कोहलपुर ।
खजुरा गाउँपालिकाका चार जना अनाथ बालबालिकाले आश्रय पाएका छन् । आमाबुबा विहीन खजुरा–६ का चारजना अनाथ बालबालिकाहरुलाई विभिन्न संस्था तथा स्थानीय सरकारको सहयोगमा आश्रय दिइएको हो । उनीहरु लामो समयदेखि अभिभावक विहीन रुपमा बेवारिसे अवस्थामा जीवनयापन गरिरहेका थिए ।
दलित महिला संघ बाँकेका अध्यक्ष निर्मला सुनारकाअनुसार लामो समयदेखि अभिभावक विहीन उनीहरुलाई पालन पोषणा र अध्ययनको लागि दलित महिला उत्थान केन्द्र काठमाडौँमा पठाइएको हो ।
उनीहरुको विषयमा जानकारी प्राप्त भएपछि समन्वय गरेर काठमाडौँ पठाइएको उनले जानकारी दिइन् । उनीहरुको अवस्थाको विषयमा वडा नम्बर– ६ की दलित महिला सदस्य यमुना परियारले जानकारी गराएपछि संस्थाले पहलकदमी थालेको र सबैको सहयोगमा पुण्य काम भएको उनको भनाइ छ ।
‘आमाबुबाले छोडेपछि उनीहरुको बिचल्ली भएको थियो । खानकुरा र बस्ने तथा उनीहरुको हेरचाह गर्ने कोहीपनि थिएन । सबै सरोकारवालाहरुको सहयोगमा काठमाडौँ पठाउन सफल भएका छौँ,’ अध्यक्ष सुनारले भनिन् । काठमाडौँ जान उनीहरुको गाडी भाडाको व्यवस्थापन खजुरा गाउँपालिकाले गरेको थियो । एक परिवारका ६ देखि १२ वर्ष उमेरका चार बालबालिका आमाबुबाले छाडेपछि अलपत्र अवस्थामा थिए ।
पतिको यातना सहन नसकेर आमाले दोस्रो विवाह गरेर घर छाडेपछि उनीहरुको बिचल्ली भएको थियो । पछि बाबुले पनि दोस्रो विवाह गरेर सम्पर्कविहीन भए । उनीहरु आफ्नै अभिभावकबाट अलपत्र पारिएपछि फुपू नाता पर्ने छिमेकी राममाया सुनारले खजुरास्थित आफ्नै घरमा ल्याएर पालनपोषण गरिरहेकी थिइन् ।
खजुरा–६, सिमलघारीका ती अभिभावकविहीन बालबालिका सहाराको खोजीमा थिए । विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोग र समन्वयमा उनीहरुलाई काठमाडौँ पठाइएपनि उनीहरूका आमाबाबु कहाँ छन्, कसैलाई जानकारी छैन । राममाया भन्छिन्, ‘जेठी बालिका १२ वर्षकी भइन् भने माइली ९ र कान्छी ८ वर्षकी छन् ।
बालक ६ वर्षका भए ।’ उनीहरुका आमाबाबुले छोडेपछि आफूले पालेको उनले बताइन् । दुःख गरेर चार वर्षसम्म आश्रय दिएको र उनीहरुको उज्वल भविष्यका लागि काठमाडौँ पठाउन पाउँदा आफूहरुलाई खुसी लागेको राममायाले बताइन् ।









प्रतिक्रिया दिनुहोस्