एक वर्षमै बर्दियामा ६ वटा दोहोरो नागरिकता खारेज



बाँके ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले दोहोरो नागरिकता लिएका ६ जनाको नागरिकता खारेज गरेको छ । गत आर्थिक वर्षमा प्रशासन कार्यालयले दोहोरो नागरिकता लिएको भन्दै परेका उजुरीमध्ये ६ जनाको नागरिकता खारेज गरिएको हो ।

दोहोरो नागरिकता लिएका उनीहरूको गत आर्थिक वर्षमा नागरिकता खारेज गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।

उनीहरुबाट १ देखि ५ हजार रुपैयाँ जरिवाना गरिएको उनले बताए । दोहोरो नागरिकता लिएकी कञ्चनपुर दोधारा चाँदनीका किसन तिरुवाकी श्रीमती मधुवन–९ बताउँने रूपा, गेरुवा गाउँपालिकाका पंकजसिंह राठौर, बढैयाताल–६ का लल्लुराम थारुले पनि दोहोरो नागरिकता लिएकोमा खारेज गरिएको छ ।

उनीहरुको नागरिकता खारेज गर्नुका साथै २ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । त्यस्तै, मधुवन नगरपालिका–५ का कृष्ण गुरुङ, राजापुर नगरपालिका–३ का कृष्ण थारुको पनि दोहोरो नागरिकता खारेज गर्दै १ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

गुलरिया नगरपालिका–६ का इमरान राइनको दोहोरो नागरिकता खारेज गर्दै ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । गत आर्थिक वर्षमा दोहोरो नागरिकता लिएको भनेर १२ वटा उजुरी परेकोमा ६ वटा उजुरीमाथि छानबिन चलिरहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रबार