जब निवर्तमान वडाध्यक्षले वडाको भित्तामा छिना चलाए ..



नेपालगन्ज ।

निवर्तमान वडाध्यक्ष हातमा छिनो लिएर वडा कार्यालयको भित्ताामा ठोकिरहेका छन् । वर्तमान वडाध्यक्ष भिडियो खिच्दै भनिरहेका छन्, ‘यसरी जनताको खुन पसिनाले आर्जित गरेको करको रकमबाट बनेको यो वडा भवनलाई यसरी भत्काउँदै हुनुहुन्छ ।… पूर्ण गुण्डागर्दी शैलीमा यो काम भइरहेको छ ।’

त्यसपछि भिडियोमै निवर्तमान र वर्तमान वडाध्यक्षको विवादसमेत हुन्छ । वर्तमान वडाध्यक्षले प्रहरी बोलाएपछि मात्रै आफ्नो दलबलसहित आएका निवर्तमान वडाध्यक्षले छिनो चलाउन रोक्न लगाउँछन् । यो दृष्य बिहीबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को कार्यालयमा देखिएको हो ।

वडाका निवर्तमान वडाध्यक्ष बुद्धिसागर सुवेदी एकाएक वडा कार्यालयमा आएर भित्तामा छिनोले ठोक्न थाले । वडा कार्यालयमै रहेका वर्तमान वडाध्यक्ष तरुण बज्राचार्य सुवेदीको उक्त हर्कतको भिडियो बनाउन थाल्छन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा अधिकांशले जनताको करबाट बनेका संरचनामा जनप्रतिनिधिहरुले आफ्नो नाम लेखाउन मोह देखाएको टिप्पणी गरेका छन् ।

निवर्तमान वडाध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा जनताबाट रकम संकलन गरेर किनेको ट्याक्टर र फोहोर व्यवस्थापन सम्बन्धी बनेको उपभोक्ता समितिको शिलालेख राख्न वडा कार्यालयभित्रै छिनो चलाएको बताएका छन् । ‘जनतालाई मैले जसले १० हजाभन्दा बढी रकम दिन्छ उसको शिलालेखमा नाम लेख्छु भनेर बाचा गरेको थिएँ । तर उक्त शिलालेख राख्न नपाउँदै कार्यकाल सकियो ।

अहिलेका वडाध्यक्षले शिलालेख राख्न चासो नदिएपछि आफै आएर आफ्नो बाचा पूरा गर्न खाजेको हुँ,’ निवर्तमान वडाध्यक्ष सुवेदीले मिसन टुडेसँग भने । उनले वर्तमान वडाध्यक्षले वडालाई सहयोग गर्ने जनताको सम्मान नगरेको आरोप लगाए ।

वर्तमान वडाध्यक्ष बज्राचार्य शिलालेख राख्ने प्रकृयामा नआइकनै जनताको रकमबाट किनिएको सामानमा आफ्नो नाम लेखाउन निवर्तमान वडाध्यक्षले गुण्डागर्दी शैली देखाएको आरोप लगाए ।

उनले यसअघि वडाध्यक्षले शिलालेख राख्ने विषयमा कुनै औपचारिक प्रस्ताव नराखेको बज्राचार्यको भनाइ छ । ‘शिलालेख राख्ने भएपनि जुन संरचना वा सामान हो त्यहाँ पो राख्ने होला त । असम्बन्धित वडा कार्यालयको भित्तामा, त्यो पनि गुणगर्दी शैलीमा आएर शिलालेख राख्छु भन्न एक पूर्व जनप्रतिनिधिले सुहाउँछ ?’ बज्राचार्यले भने ।

शिलालेख राख्ने विषयमा निवर्तमान वडाध्यक्षले असामान्य हर्कत देखाएपछि यो विवाद प्रहरीकहाँ पुगेको छ । बज्राचार्यले वडा कार्यालयका तर्फबाट सरकारी सम्पत्तिमा तोडफोड गरेको जाहेरी प्रहरीमा दिएको बताएका छन् । यता निवर्तमान वडाध्यक्ष सुवेदी शिलालेख नराखिएसम्म वडा कार्यालयको कामकाज चल्न नदिने बताउँछन् । बज्राचार्य र सुवेदी पहिले एउटै पार्टी नेपाली कांग्रेसमा थिए ।

यसअघिको वडा सरकारमा सुवेदी वडाध्यक्ष हुँदा बज्राचार्य वडासदस्य थिए । गएको स्थानीय निर्वाचनमा कांग्रेसले वडाध्यक्षको टिकट नदिएपछि सुवेदी जसपाबाट चुनाव लडेर पराजित भए भने कांग्रेसबाट बज्राचार्य उनलाई हराउँदै विजयी भएका थिए । यी दुई जनाका बीचमा लामो समयदेखि विवाद रहँदै आएको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रबार