कोहलपुरमा खेलकुद र सम्भावना



परिचय
प्राचीन युगदेखि वर्तमान २१औँ शताब्दीसम्म आइपुग्दा खेलकुद खेल्ने माध्यममा मात्रै केही नीति नियममा मात्रै परिवर्तन आएको देखिन्छ । बाँकी शारीरिक तथा मानसिक लगाव, मेहिनेत भने एउटै नै हो । प्रायः मनोरञ्जन र शारीरिक तन्दरुस्तीका लागि हाम्रो देश नेपालमा खेलकुद खेलिने गर्दछ ।

राज्यको नीति नियम र खेलकुदप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआउदाँसम्म नेपालमा खेलकुदलाई अझै व्यावसायिक एवम् जीवन जिउने माध्यमको रुपमा खेलाडी तथा समस्त खेलप्रेमीले हर्न मुस्किल परेको छ । यी यावत् कुराहरुले गर्दा सम्रगमा स्थानीयस्तरसम्म पनि खेलकुदको उचित विकास र गुणस्तरीय खेलाडीको उत्पादन हुन सकेको छैन र त्यसको असर हामीले हाम्रो कोहलपुर नगरपालिकामा पनि खेल जगतमा भोगिरहेका छौँ ।

कोहलपुरमा खेलकुदको संक्षिप्त इतिहास

कोहलपुर नगरपालिका तत्कालीन कोहलपुर गाउँ विकास समिति (गाविस), रझेना गाविस र शम्शेरगन्ज गाविस बनेको हो । कोहलपुरको खेलकुद इतिहासको बारेमा कुरा गर्दा सामान्यतया फुटबल अनि सिंगल गेममा मार्सल आर्ट नै रहेको यहाँका खेलकुदसम्बन्धी पुराना जानकार बताउँछन् । तर, खेलकुदलाई नै प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यले २०४७ सालमा कृष्ण गुरुङको अध्यक्षतामा नवउत्साही कोहलपुर युवा क्लब भनेर स्थापना भएको पाइन्छ ।

सन् १९९८ मा एलबी क्षेत्रीले गरेको राष्ट्रिय क्रिकेट टिमको कप्तानीलाई पनि हामी कोहलपुरका बासिन्दाले गर्व गर्नुपर्ने विषय छ । त्यसैगरि २०५२ सालमा नेपाल सरकारको राष्ट्रिय खेलकुद परिषद्मा कोहलपुरबाट तेक्वान्दो खेलको प्रतिनिधित्व गदै श्रीमान् थापा मगर, नेत्रबहादुर थापा मगर, भुपेन्द्र पुन, मानबहादुर लामिछाने, उत्तम रिमाल अनि कराँतेमा प्रेमलाल चौधरीले सरकारी प्रशिक्षकको रुपमा नियुक्ति लिनुले पनि कोहलपुरको खेल क्षेत्रमा राष्ट्रियस्तरमा प्रतिनिधित्व जनाएको देखिन्छ ।

राष्ट्रियस्तरमा स्थापित नाम

नेपाल सरकारका वर्तमान युवा तथा खेलकुदमन्त्री माननीय महेश्वर गहतराज (अथक)ज्यू उहाँ यस क्षेत्रकै हुनुहुन्छ ।

कोहलपुरकै स्थानीय बासिन्दा भएर राष्ट्रमा कहलिएका नाममा नेपाली महिला क्रिकेटमा सन् २००७ बाट हालसम्म अन्तर्राष्ट्रियस्तरमा लगातार प्रतिनिधित्व गर्दै आउनु भएकी निवर्तमान महिला राष्ट्रिय टिमकी उपकप्तान सीता राना मगर, त्यसैगरि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान ममता थापा छन् । त्यसैगरि मनिषा रावल नेपाली महिला राष्ट्रिय टिमकी सदस्य भइसकेकी छन् ।

सन् १९९८ मा नेपाली क्रिकेट टिमको कप्तानको जिम्मेवारी पाएका एलबी क्षेत्रीले कोहलपुरको प्रतिनिधित्व गर्दै नेपाली खेलकुद जगतमा स्थापित भइसक्नु भएको छ । महिला फुटबलमा पूजा रानाले नेपाली खेलकुदमा साफ यू–१४ को कप्तानको रुपमा स्थान बनाई हाल राष्ट्रिय टिमको नियमित सदस्य हुँदै आउनु भएको छ । त्यसैगरि राष्ट्रिय संघमा आफ्नो प्रतिनिधित्व गर्दै नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यको रुपमा श्रीमान् थापा मगरले पनि कोहलपुरको राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै आउनु भएको छ ।

कोहलपुरमा खेलिने खेलहरु

बढ्दो सहरीकरण र यसका असरहरुले बिस्तारै खेल क्षेत्रलाई पनि प्रभावित गरेको पाइन्छ । खेल मैदानको अभाव र खेलकुदप्रति नयाँ पीडिको अरुचीले गर्दा कोहलपुरको खेलकुदलाई प्रत्यक्षरुपमा प्रभाव पारेको देखिन्छ । यसका बाबजुत पनि कोहलपुुरमा हाल फुटबल, क्रिकेट, मार्सल आर्टमा तेक्वान्दो कराँते, ब्याटमिन्टन जस्ता खेलहरु नियमित खेलिँदै आएको हामी देख्न पाउँछौं ।

यद्यपि सरकार र स्थानीय निकायको खेल र खेलाडीप्रति हेर्ने उचित नीति नहँुदा यस्ता खेलहरु पनि कोहलपुर नगरपालिकामा ओझेलमा पर्ने देखिन्छ । पछिल्लो समय फुटबलमा वडा नम्बर २ स्थित रेसिङ साहारा क्लबले कोहलपुरको प्रतिनिधित्व गर्दै थुप्रै राष्ट्रिय प्रतियोगिताहरुमा व्यावसायिक तरिकाले फुटबल खेलेको हामी हेर्न पाएका छौँ ।

त्यसैगरि कोहलपुरमा हालै नेपाल सरकारबाट महिला क्रिकेट ऐकेडेमीको लागि प्रस्तावित कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई पनि हामी कोहलपुरको गौरवका रुपमा लिन सकिन्छ । त्यसैगरि व्यक्तिगत खेलतर्फ मार्सल आर्टमा तेक्वान्दो, कराँते जस्ता खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण खेलहरुमा आफ्नो प्रतिनिधित्व जनाउनुले खेलकुदमा सकारात्मक कुरा हो भन्ने बुझाउँछ ।

खेलकुदको सम्भावना र चुनौती

वर्तमान अवस्थामा समग्र राष्ट्रकै खेलकुदको अवस्था सम्भावना र चुनौती माझ रुमलिरहेको छ र स्थानीयस्तरमा पनि त्यसको नकारात्मक असर परेको देखिन्छ । नेपाल सरकारका माननीय युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्दै कोहलपुरका स्थानीय हुन । यो पनि कोहलपुरको खेलकुदका लागि एक सम्भावना र अवसर हो ।

कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय महिला क्रिकेट ऐकेडेमीका लागि तीन करोड बजेट छुट्टिनु यो पनि एक कोहलपुरका लागि अवसर हो । त्यसैगरि कि स्थानीय सरकारमा हरेक वर्ष सञ्चालन हुने मेयर कप, राष्ट्रपति रनिङ शिल्ड जस्ता खेलकुद प्रतियोगिताहरुले निरन्तरता पाउनु पर्दछ र यस्ता खेलकुद प्रतियोगिता अझ बढी भएमा स्थानीय खेलाडीहरुको उत्पादन र प्रोत्साहनमा मद्दत पुग्ने गर्दछ ।

त्यसै गरी व्यावसायिकरुपमा कोहलपुरमा सञ्चालनमा रहेका मार्सल आर्टका दोजाङ र डोजोहरु अनि फुटबल एकेडेमीको रुपमा कोहलपुरमै पहिलोपटक सञ्चालित सिटी युथ ऐकेडमी क्लब जस्ता व्यावसायिक खेलाडी उत्पादन गर्ने संस्थालाई स्थानीय सरकारले प्रोत्साहन गर्नु पर्दछ । विद्यालयस्तरबाटै खेलकुद गतिविधिलाई जोड दिँदै खेलाडीहरुको उत्पादनमा जोड दिनुपर्दछ ।

त्यसका लागि स्थानीयस्तरमै खेलकुद प्रतियोगिताहरुमा बढी ध्यान दिनुपर्ने देखिन्छ । कोहलपुरमा भएका खेल मैदानको स्तर उन्नति र त्यसको संरक्षण पनि मुख्य चुनौतीको रुपमा रहेको हामी देख्न सक्छौँ ।

स्थानीय सरकारले खेलकुद र खेलाडीलाई हेर्ने नजरमा परिवर्तन गरी उचित बजेटको व्यवस्था गरी दीर्घकालीन हिसाबमा खेलमार्फत नै कोहलपुरलाई चिनाउने उद्देश्यका साथ खेलाडी उत्पादनमा लगानी गर्न आवश्यक छ । त्यसका लागि स्थानीय सरकार र सम्बन्धित निकायले खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक छ । अनि मात्रै कोहलपुरको खेलकुदको स्तर उन्नति र विकास हुने देखिन्छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असार १२ गते आइतबार