ने मध्ये म प्रथम थिए । मेरो पढाइपनि राम्रो थियो । सानैदेखि चञ्चले स्वभावको थिए म ।
परीक्षामा फेल भए लाज होला भनेर कटिबद्ध भएर पढ्थे । एसइइ नजिकिदैँ आयो । पढाइको तयारी बढाउँदै लगेको थिए । राम्रो ग्रेड ल्याउने इच्छा थियो । परीक्षा सेन्टर थियो, रारालिही । जता गए कोठा खोज्नु पर्ने । परीक्षार्थीले सबै कोठाहरु भरीएका थिए । बस्न समस्या भयो । अन्तिममा दिदीले भाडा पसल राखेको थाह पाए । त्यहीं बस्ने निर्णय गरे । परीक्षा आउन एकदिन मात्र बाँकी थियो ।
परीक्षा छ, भनेर पढ्दै थिए । ११ बजेतिर भिनाजुले कता बजार घुम्नबाट आएर परीक्षा स्थगीत भएको बताउनुभयो । मलाई अचम्म लाग्यो । पढ्यो–पढ्यो पाठ १६ दुना ८ भने जस्तै भयो । कारण थियो, कोरोना । तीन महिना रात दिन नभनेर पढाइ गरीयो । अन्तिममा कोरोनाले गर्दा एसइइको परीक्षा पनि स्थगित भयो । म भने एसइइ सकाएर कम्प्युटर पढ्ने योजनामा थिए ।
अरु धेरै सपना थिए मेरा । कोरोनाले सबै सपना चक्नाचुर बनाइदियो । दुई–चार दिनपछिबाट लकडाउन सुरु भयो । गाउँमा लकडाउनले सबै साथीहरु फुर्सदिला थिए । सबै गाईगोरु चराउन जाने भएकोले साथीहरुसँग रमाउँदै समय बित्न थाल्यो । समय सधैँ उस्तै रहेन । लकडाउन भएकै बेला रेडियो नारी आवाज जुम्लामा कर्मचारी माग भएको मैले थाहा पाए । साँझ गाउँकै एकजना दाइसँग भेट भयो । उहाँले भन्नुभयो, त बोल्न,पढ्न सक्ने छस् रेडियोमा फर्म भर ।
यस्तो सुन्दा म निकै रोमाञ्चित भएको थिए । उहाँले फेरि भन्नुभयो–समाचार पढ्ने मान्छे खोजेको छ । सम्पर्क गरेर जानकारी लिनु भनेर नम्बर दिनुभयो । मैले रिचार्ज हालेर उतिखेरै फोन गरीहाले । रेडियोबाट एउटा दाईले फोन उठाउनुभयो, र सोध्नुभयो, हलो को बोल्नुभयो, के को लागि होला ? मैले रेडियोमा कर्मचारी खोजेको सूचना सुनेको र थप बुझ्न चाहेको प्रतिउत्तर दिए । उताबाट समय छोटो भएको बताइयो । एकदिन मात्रै समय भएको जानकारी दिनुभयो उहाँले । भोलीपल्ट बिहान ६ बजे । नास्ता खाए ।
झोलामा ४ वटा रोटी प्याक गरेर र हिडे जागिरको खोजीमा । यो मेरो जीवनको दोस्रो सहर यात्रा थियो । चार घण्टाको पैदल यात्रा गरेर रारा बजार झरे । एक घण्टापछि गाडीमा सदरमुकाम पुगे । जागिरको लागि आवेदन दिएर साँझ घर फर्के । आमा त्यतिबेला सुर्खेत जानु भएको थियो । फेरि दुईदिनपछि अन्तरवार्तामा मेरो नाम निस्कियो । पछि त सेलेक्ड नै भए । मलाई रेडियोमा काम गर्ने भनेर बोलाइयो । जीवन पहिलोपटक यदि धेरै खुसी भएकी की अहिले सम्झिदापनि अर्कै अनुभूति हुन्छ । त्यो खुसी आमालाई फोन गरेर सुनाए ।
बाबा पनि असाध्यै खुसी हुनुभयो । त्यतिबेला हर्षका आँशु झरेका थिए, मेरा । आफ्नो सन्तानले जागिर खाएको र राम्रो भएको हेर्ने कसको आमा, बाबाको इच्छा नहोला र ? मैले मेरो बाबा आमालाई पहिलोपटक धेरै खुसी भएको महशुस गरे । रेडियोमा तीन महिना स्वयम्सेवकको रुपमा काम गरियो । बीचमा धेरै समस्या आइपरे । तर, मैले छोडिन । पत्रकारीता के कस्तो हो भन्ने थाहै थिएन । धेरै कुरा सिक्ने मौका पाए ।
आखिर जीवन भनेकै सिकाइ पनि त हो काम गर्दै गएपछि मासिक ५ हजार तलब दिने कुरा भयो । दिनरात खटिएर गरेको कामको पैसा पाउँदा खुशीको सीमा नै थिएन । त्यो जीवनको पहिलो परिश्रमको फल थियो मेरो । बिस्तारै पत्रकारीता बुझ्दै–सिक्दै गए । काम सिक्दै जानेक्रममा यहाँसम्म आइपुगेको छु । सबैको मायाले आजसम्मको यात्रा चलिरहेको छ । अहिले त पहिला मेरा पूर्खाहरु नून चामलको लागि पैदलै हिडेर आउने हाटमा छु । दुरीका हिसाबले धेरै टाढा छ मेरो जन्मस्थान र कर्मस्थान ।
मलाई अहिले पनि बजार भन्दा गाउँ प्यारो लाग्छ । सहर एउटा रहर मात्र हो । गाउँमा जस्तो सरसापट्टि बजारमा चल्दैन् । पैसा हुञ्जेलसम्म मात्र खाना लगाउन पाइन्छ । गाउँमा आज नभएपनि यताउता छिमेकीको घरमा मागेर पनि चल्छ ।
तर बजारमा सबै पैसा भए मात्रै हुन्छ । त्यसैले आटो, पिठो भएपनि गाउँमा बस्न मन लाग्छ । तरपनि अहिले ३ वर्ष भयो पारिवारीक अवस्थाले रोजगारको शिलशिलामा देशभित्रै प्रदेशमा बस्न बाध्य छु ।









प्रतिक्रिया दिनुहोस्